माओवादी केन्द्रका पूर्व पोलिटव्युरो सदस्य श्याम बहादुर बोहरा अटलले माओवादी केन्द्र सम्पूर्ण रुपले विचारबाट पतन भएर समाप्त भइसकेको भन्दै अब सबै क्रान्तिकारीहरुले प्रचण्डको गुलामी र सलामी होइन मलामी जाने बेला आएको बताएका छन् ।

आइतबार राजधानीमा ठूलो संख्यामा माओवादी केन्द्रलगायत अरु थुप्रै नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत कार्यक्रममा बोल्दै नेता अटलले प्रचण्डले नेतृत्व गरेको माओवादी क्रान्तिकारीबाट प्रतिक्रान्तिकारीको रुपमा पतन भएकोले अब प्रचण्डको मलामी जाने दिन आएको बताए ।
माओवादी केन्द्रमा भ्रष्ट, कमिशनखोर, दलालहरुको बोलवाला रहेको र त्यतिकै संख्यामा इमान्दार र क्रान्तिकारीहरु पनि रहेको भन्दै निवर्तमान माओवादी केन्द्रका नेता अटलले अब प्रचण्डको कुनै पनि भ्रममा नरहेर क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत हुन आग्रह गरे ।
दश वर्षे जनयुद्धमा सारा जीवन क्रान्ति र जनतालाई समर्पित गरेको र अहिले पनि बाँकी रहेको जीवन फेरि पनि क्रान्तिमा समर्पित गर्ने लक्ष्यसहित कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएको नेता अटलले बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव प्रत्यक्ष मोर्चाबाट आएको क्रान्तिका वास्तविक नेता भएको भन्दै अटलले प्रचण्डलाई आफुहरुले जनयुद्धको बेला कल्पनाको नेता मात्र मानिएकोले ठूलो धोका पाएको बताए ।







