पुष्पकमल दाहालले राजपासँग सहमति गर्ने प्रतिबद्धता जनाएर दोस्रो चरणको चुनावलाई अलपत्र पारेर अगाडि नै राजिनामा दिनुको रहस्य अब प्रष्ट हुँदैछ । दोस्रो चरणको चुनावको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिए अन्यौलता बढ्छ भन्दै एमाले समेतले पनि राजिनामा नदिनलाई आग्रह गरेका थिए । यसको वास्तविक कारण दुईटा देखिन्छ । पहिलो, मधेशमा दोस्रो चरणको चुनाव गराउन कठिन परिस्थिति ।
दोस्रो, देउवा पक्षसँग आगामी सबै चुनावमा तालमेल गरेर, आगामी संसदीय चुनावमा पनि तेस्रो बनेर पुनः प्रधानमन्त्री आलोपालो गर्न पाइने लालसा । आगामी चुनावमा दाहालको लक्ष्य भनेको पहिलो वा दोस्रो बन्ने होइन, तेस्रो बन्ने हो र तेस्रो बनेर अहिलेको संसदीय प्रणालीअनुसार पहिलो र दोस्रो दललाई घुमाउँदै फेरि अर्कोपटक पनि बारम्वार प्रधानमन्त्री बन्ने हो । नेपालको मिश्रित चुनावी प्रणालीले गर्दा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैनन् र सधै हङ्पार्लियामेन्ट बन्ने स्थिति छ । जसमा तेस्रो दलले प्रधानमन्त्री बन्ने अवसर पाइरहन्छ ।  दाहालले आफ्नो यही अभिष्ट पूरा गराउन मधेश कार्ड खेल्न लागेका छन् ।
दाहाल मधेसका सबै दलहरु अर्थात्, उपेन्द्र यादवको पार्टी, विजय गच्छदारको पार्टी तथा भर्खरै छ दल एकता भएर बनेको राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता भएर वा एउटै चुनाव चिन्ह लिएर आगामी चुनावमा सहभागी होला भन्ने चिन्ताले सताएको छ । यी सबै मधेश केन्द्रित दलहरुले पार्टी एकता गरेर वा एउटै चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएमा आगामी संसदीय चुनावमा यस मधेश केन्द्रित पार्टी नै तेस्रो ठूलो दल बन्ने र दाहालको माओवादी केन्द्र चौथोमा पुग्ने सम्भावनाले दाहाललाई धेरै नै चिन्तित बनाएको छ । यस्तो भएमा दाहालको अर्को पटक तेस्रो दल भएर पुनः प्रधानमन्त्री बन्ने सपना पूरा नहुने देखेर मधेशका पार्टीहरु एक हुन नदिने र चुनावमा ती मधेश केन्द्रित दलहरुमध्ये आधा मात्रलाई चुनावमा  आउन दिने तथा कथंकदाचित सबै चुनावमा आए भने उनीहरुबीच तालमेल वा पार्टी एकता नहोस् भन्ने रणनीतिमा लागेका छन् ।
दाहालका कतिपय कार्यकर्ताहरु मधेशमा बन्दुक प्रयोग गरेर भए पनि चुनाव गराउनु पर्दछ भन्दै उग्र कुराहरु गर्न थालेका छन् । दाहालका एक समर्थक आफ्नो फेसवुकमा लेख्छन्– ‘जे गरे पनि चुनावमा भाग नलिने भनेर ठाकुर समूहले भनेको अवस्थामा सर्वोच्चको कदम ठिक छ, सेना परिचालन गरेकै छ, २÷४ आँप झर्ने भए, चुनाव त हुन्छ हुन्छ, किनकि कुनै ठोस माग र आधार नभएको त्यो जमातलाई सरकारले धेरै महत्व दिएको दुनियाँलाई थाहा छ, मधेसवादको नाममा त्यहाँका जनतामाथि भावनात्मक कालोबजारी गरेको तिनीहरुको खेती चुनावपछि आफै सकिने पनि छ, चुनाव त जसरी पनि हुन्छ हुन्छ ।’
दाहालका यी उग्रपन्थी कार्यकर्ताले सेना लगाएर भए पनि मधेसका जनतामाथि गोली चलाएर हत्या गरेर भए पनि ठाकुर समूहले बहिष्कार गरे पनि चुनाव गराइनु पर्दछ र चुनावबाटै मधेशवादी दलहरु सकिनेछन् भन्न खोजेका हुन्  । दाहालले बाहिर खुलेर भन्ने हिम्मत नगरेपनि उनको भित्री इच्छा चाहना र रणनीति यही बनेको छ । यसका लागि दाहालले देउवाको काँधमा बन्दुक राखेर मधेसका जनताविरुद्ध चलाउन खोजेका छन् र मधेसी दलहरु एकताबद्ध नहोस् भनेर अनेकौं जालझेल गर्न थालेका छन् ।
तर मधेसको समस्या अहिले गम्भीर मोडमा पुगेको तथ्यप्रति दाहाललाई मतलब छैन । मधेसमा अहिले चार खाले धार देखापरेको छ । पहिलो, चुनावमा जाने धार । दोस्रो, जनआन्दोलनमा जाने धार । तेस्रो अलमलमा परेको धार । चौथो र डरलाग्दो धार भनेको बन्दुक बोकेर मधेसलाई अलग देश बनाउनु पर्दछ भन्ने विखण्डनवादी धार । अहिलेको परिस्थितिमा पहिलो दोस्रो र तेस्रो धारलाई चुनावमा ल्याउनु नै हिमाल पहाड  र तराई मधेशका सबै नेपालीको हितमा रहेको यथार्थ तथ्य हो । यसको लागि यी तीनवटै धारलाई बुझाउनु पर्ने तथ्य भनेको यदि उनीहरु सबै दलहरु पार्टी एकता गरेर वा चुनाव चिन्ह एउटै बनाएर तालमेल गरेर चुनावमा आए भने उनीहरु स्ट्रङ्ग थर्ड पार्टी र किङ्मेकर बन्ने प्रवल सम्भावना छ । यो भनेको नेपालको इतिहासमा पहिलो पल्ट मधेसबाट प्रधानमन्त्री बन्ने सम्भावना पक्का हुनु हो । यसका लागि हिमाल र पहाडका सबै जनताले मधेशका जनता र दलहरुलाई शुभकामना दिने हिम्मत गर्नु पर्दछ ।
यदि मधेसका दलहरु र जनता पनि चार धारमा विभाजित भैराखे भने आगामी चुनावहरुले मधेसमा व्यालेट हैन बुलेट र बन्दुकको राजनीति तथा विखण्डनकारी धारले प्रश्रय पाउन थाल्नेछ र नेपालको मधेस भारतको काश्मिर तथा श्रीलंकाको जाफ्ना जस्तो बन्न जाने सम्भावना बढ्नेछ ।
हेर्दा यो सजिलै बुझ्नपर्ने कुरा जस्तो लाग्छ, तर बुझ्नु एउटा कुरा हो भने लागू गर्नु अर्को कुरा हो । यस्तो स्थितिमा उपयुक्त बीचको बाटो निकालेर मधेसका जनआन्दोलनमा गएका राजपा तथा अलमलमा परेका जनताको धार समेतलाई चुनावमा ल्याउनु एमाले कांग्रेसलगायतका दलहरुको दायित्व हो । राजपालाई चुनाव चिन्ह दिने, पार्टी दर्ता गराउने कामका लागि ऐन परिमार्जनलगायत जे जस्तो गर्न पर्ने भएपनि त्यसमा तयार हुनु सही कुरा हो ।
तर यसबाट मात्र राजपा निर्वाचनमा नआउने भनाइ त्यस दलका नेताहरुले व्यक्त गर्न थालेको स्थितिमा अरु बीचको सहमतिको बाटो बनाउन एमाले–कांग्रेस तयार हुनु पर्दछ । कांग्रेसका नेताहरुले अहिले दाहाललाई बोकेर हिंडे पनि दाहालले मधेस कार्ड खेल्ने सम्भावनाप्रति सचेत बन्नु पर्दछ । मधेसका सबै दलहरु एक भएर चुनावमा आउने भएमा दाहालले अनेक बहाना निकालेर चुनाव नै भाँड्न खोज्ने सम्भावनाप्रति सतर्क रहनु पर्दछ ।
मधेसका दलहरु र मुख्यतः राजपाका नेता कार्यकर्ताहरुले फुटाउ र शासन गरको दाहालको रणनीतिलाई समय मै बुझ्नु पर्दछ । वस्तुगत रुपले एमाले र कांग्रेसलाई मधेसका दलहरु एकतावद्ध हुनुले समस्या पार्दैन, तर दाहालको माओवादी केन्द्रका लागि गम्भीर घाटा र जीवनमरणको सवाल हुने यथार्थ मधेसका नेता र जनताले बुझ्नु पर्दछ । मधेसका सबै दलहरुले अहिलेको दोस्रो चरणको चुनावदेखि नै सबै दलहरु एकतावद्ध हुने बाटोमा लागेर चुनावमा सहभागी भई आगामी संसदीय चुनावसम्ममा स्ट्रङ्ग थर्ड पार्टी र किङ्मेकरको भूमिकामा पुयाउने लक्ष्यसहित अघि बढ्नु पर्दछ र आगामी प्रधानमन्त्री मधेसबाट भन्ने नारासहित अघि बढ्नु पर्दछ ।
मधेसका नेताहरुले मधेसको मात्र होइन समग्र नेपालकै कार्यकारी नेतृत्व लिने चुनौती सामना गर्ने हिम्मत गर्नु पर्दछ । तर यदि कुनैले चुनावमा भाग लिने, कुनैले बहिष्कार र जनआन्दोलन गर्ने स्थिति बन्यो भने मधेसमा विखण्डनकारी हिंसात्मक धार बलियो बन्न जाने हुन्छ र अहिलेको चुनावी धार र जनआन्दोलन तथा बहिष्कारवादी धार दुबै मधेसबाट बिलाउन सक्नेछ ।
दाहालले कांग्रेसलाई प्रधानमन्त्री सजिलै छाड्नुको रहस्य बेलैमा देउवा र उनका सल्लाहकारहरुले वुझेनन् भने दाहालले देउवालाई एकपटक ठूलो खाल्डोमा धकेलेर सहमति देखाउनेछन् । अहिलेको वस्तुगत आवश्यकता भनेको कांग्रेस–एमाले मधेशवादी दलहरु तथा सबै मिलेर दाहालको न शान्ति न क्रान्तिको भाँडभैलोपथलाई परास्त गर्नु हो । वैद्य कमरेडले वर्ग शत्रुको हो अध्ययन गर्नुपयो भन्ने कुरा राख्नु भएको ठिकै हो ।

तर उहाँले नेपाली जनताको वर्ग शत्रु प्रतिक्रान्तिकारी दाहाल र उनको दलाल तथा नोकरशाही पुँजीपति वर्ग हो भन्न हिचकिचाउनु भएछ । अहिले काठमाडौं उपत्यका, कास्की, दैलेख, मनाङ, मुस्ताङ, स्याङ्जा, पर्वत, नवलपरासी, मुगु, सुर्खेत आदि जिल्लामा जस्तै सबैतिर पत्तासाफ भएपछि  दलाल तथा नोकरशाही पुँजीपति वर्गको एक हिस्सा बनेका  दाहाल अलि तह लाग्नेछन्  र दाहालले प्रतिक्रान्तिको उचित पुरस्कार पनि पाउनेछ ।

 दृष्टिन्युज

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार