विदेशी मुद्रा तस्करीमा विमान चालक (पाइलट)ले नै सहयोग गर्दै आएको रहस्य खुलेको छ ।

नेपाल एयरलाइन्सका वरिष्ट विमान चालक सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेसँगै मुद्रा तस्करीको नयाँ तथ्य बाहिर आएको हो ।
निगमको आरए–२२९ एयरबसका चालक अवालेलाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले आइतबार राती ११ बजे लगेज खानतलासीका क्रममा डलर भेटिएपछि पक्राउ गरेको हो ।प्रहरीका अनुसार मुद्रा तस्करीमा विमान चालक पक्राउ परेको यो पहिलो घटना हो ।
२०४८ मा निगमकै चालक केके श्रेष्ठ दोहाबाट फर्कनेक्रममा तस्करीको सुन फेला परेपछि आगमनकक्षबाट पक्राउ परेका थिए । पक्राउलगत्तै निलम्बनमा परेका श्रेष्ठलाई पछि अदालतले दोषी ठहर गरेपछि बर्खास्त भएका थिए । उक्त घटनाको २५ वर्षपछि सोही एयरलाइन्सकै विमान चालक डलर तस्करीमा पक्राउ परेका हुन् ।
पक्राउलगत्तै राती महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा पठाइएका अवालेलाई सोमबार विमानस्थल प्रहरीले थप अनुसन्धानका लागि डलरसहित राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।
काठमाडौं जिल्ला अदालतले अवालेलाई ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको छ । विदेशी मुद्रा अपचलन अभियोगमा अवालेमाथि अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी प्रेम चन्दका अनुसार हातेझोला खानतलासी गर्ने क्रममा उनको साथबाट उक्त डलर बरामद भएको थियो ।
“शंका लागेर प्रहरीले झोला खानतलासी गर्न खोज्दा उहाँले असहज मान्दै आनाकानी गर्नुभयो,” एसएसपी चन्दले भने, “त्यसपछि हामीले झोला खोलेर हेर्दा त डलरका बिटा नै फेला पा-यौं ।” उक्त घटनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि छानबिन अघि बढाएको छ ।
केही महिनाअघि बरामद भएको ३५ केजी सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहको खोजी गरिरहेको ब्युरोका अधिकारी विमान चालकबाट बरामद डलर तस्करी पनि सुन तस्करीको अर्को पाटो भएको हुनसक्ने निष्कर्षमा पुगेका छन् ।
“केही महिनाअघि बरामद भएको सुन र पाइलटबाट भेटिएको डलर एउटै गिरोहको हुनसक्छ,” ब्युरोका अधिकारीले भने, “अन्तर्राष्ट्रिय गिरोहले तस्करीको नयाँ शैली अपनाएका कारण हाम्रो अनुसन्धानमा यो विषयले पनि प्रवेश गरेको छ ।”
विमानस्थलकै एसएसपी श्याम खत्रीसहित भन्सारका कर्मचारी, विचौलिया र भरिया ३५ केजी सुन प्रकरणमा पक्राउ परेका थिए । त्यसअघि २०६९ मा विदेशी मुद्रा तस्करीकै आरोपमा एसएसपी रविराज श्रेष्ठ सेवाबाटै वर्खास्त भइसकेका छन् ।
महानगरीय प्रहरीका निमित्त आयुक्त डीआईजी बमबहादुर भण्डारीले विमान चालक नै तस्करीमा संलग्न रहनुले विमानस्थलको सुरक्षा संवेदनशीलताको विषय थप पेचिलो बनेको बताए ।







