आगामी वैशाख २९ गते सरकारले गर्न लागेको स्थानीय निर्वाचनले दलाल संसदीय व्यवस्थालाई स्थापति गर्ने भन्दै चुनावलाई खारेजीको माग गरेर नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जिल्लामा निर्वाचन खारेज अभियानलार्इ तीव्र पारेको छ ।

हिजोआज निर्वाचन खारेज अभियानलार्इ जिल्लाको दक्षिणी भागमा तीव्र पारिएको छ । जिल्लाको दक्षिणी भेगमा पर्ने १८ वटा गाविसमा जनताको घरदैलोमा पुगेर यो स्थानीय निर्वाचनमा सहभागी नहुन जनतालाई अपिल गरिएको छ ।
अभियानकर्मीहरुका अनुसार जनताको प्रतिकृया सकारात्मक रहेको छ । ललितपुरका संखु र बुखेलबाट सुरु गरिएको अभियानको अगुवाई पार्टीका केन्द्रीय सदस्य पुरुसोत्तम विस्ट उत्तमले गरेका छन् ।
‘अहिले प्रथम चरणको प्रचारात्मक कार्यक्रम अन्तरगत जनताको घरघरमा पुगेर संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय चुनावमा सहभागी नहुनुहोस् भनेका छौं’ । अभियानको स्वरुपबारे जिज्ञासा राख्दा उत्तमले भने- ‘जनताको प्रतिकृया सकारात्मक पाएका छौं साथै चुनावको मिति नजिकिंदै जाँदा प्रतिरोधका कार्यक्रमहरुपनि संचालन गर्ने छौं ।’
संखु तथा बुखेल हुँदैं अभियान टोली मानीखेलतीर अगाडि बढ्नेछ । इलाका सेक्रेटरी ललित लामाका अनुसार अभियानलाई व्यवस्थित बनाउन प्रचार प्रसारका सामाग्रीसहित युवाहरुलाई परिचालन गरी जनपरिचालनलाई व्यवस्थित गरिएको छ ।
अभियानमा सहभागी सावित्री अभिकारीका अनुसार अभियानमा जनवर्गीय संगठन तथ पार्टी कमिटिहरु सुदृढ तथा विस्तारपनि गरिनेछ ।







