नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रचण्ड नेतृत्वको सरकारले आज मंगलबार देशव्यापी रुपमा हस्तक्षेप गरेको छ ।

बुटवलको कार्यक्रममा प्रहरी हस्तक्षेप गर्दै
कंचनपुर र बुटवलमा भएको विशाल कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको बाबजुद निर्वाचन खारेज कार्यक्रम सफल भएको छ ।
बुटवलमा हजारौं जनताको उपस्थितिमा भएको कार्यक्रममा प्रहरीले बल प्रयोग गर्न खोजेपनि जनताको विशाल उपस्थितिका कारण असफल पार्न सकेन । सो कार्यक्रमा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले संवोधन गरेका थिए ।
उता कंचनपुरमा आयोजित निर्वाचन खारेज कार्यक्रममा प्रहरीले कार्यक्रम सुरु नहुँदै मंचमा हस्तक्षेप गर्दा अर्को ठाउँमा कार्यक्रम संचालन गर्नु परेको कंचनपुर पार्टीले बताएको छ ।
यता उपत्यकाअन्तर्गत काठमाडौं र ललितपुरमा भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । ललितपुरबाट कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मासहित १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
काठमाडौंको नार्गजुन नगरपालिकाअन्तर्गत रानीबन बुद्धचोकमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले प्रयोग गर्ने गरेको झण्डा, व्यानर र माइकलाई प्रहरीले खोसेको छ ।
गणतन्त्र र लोकतन्त्र ल्याउन दश वर्षे जनयुद्ध लडेका पार्टीलाई यही गणतन्त्र सरकारले गरेको हस्तक्षेप निकै घटिया र लज्जास्पद भएको विश्लेषकहरुले बताएका छन् ।

बुटवलमा आयोजित कार्यक्रममा जनताहरु







