नेपाल कम्युनिस्ट पार्टी चितवनले आफ्ना दुई दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेर झुठ्ठा मुद्धा लगाउन खोजेको भन्दै त्यस्तो कार्यको घोर विरोध र भर्त्सना गरेको छ ।

कम्युनिस्ट पार्टी चितवनका इन्चार्ज लालबहादुर बिसीले एक विज्ञेप्ती जारी गरेर आफ्ना जिल्लाका गिरफ्तार नेता कार्यकर्तासँग कुनै प्रकारको हतियार नभएको भन्दै उनीहरुलाई अनवाश्यक हिरासतमा नराख्न चेतावनी दिएका छन् ।

निसशस्त्र आफ्ना जिल्लाका नेता कार्यकतामाथि सरकारले झुठ्ठामुद्धा लगाए त्यसको परिणाम गंभीर हुने चितवन पार्टीले बताएको छ ।

‘हाम्रा गिरफ्तार नेता तथा कार्यकताको घर परिवारलाई धम्काउने मानसिक तनाव दिने र कुटपिट गर्ने काम भइरहेको छ । प्रहरीले आफ्नो हतियार नेता–कार्यकर्ता र समर्थकसँग भिराएर फसाउने षड्यन्त्र गरिरहेको छ । इन्चार्ज बिसिद्धारा जारी विज्ञेप्तीमा भनिएकाे छ- ‘हाम्रो कुनै नेता–कार्यकर्तासँग हतियार नभएको कुरा सबैमा अवगत गराउँदछौँ ।’

बिसीद्धारा जारी विज्ञेप्तीको पूरा पाठ  :
प्रेस विज्ञप्ति

जनयुद्ध र जनआन्दोलनको भावना विपरित पूरानो संसदीय व्यवस्थाको स्थापना गर्न कथित स्थानीय तहको निर्वाचन गर्न लागिएकाले हाम्रो पार्टी खारेजी अभियानमा रहेको कुरा सबैलाई जानकारी नै छ । तत्कालीन सात संसदवादी पार्टी र माओवादीबीच भएको १२ बुँदे सहमतिको मूल मर्म भनेको माओवादीसहितको राज्य प्रणाली स्थापना गर्ने भन्ने थियो तर बिडम्बना, पुरानो संसदीय व्यवस्थाको स्थापना गरियो । संसदीय व्यवस्था नेपाली जनताको लागि स्वीकार्य छैन । त्यसैले हाम्रो पार्टी शान्ति, समानता, स्वाधिनता र समृद्धिको लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा अगाडि बढिरहेको छ ।

केही दिन पहिलेदेखि चितवन जिल्लामा सरकारले हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि दमन, धरपकड र गिरफ्तारलाई जारी राखेको छ । यसक्रममा सरकारले जंगली व्यवहार गरिरहेको छ । वैशाख ७ गते शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गरियो । शान्तिपूर्ण जनसभा गर्न दिइएन । अहिले गृहमन्त्रालयको आदेश भन्दै हाम्रा नेता–कार्यकर्ता र शुभेच्छुकहरुलाई घरबाटै प्रहरीले गिरफ्तार गरिरहेको छ । जिल्ला समिति सदस्यहरु, रघु, लोकराज पाण्डे, विराट, जयबहादुर कुँवर, पुरन राई, विष्णु कोइराला, टिका न्यौपनो, मिनप्रसाद पोखरेल, रोशन र अखिल नेपाल शिक्षक संघका अध्यक्ष कृष्ण परियारसहित २२ जनालाई घरबाटै गिरफ्तार गरी हिरासतमा राखिएको छ ।

घरमा सुतिरहेका नेता–कार्यकर्ता नाबालक बच्चासहित महिला नेतृ शिक्षण पेशामा रहेका शिक्षक र बुबाको काजकिरियामापछि घरमा बसेका कार्यकर्तालाई गिरफ्तार गरी सार्वजनिक मुद्धा लगाएको छ । जिल्ला समिति सदस्य मीत्र केसी, तिलकुमार श्रेष्ठ, सिसम शाही र राजु भुसाललाई प्ररहरी कार्यालयमा दैनिक तारेख लगाइएको छ । हाम्रा नेता तथा कार्यकताको घर परिवारलाई धम्काउने मानसिक तनाव दिने र कुटपिट गर्ने काम भइरहेको छ । प्रहरीले आफ्नो हतियार नेता–कार्यकर्ता र समर्थकसँग भिराएर फसाउने षड्यन्त्र गरिरहेको छ । हाम्रो कुनै नेता–कार्यकर्तासँग हतियार नभएको कुरा सबैमा अवगत गराउँदछौँ ।

गिरफ्तार कमरेडहरुको रिहाई र झुट्टा मुद्धा खारेज गर्न माग गर्दछौँ । स्थानीय संसदवादी पार्टी र जिल्ला प्रशासनसँग हाम्रो प्रश्न छ, हाम्रा कमरेडहरुलाई झुट्टा मुद्धा लगाएर गिरफ्तार गरी हिरासतमा राखेर, घरपरिवारलाई धम्क्याउने कुटपिट गरी गरिएको निर्वाचन र त्यसबाट आएको परिणाम कति टिकाउन हुन्छ ? हामीले सरकारी दमनको प्रतिरोध गरेका छैनौँ । हाम्रो यो धैर्यतालाई कमजोरीको रुपमा बुझ्ने मुर्खता नागरियोस् । सरकारी रबैया जारी रहे प्रतिरोध गर्न बाध्य हुनेछौँ । यसको जिम्मा सरकारले लिनु पर्नेछ ।

२९ बैसाख २०७४

लालबहादुर वि.सी
सेक्रेटरी-इन्चार्ज

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार