नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले लोकतन्त्रको नाममा आतंकराज चलाइरहेको बताएका छन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा कुनै बेला आतङ्क मच्चाएको ध्रुबे हात्तीसँग प्रचण्ड सरकारलार्इ तुलना गरेका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा सम्बोधन गर्दै ओलीले सर्वोच्चमा मुद्दा विचाराधीन रहेका बेला बहालवाला डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको बारेमा सरकारमाथि कटाक्ष गरेका हुन् ।
‘एकताका चितवनतिर ध्रुवे हात्तीबारे सुनिएको थियो, त्यही ध्रुवे हात्ती जस्तै छ अहिलेको सरकार’, ओलीले व्यङ्ग्य कस्दै भने, ‘बहालवाला डीआईजीलाई कानुनी परामर्श लिँदै गरेको ठाउँबाट बिनाआरोप पुर्जीसमेत नदिई पक्राउगरियो । कसैलाई रिसका भरमा समात्ने यो कस्तो लोकतन्त्र ? लोकतन्त्रमा कानुनी राज हुन्छ कि स्वेच्छाचारिताको राज ?’
उनले डीआईजी सिलवालको पक्राउ प्रकरणबारे सरकारमाथि निशाना साँध्दै स्वेच्छाचारीरुपमा व्यक्तिको अधिकार खोस्ने र व्यक्तिको सम्मान तथा सुरक्षामा आघात पार्ने काम लोकतन्त्रमा भएकोमा आपत्ति जनाए ।
उनले सरकार र त्यसको नेतृत्व गर्नेलाई झोंक चलेकै भरमा मानिसलाई समात्दै जाने हो भने व्यक्तिको स्वेच्छाचारिता बढ्ने पनि जिकिर गरे । ‘बहालवाला डीआईजीलाई तपाइँ बिनाआरोप, बिनाअपराध, बिनापूर्जी, गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नुहुन्छ होला ?’, ओलीले प्रश्न गरे, ‘झोँक चल्दैमा बर्दीधारी डीआइजीलाई पनि गिरफ्तार गर्नुहुनुहुन्छ ? यो कस्तो तरिका हो? जनताले बाँच्न पाउनु पर्दैन ? सरकारको यो शैलीले जनताको अवस्था कस्तो भएको होला, कसैले सोचेको छ ?’
उनले यस्ता स्वेच्छचारी क्रियाकलाप तत्काल बन्द गर्न पनि चेतावनी दिएका छन् । ओलीले सरकारलाई गैरकानुनी ढंगमा नचल्न र कानुन हातमा लिने काम नगर्न पनि सरकारलाई सुझाए ।







