नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दश वर्षे जनयुद्ध भारतबाट संचालित भएको भन्ने आरोप निराधार र कपोल्पित भएको बताएका छन् ।

केही मान्छेहरुले माओवादी जनयुद्ध भारतबाट संचालित भएको भन्ने अरोप आइरहेको बेला वैद्यले दश वर्षे जनयुद्ध माओवादीले नै नेतृत्व गरको बताए । वैद्यले दश वर्षे जनयुद्धमा प्रचण्डले सही विचारबाट नेतृत्व गरेको तर विचलित भएर पछि हटेको बताए ।
राजधानीमा शनिबार तीन कम्युनिस्ट पार्टीले आयोजना गरेको अन्तक्रियामा बोल्दै वैद्यले कम्युनिस्टहरु अन्तराष्ट्रियतावादी भएको बताउँदै आवश्यक परे उनीहरुले संसारका जुनसुकै भूमी प्रयोग गर्न सकिने बताए ।
कार्यक्रममा मालेका महासचिव सीपी मैनालीले जनयुद्धका क्रममा प्रचण्ड बाबुरामलाई भारतले परिचालन गरेको भन्ने आरोप लगाएका थिए । मैनालीको भनाईलाई खण्डन गर्दै वैद्यले प्रचण्डहरु भारतको दलाल नभएको तर उनी पछि क्रान्तिकारी विचारबाट विचलित भएको बताए ।
वैद्यले देशमा क्रान्तिका लागि वस्तुगत अवस्था अनुकूल भएको तर आत्मगत अवस्था कमजोर भएको बताए ।
वैद्यपछि आफनो धारणा राख्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा वस्तुगत र आत्मगत अवस्था दुवै अनुूकूल भएको बताए । क्रान्तिकारी नेतृत्व र विचारलाई सही ढंगले मिलाएर जाने हो भने क्रान्ति संभव भएको विप्लवको भनाई थियो ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि बोलेका थिए ।







