पार्टीको एकीकृत जनजागरण तथा प्रतिरोध अभियान मार्फत् स्थानीय चुनावको खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ललितपुर जिल्लामा पनि अभियान अन्तरगतका गतिविधिहरु तीब्र पारेको छ ।

जनताको सहभागितासँगै अभियान सञ्चालन गरिरहेको टोली जिल्लाको दक्षिणी भेग हुँदै भट्टेडाँडा पुगेको छ । जनयुद्धकालमा माओवादी छापामारहरुले राजधानी नजिकै रहेको भट्टडाँडाको प्रहरी चौकी कब्जा गरेपछि भट्टेडाँडा चर्चामा आएको थियो ।
वैसाख २९ गते सरकारले गर्न लागेको स्थानीय निर्वाचन दलाल संसदीय व्यवस्थालाई स्थापति गर्ने भएकोले यो चुनावलाई खारेजीको मा गर्दै सञ्चालन गरिएको अभियान जिल्लाको दक्षिणी भागमा चलाइएको हो । जिल्लाको दक्षिणी भेगमा पर्ने भारदेउ, इकुडोल, मनीखेल, गोटीखेल, चन्दनपुर, कालेश्वर, ठूलादुर्लङ्, गिम्दी, आश्राङ, प्यूटार, माल्टा, नल्लु, चौघरे र दल्चोकी गाविसका जनताको घरदैलोमा पुगेर स्थानीय निर्वाचनमा सहभागी नहुन जनतालाई अपील गरिएको छ ।
अभियानकर्मीहरुका अनुसार जनताको प्रतिकृया सकारात्मक रहेको छ । संखु र बुखेलबाट सुरुगरिएको अभियानको अगुवाई पार्टीका केन्द्रीय सदस्य पुरुसोत्तम विष्ट उत्तमले गरेका छन् । अभियानको स्वरुपबारे जिज्ञासा राख्दा उत्तमले भने-‘अहिले प्रथम चरणको प्रचारात्मक कार्यक्रम अन्तरगत जनताको घरघरमा पुगेर जनतालाई यो चुनावको औचित्य नभएकोबारे जानकारी गराइरहेका छौं र संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय चुनावमा सहभागी नहुनुहोस् भनेका छौं, जनताको प्रतिकृया सकारात्मक पाएका छौं ।’
इलाका सेक्रेटरी ललित लामाका अनुसार अभियानलाई व्यवस्थित बनाउन जनता र युवाहरुलाई परिचालनगरी जनपरिचालनलाई व्यवस्थित गरिएको छ । माओवादी जनयुद्ध संसदीय विरुद्ध लडिएको थियो तर प्रचन्ड बाबुरामहरु घुमिफिरी उही व्यवस्थामा गएकोले यो व्यवस्थाको अन्त्य गरी बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनको खारेजीको माग गरेको छ ।
पछिल्लो चरणमा सरकारले उक्त पार्टीले देशैभरी चलाएको अभियानलाई दमन गर्दै जान थालेको छ । उक्त पार्टीका नेताहरुले सरकारको यो रवैयालायई आफ्नो पार्टीको लोकपृयता देखेर डराएको संज्ञा दिएका छन् ।







