चर्को मतभेद र ठूलो तनावका बीच देशका ३८ जिल्लामा स्थानीय निर्वाचनको मतदान  कार्य सकिएको छ ।

जनतालाई मीठो लोकतन्त्रको नाममा परिवर्तनको एजेण्डालाई बन्धक बनाएर कथित निर्वाचनको नाटक मंचन गरिएको छ । सर्वसाधारण जनतालाई उल्लु बनाउदै गरिएको निर्वाचनले दिने परिणाम उही लुट, भ्रष्टचार, कमिशनखोर र व्यथिति मात्र हो छर्लङ्ग छ ।

कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले कुनैबेला काठमाडौंका जनतालाई भेडा भनेर बोलेका थिए । त्यसको पनि ठूलो अर्थ छ ।

हुन त जनतालाई भेडा बनाउने यही संसदीय दलका नेताहरु न हुन् । जसले सधै जनतालाई चार या पाँच वर्षको दौरानमा भेडा बनाउने दुष्प्रयास गरिरहे । यो कथित स्थानीय निर्वाचनमा देखिएको परिदृश्य त्यसैको परिणाम हो ।

२५ वर्षमा २५ प्रधानमन्त्री बन्नु, देश हरिकंगाल बनेर रेमिट्यान्समा चल्नु, ७० लाख युवा विदेशिनु, देशका सारा उद्योगधन्दा, कलकारखाना बन्द भएर भारतबाट पराश्रित बन्नु यी सबै संसदीय लोकतन्त्रका उपहार हुन् ।

अनि यही उपहार बोकेर कथित स्थानीय निर्वाचनको नाममा संसदीय पार्टीहरु जनतालाई भेडा बनाउन आइपुगे । तर जनतालाई बुझाउन सकिएन । यो अर्को कुरा हो । तर फेरि पनि सत्य कुरा के हो भने जनतालाई पुनः भेडा बनाइएको छ ।

आजको निर्वाचनमा भेडा बनाइएका जनताले जजसलाई मतदान गरे, त्यो फेरि देशका स्थानीय स्रोत साधनमा ब्रहलुट मच्चाउन, अर्को व्यथिति मच्चाउन संसदीय दलका दलालहरुलाई दिइएको लाइसेन्स बन्यो ।

अब पुन नेपाली जनता चार या पाँच वर्ष अर्को व्यथिति र लुटको शिकार हुने कुरा निश्चित छ । किनभने यही भ्रष्ट र लुटको विरासतबाट आएका संसदीय नेताहरुले दिने परिणाम भनेकै भ्रष्टचार, लुटतन्त्र र कमिशनतन्त्र हो ।

यो निश्चित भयो कि भेडा बनाइएका नेपाली जनता पुर्पुरोमा बसेर रुनेधुने काम बाहेक अरु केही हुनेवाला छैन । किनकि नेपालमा संसदीय व्यवस्थाले दिएको परिणाम भनेकै लुटतन्त्र र भ्रष्टतन्त्र मात्र हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार