ढिलो गरेर सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा प्रकाश अर्याललाई नियुक्त गरेको छ।

२५ दिनपछि सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याललाई नेपाल प्रहरीको आइजीपीमा नियुक्त गरेको हो।यसअघि गत फागुन १ गते आइजीपीमा डिआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
चन्दलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको भोलिपल्टै डिआईजी नवराज सिलवालले आफूलाई आइजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो।
रिटमाथि सर्वोच्चको पूर्ण इजलाशले चन्दलाई आइजीपी बनाउने सरकारको निर्णय खारेज गरेको थियो। चन्दविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि सरकारले प्रहरी नियमावली संशोधन गरी नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी डा. दिनेशचन्द्र पोखरेललाई दिएको थियो।
को हुन् अर्याल ?
प्रहरीमा प्रकाश अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिन्छन्। उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए ।
दाङमा २०२० असार १४ गते जन्मिएका अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्।
सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थालेका थिए भने आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए। प्रविधिमा काम गर्न रुचाउने उनी आफू पनि प्रविधिमैत्री छन्। संगठन व्यावसायिक हुनुपर्छ भन्ने उनको मान्यता छ।
कुनै हालतमा पनि प्रहरी कर्मचारी भ्रष्टाचारमा लिप्त हुनुहुँदैन भन्दै जहाँ खटे पनि उनी भ्रष्टाचार हटाउन प्रयत्नशील रहने अधिकृतको रुपमा चिनिन्छन् ।







