भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता नारायण  सन्यालको कलकत्ताको अस्पतालमा निधन भएको छ ।

लामो समयसम्म जेल निर्वासित  ८४वर्षीय  सन्याललाई बिरामीका कारण २ वर्षअघि मात्र जमानतमा छोडिएको थियो । ब्याङ्कको जागिर छाडेर सन १९६० को दशकमा भारतमा चलेको नक्सलवाडी आन्दोलनका नेता चारुसँगै कम्युनिस्ट आन्दोलनमा सरिक सन्याल, चारुको नेतृत्वमा पुनर्गठित पार्टीको नेतृत्व तहमा  थिए ।

१९७०को दशकमा बिहारमा सत्यनारायणसिंहले भारतीय कम्युनिस्ट पार्टी (मा.ले) छोडेर अर्कै पार्टी बनाइपछि उनलाई पार्टीले  बिहारको जिम्मेवारी दिएर पठाएको थियो र त्यहाँ  माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्न लाग्दा इन्दिरा गान्धीले लगाएको सङ्कटकालमा उनी जेल परे ।

पछि इन्दिरा सरकार हटेपछि आम राजबन्दी रिहाइसँगै उनी पनि १९७७ मा रिहाइ भए । त्यसपछि उनी बिहारमा  भारतीय कम्युनिस्ट पार्टी (मा-ले) पार्टी युनिटीका रूपमा रूपमा सक्रिय भए ।

बिहार-बङ्गालमा सक्रिय  पार्टी युनिटीले दक्षिणामा सक्रिय भारतीय कम्युनिस्ट पार्टी (मा-ले) पिपुल्स वारसित एकता गरेपछि, त्यसले व्यापक रूप लियो र पछि  सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को रूप लियो । पोलिट ब्युरो सदस्य सन्यालको भारतमा छरिएर रहेका माओवादीहरूलाई एकत्रित गर्न उनको ठूलो योगदान छ ।

खास गरेर बिहार-बङ्गालमा माओवादी आन्दोलनलाई पुनर्गठित गर्न उनको विशिष्ट योगदान रहेको छ । त्यो बेला उनी पार्टीको पोलिट ब्युरो सदस्य र दोस्रो वरियताको नेता थिए । पार्टीमा उनी विजोयदाले लोकप्रिय थिए ।

भारतको छत्तिसगढमा सन २००५ मा पक्राउ परे । जेल सार्ने नाममा उनलाई विभिन्न जेलमा राखियो ।पक्राउ गर्दै, जमानतमा छाड्दै गरे पनि जेलमा एकदमै सिकस्त परेपछि उनलाई २ वर्षअघि मात्र रिहाइ गरिएको थियो ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार