संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा जाने देखिएपछि निर्वाचन केही साताका लागि सर्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश शीर्ष नेताको बैठकमा मधेसी नेताले परिमार्जनसहित संशोधन प्रस्ताव पारित हुने सुनिश्चितता खोज्दै चुनावमा सहभागी हुन सहमति जनाएका हुन्।

आजका सबै समाचार पत्रहरुले यही खबरलाई मुख्य समाचार बनाएका छन् ।

मोर्चासँग सहमति भए सरकारले बढीमा दुई साता स्थानीय तह निर्वाचन सार्ने संकेत दिएको छ । मोर्चा, नयाँ शक्ति, विजय गच्छदार र गोपाल दहितलगायत दललाई निर्वाचन तयारीका लागि बढीमा दुई साताका लागि चुनाव सार्ने समझदारी बनेको बैठकमा सहभागी एक शीर्ष नेताले जानकारी दिए । सत्तारुढ दल र मधेसी मोर्चाका शीर्ष नेताको बैठकले सरकारले संसद्मा पेस गरेको पाँचबुँदे संविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्न कार्यदल गठन गरेको छ ।

कार्यदलले शनिबार बिहान परिमार्जन गर्ने विषयको मस्यौदा दिउँसो बस्ने शीर्ष नेताको बैठकमा पेस गर्नेछ । सरकारले संविधान संशोधनको पूरक विधेयक संसद्मा पेस गर्ने र मोर्चाले घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

‘संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नेगरी कार्यदल गठन भएको छ’, एक मधेशी नेताले भने, ‘अाज दिउँसो २ बजे बस्ने शीर्ष नेताहरूको बैठकले के गर्ने भन्ने अन्तिम निर्णय गर्छ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार