नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आज राति मकवानपुरका चार स्थानमा शक्तिशाली बम विस्फोट गराएका छन् ।

स्थानीय निर्वाचनमा उम्मेदवार बनेका एमाले नेताहरुको तीन घर र अर्को मतदान केन्द्रमा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले शक्तिशाली बम विस्फोट गराएका छन् । विस्फोटपछि सुरक्षाकर्मीले गोली चलाएका थिए । मकवानपुरको चार स्थानमध्ये हाडीगाउँ मतदान केन्द्रमा शक्तिशाली सिलिण्डर बम विस्फोटपछि नेपाली सेनाले अन्धाधुन्ध गोली चलाएको थियो ।

यता मकवानपुरको तीन उम्मेदवारको घरमा छुट्टा छुट्टै स्थानमा शक्तिशाली बम विस्फोट भएको छ ।  इन्द्रसरोबर ३ थाकलमा रहेको एमाले उम्मेदवार धनबीर थाकलको घर नजिकै मध्यरातमा बम विस्फोट भएको छ ।

त्यसैगरी आज आइतबार विहानै मकवानपुरकै दुई स्थानमा पनि शक्तिशाली बम विस्फोट भएका छन् । कैलाश गाउँपालिका वडा नं १० बलम्टारमा एमाले उम्मेदवार चुम्बल गुम्वाको घर नजिक र थाहा नगरपालिका ११ को टिस्टुनमा विहानै शक्तिशाली बम विस्फोट भएको छ ।

यसरी मकवानपुरका चार स्थानमा शक्तिशाली बम विस्फोटपछि हाँडीगाउँ मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीले दर्जनौ राउण्ड अन्धाधुन्ध गोली चलाएका थिए ।

मतदान केन्द्र र उम्मेदवारको घरमा बम विस्फोट हुनथालेपछि मकवानपुरमा सुरक्षा चुनौती बढेर गएको सुरक्षाकर्मीहरुले नै बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार