विश्वमहाशक्तिको यात्रामा रहेको उत्तरी छिमेकी चीनले दक्षिण एसियाली देशमा आफ्नो पकड झन झन बलियो बनाउँदै लगिरहेको छ । आर्थिक संकटबाट गुज्रिरहेका दक्षिण एसियालाई देशहरुलाई अर्बौं डलर ऋण प्रदान गरेर चीनले आफ्नो पकड बलियो बनाइरहेको हो ।

श्रीलंकाका राष्ट्रपतिसँग चिनियाँ राष्ट्रपति सि जिन पिङ
चीनको महत्वाकांक्षी परियोजना ‘वन बेल्ट वन रोड’ (ओबीओआर) मार्फत चीनले आफ्नो प्रभाव विस्तार गर्दै लगेको हो । चीनले विशेष गरी दक्षिण एसियाका पाकिस्तान र श्रीलंकालाई पूर्वाधार विकासका लागि अर्बौं डलर ऋण दिइसकेको छ।
चीनले आफ्नो महत्वकांक्षी परियोजना ओबीओआर परियोजनाबाट जमिन र सुमद्री बाटोबाट दक्षिण पुर्वी एसिया, मध्य एसिया हुँदै युरोपसम्म पुग्नका लागि ५० अर्ब अमेरिकी डलर लगानी गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंका र पाकिस्तानले यो परियोजनामा जोडिनका लागि चीनबाट अर्बौँ डलर ऋण लिइसकेका छन् । चीनले यी देशबाट चर्को ब्याज असुलिरहेको आरोप पनि लाग्ने गरेको छ।
समाचार अनुसार यही मेमा हुन लागेको एक अन्तरराष्ट्रिय स्तरको बैठकमा चीनको यो परियोजनालाई हरियो झन्डा मिल्ने करिब पक्का पक्की छ । इकोनोमिक टाइम्सको समाचार अनुसार यस बैठकमा २८ देश आउनेछन् । जसमा श्रीलंका पनि सामेल छ । यो बैठकमा नेपालले पनि भाग लिने जनाइसकेको छ ।
चीनको यो महत्वाकांक्षी परियोजनालाई मञ्जुरी दिनुभन्दा अघि ठूलो ऋणमा डुबेकाले श्रीलंकाका लागि यो चिन्ताको विषय भएको छ । चीनले श्रीलंकामा पूर्वाधार विकासका लागि ठुलो परिमाणमा ऋण दिएको छ । श्रीलंकामाथि अहिले करिब ६५ अर्ब डलर ऋण लागेको छ । चीनले श्रीलंकालाई ८ अर्ब डलर ऋण दिएको छ । यस्तोमा श्रीलंकाले चीनको ओबीओआर परियोजनाविरुद्ध जान सक्ने अवस्था छैन । तर श्रीलंकाले ठुलो आर्थिक घाटा भने भोगिरहेको छ ।
चीनसँग श्रीलंकाले लिइरहेको आर्थिक सहयोगमा विज्ञहरुले चिन्ता जनाएका छन् । विज्ञहरुले चीनले श्रीलंकमा ठुला परियोजनामा लगानी गरिरहेको बताउँदै यसले आर्थिक वृद्धि उच्च भए पनि देश ऋणमा डुबेर ठुलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
विश्व बैंकले श्रीलंका २०१६ मा ३.९ प्रतिशत रहेको कुल ग्राहस्थ उत्पादन बढेर २०१७ मा ५ प्रतिशत पुग्ने अनुमान गरेको छ । अर्कातिर आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई चीनले ५० अर्ब डलरको परियोजनामा पनि सहयोग गरेको छ । पाकिस्तानको आर्थिक अवस्था धेरै खराब भएपछि चीनले त्यहाँ आफूले लगानी गरेका परियोजनामा आफ्नो प्रभाव जमाउनेतर्फ अघि बढेको छ ।
अब यसको सबैभन्दा ठुलो क्षति भारतले ब्यहोर्नुपर्ने भएको छ । चीनले यी दुई देशमा अखडा जमाउन थालेपछि भारतको सुरक्षामा गम्भीर असर पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।







