स्थानीय निर्वाचनको विरोधमा आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका निशस्त्र नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेकोमा युरोपमा रहेका विभिन्न राजनीतिक संघ-संस्थाहरुले सरकारको फासीवादी दमनको विरोध गरेका छन् ।

नेपालमा जारी राजनीतिक संकटलाई विद्यमान संसदीय व्यवस्थाले हल गर्न नसकेर असफल भइसकेको व्यवस्थालाई पुन जर्बजस्ती चुनावका नाममा संसदवादीहरुले लाद्न खोजेको भन्दै युरोपमा रहेका संगठनहरुले संयुक्त रुपमा जारी गरेको अपिलमा सरकारको अधिनायकवादी कदमलाई तत्काल रोक्न आग्रह गरेको छ ।
नेपाल जनप्रगतिशी मोर्चा युरोप, नेपाल जनजाति सरोकार मंच युरोप, नेपाल जनप्रगतिशील मंच बेल्जियम, जर्मनी, स्पेन, पोर्चुगल, बेलायतलगायत युरोपमा रहेका संगठनहरुले सरकारको फासीवादी कदमलाई तुरुन्त रोक्न र गिरफ्तार गरिएका नेता कार्यकर्ता रिहा गर्न अनुरोध गरेका छन् ।
यी संगठनहरुले देशमा जारी राजनीतिक संकट संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हुने बताएका छन् ।
ती संगठनहरुद्धारा जारी संयुक्त विज्ञेप्तीको पूरा पाठ :
युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाको संयुक्त विज्ञप्ति
आस्थाका वन्दिहरुलाई विनासर्त तत्काल रिहा गर
मे १२ २०१७, युरोप
हाम्रो संगठनले विगत लामो समयदेखि नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था रहेसम्म नेपाली जनताले मुक्ति पाउन संंभव छैन भन्ने कुरालाई जोडदार रुपमा उठाउँदै आएको छ । पुँजीवादी संसदीय व्यवस्थामा आएको विश्वव्यापी संकटको राजनैतिक निकास वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो भन्ने कुरामा हामी विश्वस्त छौं ।
नेपालमा दलाल तथा संसदीय व्यवस्थाको असफलता र यो व्यवस्थाका जनविरोधी कृयाकलापहरु राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय रुपमानै उदांगो भएपछि यसलाई ढाकछोप गर्नका लागि नेपाल सरकारले कथित स्थानीय निर्वाचनको नौटंकी रचेको छ । यो निर्वाचन औचित्यहीन छ र यसले आगामी दिनमा राष्ट्रियतालाई झन् कमजोर बनाउने, जनतन्त्र र जनजिवीकालाई झन कठिन बनाउने कुरा निश्चित छ । त्यसैले यो दलाल तथा संसदीय व्यवस्थाको अन्त्य गरी जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नेपाली जनताको आन्दोलनमा हाम्रो संगठनको ऐक्यवद्धता रहने छ ।
यसै सन्दर्भमा नेपालमा नेपाल कम्युनिष्ट पार्टीले यो अर्थहीन निर्वाचन खारेज अभियान सन्चालन गरेको छ । यो अभियानमा देखिएको जनसहभागिता, निर्वाचन जित्नका लागि भएका संसदीय दलहरु बीचको अप्राकृतिक गठजोड, त्यसका निम्ती वाह्य शक्तिको निर्देशन, देशैभरि एकै दिनमा निर्वाचन सम्पन्न गर्न नसकी सात क्षेत्र मध्य जम्मा तीन क्षेत्रमा राज्यका सबै सुरक्षा निकायको घेरावन्दीमा निर्वाचन गर्नु पर्ने बाध्यता आदि कुराहरुले यो निर्वाचन खारेज अभियानलाई झनै पुष्टि गरेको छ । त्यसैले हामी नेपाल सरकारलाई यो चुनावी नौटंकीलाई खारेज गर्न आग्रह गर्दछौं ।
निर्वाचन खारेजीको यस शान्तिपुर्ण अभियान यो दलाल तथा संसदीय व्यवस्थाको चुनौतीको रुपमा खडा भएपछि यसलाई राजनैतिक रुपले हल गर्नतिर नलागी यो सरकारले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई संकटकालको झल्को दिने गरी गिरफ्तार गर्ने, झुट्टा मुद्धा लगाउने,यातना दिने र केहीलाई बेपत्ता बनाउने,पक्राउ परेकालाई बलजफ्ती सुरक्षाकर्मीका हतियार समाउन लगाई झुट्टा मुद्धामा फसाउने, सुतिरहेका बालबालिकालाई समेत गिरफ्तार गर्ने,संचारकर्मीहरुलाई धम्क्याउने र गिरफ्तार गर्ने जस्ता कार्यको हामी घोर भत्सर्ना गर्दछौं । वर्तमान नेपालको कानुनको समेत धज्जी उडाउदै गरिएका यस्ता फासीवादी दमनले कसैको राजनैतिक आस्था र विस्वासलाई सिध्याउन सक्दैन । यो दमन जारी रह्रयो भने प्रतिरोधात्मक विद्रोह हुने कुरा निश्चित छ ।
त्यसैले हामी सरकारको यो फासीवादी कदमलाई तुरुन्त रोक्दै राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तत्काल रिहा गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।
विष्णु भुजेल, अध्यक्ष, नेपाली जनप्रगतिशील , मोर्चा युरोप
राम बहादुर गुरुङ्ग, संयोजक, नेपाली जनजाति सरोकार मन्च, युरोप
मेख तमु, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम
शेरबहादुर तुम्वापो, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी
वदन योङ्गहाङ्ग, अध्यक्ष, नेपाली जनजाती सरोकार मञ्च, वेल्जियम
इश्वर शर्मा, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, स्पेन
इन्द्र न्यौपाने, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल
वुद्धि तामाङ्ग, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, अष्ट्रिया
टि एन रिजाल, संयोजक, नेपाली जनप्रगतिशिल मोर्चा, बेलायत







