
नेपाल कम्युनिस्ट पार्टीले समाज परिवतर्नका लागि महत्वपूर्ण योगदान गर्ने जनवादी कलाकारहरुलाई आज बुधवार सम्मान गरेको छ ।
राजधानीको नाचघरमा आयोजित एक कार्यक्रममार्फत कम्युनिस्ट पार्टीले जनवादी गायक रायन श्रेष्ठ, जेबी टुहुरे, खुशीराम पाख्रिन, जीवन शर्मा र कवि पूर्णविरामलाई सम्मान गरेको छ ।
विभिन्न पार्टीमा आस्था राख्ने भएपनि समाज परिवर्तन गर्न क्रान्तिकारी गीत संगीतको माध्यमबाट ठूलो भूमिका पूरा गरेको भन्दै पूराना जनवादी कलाकारहरुलाई पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्मान गरेका हुन् ।
जनवादी गायक रायन, टुहुरे, पाख्रिन, जीवन शर्मा र कवि पूर्णविरामलाई पार्टीले नगद २५ हजारसहित प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।
सम्मानपछि जनवादी स्रष्टाहरुले अरु कम्युनिस्ट पार्टीले क्रान्तिकारी कलाकारहरुलाई सम्मान गर्न नसकेपनि नेपाल कम्युनिस्ट पार्टीले सम्मान गरेर नयाँ संस्कृतिको जग बसालेको बताए ।
कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पूराना र अग्रज क्रान्तिकारी स्रष्टाहरुलाई आफ्नो पार्टीले सधै सम्मान गर्ने बताए ।







