
कांग्रेस, एमाले र माओवादी केन्द्रले वैशाख ३१ गते स्थानीय निर्वाचनको घोषणा गरिरहँदा त्यसको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले वैशाख १६ मा नेपाल बन्दको घोषणा गरेको छ ।
आइतबार संवाद डबलीमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा कुनैपनि हालतमा चुनाव हुन नदिने अठोट मोर्चाका नेताहरुले गरेका छन् । साथै लोकतान्त्रिक मधेशी मोर्चाहरुले वैशाख १५ गते मधेस, थारुहट र लिम्बुवान बन्दको घोषणा गर्नुका साथै २७ गतेबाट अनिश्चितकालीन आमहडताल घोषणा गरिएका छन् ।
माग पूरा नभएसम्म चुनाव बिथोल्ने सबैखाले आन्दोलन गर्ने र आन्दोलन जनपक्षीय र शान्तिपूर्ण हुने मोर्चाका नेताहरुले बताएका छन् ।
चुनावको चार दिनअघि वैशाख २७ गतेबाट अनिश्चितकालीन आमहडताल गर्ने विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा मोर्चाका नेताहरु उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र, राजकिशोर यादव, शरदसिंह भण्डारी सर्वेन्द्रनाथ शुक्लालगायत उपस्थित थिए ।







