
यो हाम्रो देशमा
यो हाम्रो समाजमा
थुप्रै नयाँ वर्ष आइसके
यी नयाँ वर्षहरुमा
धेरै मानिसले सुख, शान्ति र समृद्धिका
नयाँ गीतहरु गाइसके
गरिब दुखीहरुको भलो होस् भनेर
सयौं भजन -किर्तनहरु पनि गाइसके
हो, ती नयाँ वर्षहरुमा
केही मान्छेहरुले सुख शान्ति पनि पाइसके
तर यही देशका
यही समाजका
गरिब -दुखीहरुले
सुख शान्ति पाउने कुनै नयाँ वर्ष आएन
बहुसंख्यक कामदार वर्गले
कामअनुसारको माम पाउने
कुनै नयाँ वर्ष आएन
कुनै सुखद वर्ष आएन
हो, यो देशमा
धेरै नयाँ वर्षहरु आए
ती नयाँ वर्षहरुमा
आफ्नो हक अधिकारका लागि
न्याय र समानताका लागि
नयाँ शासन र नयाँ व्यवस्थाका लागि
थुप्रै जनसंघर्षहरु पनि भए
कतिका ज्युँ ज्यानहरु पनि गए
ती लडाइँ र संघर्षहरुबाट
कयौं सरकार फेरिए,
कयौं नियम कानुन फेरिए
कयौं संविधानहरु फेरिए
तर बहुसंख्यक नेपालीहरुको
मुहान कहिल्यै फेरिएन
किसान र मजदुहरुको दिन
कहिल्यै फेरिएनन्
हो, ती नयाँ वर्षहरुमा
जति नयाँ आन्दोलनहरु भएपनि
नेपाल र नेपालीको
सुख- शान्ति, स्थिरता र प्रगतिको
मूल बाधक विदेशी हस्तक्षेप विरुद्धको
अनि राष्ट्रिय स्वाधिनताको
लडाइँ छेडिएको कुनै नयाँ वर्ष आएन
बहुसंख्यक जनताको मुक्ति वर्ष आएन
त्यसैले, नयाँ वर्ष
तिमी केही सीमित मान्छेहरुको मात्र होइन
बहुसंख्यक नेपालीहरुको
खुशी र हर्षोल्लास वर्ष बनेर आऊ
साँच्चि हे नयाँ वर्ष
न्याय र स्वाधिताका खातिर
मुक्ति र समानताको खातिर
उठेका ती हातहरुको
जुटेका ती मान्छेहरुको
विजयी वर्ष बनेर आऊ
बहुसंख्यक नेपालीहरुको
गरिब दुखी र असाह्यहरुको
मुहार हँसाउने वर्ष बनेर आऊ ।







