पछिल्लो समय कांग्रेससँगको आलोपालो प्रधानमन्त्री हुने सहमति पालना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि दाहालको राजनीतिक नैतिकताबारे बजारमा अनेक फुँदा गाँसेर हल्ला गरिएको छ । तर यसरी जोडबल लगाएर गरिएको नैतिकताको बजारीकरण ‘डोकोले छोपेको छोपे पनि छलङ्गै देखेको’ भनेजस्तै हुने प्रमाण जनपाटीले प्राप्त गरेको छ ।
त्यो प्रमाण अरु कसैले मिहिनेतले खोजबिन पनि गर्न नपर्नेगरी जुटाउने कामचाहिँ उनै प्रचण्डले गरेका हुन् । तलको उदाहरण पढेपछि तपाईं पाठकहरूलाई पनि लाग्नेछ– वास्तवमा प्रचण्डले इमानदारिता हैन, कतैको निर्देशनमा तयार पारिएको आलोपालो मिलेर खाने सहमतिप्रति आफ्नो पालो पुगेपछि बफादारिता देखाएका हुन् ।

प्रसङ्ग हो, हालै सरकारले सार्वजनिक गरेको बजेटको । त्यो पनि रोल्पाको । सामान्य मास्टरी गरेर पढाइ हिँड्ने पुष्पकमल दाहाल र कृष्णबहादुर महरालाई आजको प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बनाउने काम जनयुद्धले नै गरेको हो । नेपालको जनयुद्ध भन्नासाथ रोल्पा र त्यसमा पनि थबाङ्गलाई विशेष सम्मानसाथ नहेर्ने माओवादी नेता कार्यकर्ता पाउन मुस्किल छ ।
युद्धकालमा थबाङ्गले प्रचण्ड, महराहरूलाई नेता बनाउन ३९ दिनसम्म पूरै गाउँ छाडेर रातभर जलजलाको ठिहीमा पाखी ओढेर रात मात्रै कटाएन, जनयुद्धको राजधानीको रूपमा सत्ताको अनेक दमन भोग्यो ।
थबाङ्ग–जेलबाङ्ग, उवालगायतका स्थानबाट सयौं नागरिकले प्रचण्डहरूलाई नेता मानेवापत बलिदान दिए । दिन सक्ने र गर्न सक्ने जति सबै दिए प्रचण्ड–महराहरूलाई नेता बनाउन थबाङ्गीहरूले ।
त्यसरी आफुलाई ज्यान, उमेर, ऊर्जा र सबै चीज बलिदान गरेर, समपर्ण गरेर नेता बनाएपछि प्रचण्ड–महराहरूको नैतिकता हुन्थ्यो– आफ्नो हातमा सत्ताको डाडुपन्यू भएको बेला थबाङ्गी जनताले लगाएको गुन तिर्ने, तिनको बलिदान र योगदानलाई नैतिकता लागि भए पनि कदर गर्ने तर भएको छ उल्टो ।
रोल्पा नै घर भएका कृष्णबहादुर महराले प्रचण्ड प्रधानमन्त्री भएको सरकारको बजेट सार्वजनिक गरेका छन् र त्यसमा रोल्पाका सबै गाउँपालिकामध्य सबैभन्दा कम बजेट पाएको छ थबाङ्ग गाउँपालिकाले । जब कि रोल्पामा विकास, शिक्षा, स्वास्थ्य सबै दृष्टिकोणले सबैभन्दा धेरै पूर्वाधार तयार गर्न खर्च गर्नुपर्ने गाउँपालिका नै थबाङ्ग हो ।
थबाङ्गले अन्य गाउँपालिकाको तुलनामा झण्डै आधा कम रकम पाएको छ । थबाङ्ग गाउँपालिकाले जम्मा १६ करोड ५० लाख पाएको छ भने रोल्पामै थबाङ्गपछि सबैभन्दा बढी बलिदान गर्ने सुनछहारी गाउँपालिकाले थबाङ्गपछिको दोस्रो कम रकम प्राप्त गरेको छ ।
यसरी प्रचण्डले निकै ठूलो संख्यामा बलिदान गरेर आफुलाई नेता बनाउने भूगोल र जनतालाई कृतघ्नतापूर्वक उपेक्षा गरेका छन् भने यता वाह्य इशारामा बनेको आलोपालो मिलेर सत्ता खाने शेरबहादुर देउवासँग भएको सम्झौताप्रति देखाएको वफादारितालाई इमानदारिताको रूपमा प्रचार गरेर इमानदारिता शब्दकै हुर्मत लिइएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।







