हाम्रो देश र हाम्रा जनता राजनीतिक सङ्कटको भुँमरीसँग जुधिरहेका छन् । हाम्रो महान् आदर्श र मूल्यहरूमाथि भीषण हमला भइरहेका छन् । यो समयमा जनसंस्कृतिकर्मीहरूको विशेष जिम्मेवारी के हुनुपर्छ भन्ने सन्दर्भमा यहाँ केही चर्चा गर्न खोजिएको छ ।

१) आदर्श र मूल्यमाथिको हमला
हामीले शान्तिप्रक्रियामा निकै नै खराब स्थितिको मुकाविला गर्नुपरयो । प्रचण्ड–बाबुराममा राजनीतिक, वैचारिक विचलन आएपछि माओवादी आन्दोलनका आदर्श, मूल्य र विचारमाथि क्रूर, नीच र घृणास्पद हमलाहरू भए र भइरहेका छन् । पूर्व जनरल विवेश शाहको ‘मैले देखेको दरवार’, जनरल रक्माङ्गत कटुवालको ‘आत्मकथा’ र सुधिर शर्माको ‘प्रयोगशाला’ जस्ता पुस्तकहरूमा माओवादी आन्दोलका सन्दर्भमा जे–जस्ता गलत र भ्रामक विषयहरू लेखिए, ती वास्तवमै विषालु र ज्यानमारा खालका छन् । अर्को शान्तिकालका जति पनि मदन पुरस्कार जितेका साहित्यहरू छन्, ती पनि कुनै न कुनै रूपले माओवादी आदर्श र मूल्यमाथि हमला गर्न उद्यत छन् । यी विषय प्रगतिशील र जनसंस्कृतिकर्मीहरूका लागि चुनौती हुन् ।

यहाँ ती पुस्तकहरूको समीक्षा गर्ने विषय नभएकोले धेरैभित्र जान आवश्यक छैन (समय मिलेमा चिरफार गर्न भने आवश्यक छ) तर केही वाक्य हेरौँ । विवेक शाहले आफ्नो पुस्तकको पृष्ठ ८० मा माओवादी आन्दोलनको बारेमा लेखेका छन्, ‘भारतले माओवादीलाई संरक्षण र सहयोग दिएको थियो भन्ने कुराका अनेकौँ संवेदनशील प्रसङ्गहरू म सैनिक सचिव छँदै जानकारीमा आएका हुन् । तीमध्ये एउटा प्रसङ्ग यहाँ उल्लेख गरौँ । २०६० असारतिर सशस्त्र प्रहरी बलको एउटा कम्पनी कमान्डो लालिमका लागि भारत भएको थियो । टोलीले देरादुनदेखि ७ किलोमिमटर टाढा मसुरी नजिकै जङ्गल र पहाडी इलाका रहेको चक्रातामा तालिम लिएको थियो । तालिम सकिएपछि नेपाल फर्किएर एकजना प्रहरी निरीक्षकले सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई तालिमका क्रममा देखेका र सुनेका केही प्रसङ्ग सुनएछन् ।

तिनका कुरा सुनेर सशस्त्र पहरी महानिरीक्षक थापा मालाई भेटेन आउनुभयो । उहाँले भन्नुभयो, “सशस्त्रको एउटा गुल्म भारतको चक्रातामा तालिमका लागि गएकोे थियो । सुनेअनुसार उक्त गुल्म त्यहाँ गएको एक महिनाअगाडि नेपालका माओवादीको टोलीले पनि सोही स्थानमा लालिम लिएकोे बुझियो । यो ज्यादै गम्भीर विषय हो ।” … “केही दिनपछि चक्राताबाट तालिम लिएर फर्किएका प्रहरी निरीक्षक मलाई भेट्न आए, उनले भने सशस्त्रको टोलीलाई तालिम दिनेक्रममा जस्तो स्यान्ड मोडल बनाइएको थियो । हुबहु त्यस्तै स्यान्ड मोडल दाङको सतबरिया र अछामको मङ्गलसेन र सङ्खुवासभाको चैनपुर आक्रमणमा प्रयोग गरेका थिए ।

उक्त स्यान्ड मोडलबारे छलफल गर्दा हामीलाई ठीक त्यसैगरी काम गर्न भनेर बुझाएको थियो । जसरी माओवादीले सतबरिया, मङ्गलसेन, चैनपुरमा आक्रमण गरेका थिए । तालिम केन्द्रबाहिर रहेको चिया पसलेले समेत योभन्दा अगाडि नेपालबाट तालिमका लागि आएको टोलीमा महिला पनि थिए तर तपाईंको टोलीमा महिला रहेनछन् भनेको थियो । त्यस्तै एकजना इन्स्पेक्टरले भारतले यो के गरेको होला, नेपालका माओवादी र नेपालकै सशस्त्र प्रहरीलाई पालैपालो दिइरहेको छ भनेका थिए । यो कुराले म अचम्ममा परँे । चक्रातास्थित सशस्त्र तालिम केन्द्रमा श्रीलङ्का पृथकतावादी तामिल विद्रोहीलाई पनि तालिम दिएको थियो । बङ्गलादेश स्वतन्त्रताका लागि मुक्तिवाहिनीलाई पनि भारतले सोही केन्द्रमा तालिम दिएको थियो । … यस पृष्ठभूमिमा नेपालमा माओवादीको सशस्त्र शक्ति बढ्नु र सफल हुँदै जानुमा यो तालिम पनि महत्वपूर्ण कारण हुन सक्छ भन्ने मलाई लाग्यो । मैले यो कुरा महाराजाधिराजमा जाहेर गरँ ।

सरकार पनि अचम्ममा परिबक्स्यो र गम्भीर होइबक्स्यो ।” त्यस्तै सुधिर शर्माले प्रयोगशालाको ‘भारतीय छहारी’ शीर्षकको पृष्ठ १०४ मा लेखेका छन्, ‘नेपालको माग भारतमा खुलाजस्ता देखिने माओवादी नेतालाई समातेर बुझाइदिनुपरयो भन्ने हुन्थ्यो, जुन कुरा दिल्लीले सुन्ने काम मात्र गरयो । भारतको कुन ठाउँमा कहिले माओवादी केन्द्रीय समितिको बैठक हुँदैछ भन्ने सूचना दिँदासमेत चासो देखाइएन । अन्ततः नेपाल आफ्नै जासुसी संयन्त्र तैनाथ गर्ने निर्णयमा पुग्यो । … उनले देहरादुनलगायतका नेपाली भाषीको बसोबास रहेका इलाकामा सूक्ष्म नजर लगाएपछि देखेका थिए– माओवादीलाई त्यहाँ गतिविधि गर्न कसैको रोकटोक छैन ।’ त्यसैगरी उनले पृष्ठ १०६ मा लेखेका छन्, ‘काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पनि माओवादी नेताहरूलाई दरबारले पालनपोषण गरेर हुर्काएको र भारतले सेल्टर दिएर संरक्षण गरेको आरोप लगाए ।’

त्यसैगरी पृष्ठ १२७ मा लेख्छन्, ‘भारतसँग नजिकिने माओवादी प्रयासलाई पनि त्यहीताका सम्भव तुल्याइदियो दिल्लीले । २०५८ सालको पहिलो शान्तिवार्ता विफल भएको र सेनासँगै लडाइँ सुरु भएको पृष्ठभूमिमा माओवादी क्रमशः गणतन्त्रको उद्देश्यमा केन्द्रित हुँदै गएका थिए । त्यसका निम्ति उनीहरूलाई अन्तर्राष्ट्रिय समर्थन त्यसमा पनि मूलतः भारतको समर्थन अत्यावश्यक थियो ।’ … ‘क्रान्तिकारी रटानले भरिएका माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतका खास स्वार्थमा असर पार्ने कुनै काम नगर्नेमा भारतीय नेताहरूलाई आश्वास्त पारेका थिए । यो पत्रको जवाफ केही समयपछि आयो ।

गुप्तचर निगरानी र भारतमा माओवादी आवत–जावतमाथिको बन्देज खुकुलो पारियो र आईबीको एउटा टोलीले माओवादी प्रतिनिधिहरूसँग छलफल गरयो । माओवादीले फेरि लिखित रूपमा आईबीका गुप्तचरसामु आफ्नो दृष्टिकोण प्रस्तुत गरे । अनि माओवादीहरू तथा ‘रअ’ बीच सम्पर्क र बैठक अझ बढी भए ।’ उनी थप्दै जान्छन्, ‘माओवादीले पनि राजनीतिक नृतृत्व्को साटो गुप्तचर निकायसँग सम्बन्ध गाँस्दा के–कस्तो दुष्परिणाम निस्कन सक्छ भन्नेतर्फ विचार पु¥याएको देखिएन ।’ भारतले नै माओवादीलाई ट्रेनिङ दिएको भन्ने देखाउनमा उनले पासाङको भनाइ (जो फरक विषय हो) लाई जोडेका छन् । पासाङले भनेका छन्, “मैले जहाँ टे«निङ लिएको थिएँ, त्यही जनरलले अर्बन वारसम्बन्धी टे«निङ लिएका थिए ।” उनी थप्दै लेख्छन्, ‘भाारत सरकारले माओवादीलाई भौतिक रूपमै सघाएको थियो वा थिएन भन्ने हालसम्म विवादित छ तर यतिचाहिँ पक्का हो, उसले आफ्नो भूमिमा माओवादीलाई बस्ने र गतिविधि गर्ने छुट दिएको थियो ।’ उनले अगाडि लेख्छन्, ‘भारतले नेपालमा आफ्नो नियन्त्रणबाहिरको अस्थिरता चाहेको थिएन । … माओवादी गतिवधि एक हदसम्म बढोस् तर चाहेका बेला नियन्त्रणमा लिन सकियोस्, आफूले चाहेअनुरूप मोड्न सकियोस् ।’

जनयुद्धको बारेमै लेख्दा जनरल रुक्माङ्गत कटुवालले आत्मकथाको पृष्ठ २४७ मा लेखेका छन्, ‘बेरोजगारी, अभाव, निराशा, वैराग्यले बाटो बिराएका जनताका विकास चाहना पूरा गरिदिए सुमार्गमा ल्याउन सकिन्छ भन्ने सेनापति र सेनाको विश्वास थियो ।’ त्यस्तै पृष्ठ ३४४ मा लेखेका छन्, ‘फाच्चे–फुच्चीलाई जाँडरक्सी खुवाउने, उत्तेजित पार्ने, इन्जेक्सन लगाइदिने र लडाइँमा होमिदिने मोडल चौतारामा पनि दोहोरियो ।’ यीबाहेकका फुटकर साहित्य र लेखहरूमा पनि माओवादी आन्दोलनका विचार, आदर्शमाथि भीषण हमलाहरू हुँदै आएका छन् । त्यहाँ सबैको निष्कर्ष माओवादी आन्दोलनलाई जनताको आन्दोलन, क्रान्ति, श्रमजीवी जनताको विद्रोह, चेतना, विचार र क्रान्तिकारीहरूको उच्च आदर्शको रूपमा नभएर हत्या, हिंसा, अमानवीयता, केही मान्छेको उपद्रो र सनकको रूपमा अथ्र्याउन खोजिएको छ ।

त्योभन्दा पनि असह्य कुरा छ कि माओवादी आन्दोलन नेपाली श्रमजीवी क्रान्तिकारी जनताले चलाएको नभएर भारतको ‘रअ’ (गुप्तचर संस्था) ले चलाएको थियो, भारतको संरक्षण र सहयोगमा चलेको थियो भन्ने सावित गर्न खोजिएको छ । जनयुद्धमा बलिदान गर्ने जनता र योद्धाहरूलाई सचेततापूर्वकको बलिदानबाट लाटा, सोझा, वैरागी जनताको मृत्यमा झार्न खोजिएको छ । अझ पीडा र प्रहसनको विषय त के भयो भने यी पुस्तकमध्ये ‘प्रयोगशाला’ को सार्वजनिकीकरण (देखाउने कार्य) त जोकरको शैलीमा प्रचण्डले नै गरिरहेका थिए ।

बाबुराम र प्रचण्डको विसर्जन र आत्मसमर्पणले निकै ठूलो भ्रम (सत्य नै हो कि भन्ने जस्तो) भइरहेको छ, परन्तु सत्य सत्य नै हुन्छ, जो कहिल्यै पनि गलत सावित हुन सक्दैन् । भलै शक्ति र पैसाको बलले केही समय झुटो देखाउन भ्रम पारून् । त्यस्तै, गल्ती गल्ती नै हो, त्यो कहिल्यै सही सावित हुँदैनन् । होला कि एकछिन् सही जस्तो नै लाग्न सक्छ । जनयुद्ध नेपाली जनता, यहाँका उत्पीडित श्रमजीवी जनता, क्रान्तिकारी माओवादी योद्धाहरूले आफ्नै विवेक, योजना र तागतमा सुरु गरेको क्रान्ति थियो । नेपाली जनताको अकथनीय दुःख–कष्ट, त्याग, बलिदान र वीरताका साथ लडिएको र आफ्नै शक्तिले विजय हासिल गरिएको क्रान्ति थियो । जनयुद्धमा जनताले कति त्याग र बलिदान गर्नुपरयो, त्यो घामजत्तिकै उज्यालो छ । ९ हजार वरिपरि जनताको बलिदान भयो (१७० बढी त संस्कृतिकर्मी छन्) भने दुई हजारको हाराहारीमा बेपत्ता भए, जसको आज पनि अत्तोपत्तो छैन । घाइतेको सङ्ख्या हजारौँ छ । जनयुद्धको सत्यता जति खोजे र जति नखोजे पनि यही हो ।

यसलाई जति बढाए पनि या जति लुकाए पनि यो यही हो, यसको सत्यता कहिल्यै अर्को हुनेछैन । यति महान् क्रान्तिलाई यसरी तल रछ्यानमा गिराउने हर्कत सामान्य होइन र हुन सक्दैन । यी कार्य विश्वमा वैज्ञानिक समाजवाद र कम्युनिस्ट क्रान्तिका विरुद्धमा फैलाउँदै आएका पुँजीवादी, साम्राज्यवादी र उत्तर–साम्राज्यवादी विषालु हावाको एक हिस्सा नै हो । यो भ्रम र विष छर्किएवापत कसले के बक्सिस पाए, त्यो उनीहरूको जागिरको कुरा भयो ।

माओवादी आदर्श र मूल्यमाथि यति घातक हमला किन भयो र भइरहेको छ त ? यस सन्दर्भमा माओको एउटा भनाइ सान्दर्भिक छ, “वास्तवमा त्यस्तो साहित्य र कला पनि छ, जो शोषकहरू र उत्पीडकहरूका लागि हो । जमिनदारवर्गका लागि रचिएको साहित्य र कला सामन्ती साहित्य र कला हो । पुँजीपति वर्गका लागि रचिएको साहित्य कला पुँजीवादी साहित्य र कला हो । लु सुनले आलोचना गर्नुभएको ल्याङ स छ्युजस्ता मानिसहरू साहित्य र कलालाई वर्गहरूभन्दा माथिको चीज ठान्छन् तर उनीले पुँजीवादी साहित्य र कलाको पक्ष लिन्छन् र सर्वहारावादी सािहत्य र कलाको विरोध गर्छन् । हाम्रो साहित्य र कला भने माथि उल्लेख भएका कुन पनि समूहका लागि नभईकन जनताका लागि हुन् । … जुन कुरा साँच्ची नै जनसमूहको लागि हुन्छ, निश्चित रूपले त्यसको नतृत्व सर्वहारावर्गले नै गरेको हुनुपर्छ ।

पुँजीपतिवर्गको नेतृत्वमा रहेको कुनै चीज पनि हुनै हालतमा जनसमूहको लागि हुन सक्दैन ।” यसको अर्थ हो कि साहित्य र कलामा पनि राजनीतिक प्रतिद्वन्द्विता हुन्छ । प्रतिद्वन्द्वी धारले अर्को आदर्श र मूल्यमाथि हमला गर्नु र विस्थापित गर्नु स्वाभाविक नै हुन्छ ।

जनयुद्ध नेपाली राजनीतिक इतिहासमा श्रमिक जनता (उत्पीडित वर्ग, जाति, समुदाय, लिङ्ग) ले सञ्चालन गरेको महान् मुक्ति युद्ध हो । यसमा अधिकतम रूपले किसान, मजदुर, दलित, जनजाति, महिलाहरूले भाग लिए । सामान्य घरेलु हतियारको बलमा सुरु भएको जनयुद्ध केही वर्षमै अत्याधुनिक प्रविधिसहितको अपराजित शक्तिमा विकास भयो । सदियौँदेखि उत्पीडनमा परेका गरिब जनताले वीरता, त्याग, बलिदानका अद्वितीय आदर्श र मूल्य निमार्ण गरे । हुन सक्छ, बाबुराम–प्रचण्डहरूले जनयुद्धको पछिल्ला वर्षमा भारतीय शासकवर्गसँग आत्मसमर्पण र लेनदेन गरेका थिए तर त्यससँग नेपाली जनयुद्धको गोरु बेचेको साइनो पनि छैन ।

माओवादी नेता, कार्यकर्ता, जनमुक्ति सेना, जनता आफ्नै मुक्तिका लागि इमानदारितापूर्वक लडेका हुन् र आफ्नै तागतमा विजयी भएका हुन् । जतिबेला संसद्वादी दलहरूसँग सहमति र संयुक्त आन्दोलनको कुरा भइरहेको थियो, त्यसबेला पनि हामी रणमैदानमा भीषण मोर्चा लडिरहेका थियौँ ।

जनयुद्धको आदर्श, मूल्य र प्रतिष्ठा भनेका श्रमिकवर्गका लागि यो शताब्दीकै श्रेष्ठ आदर्श र मूल्य हुन् । यीप्रति स्वभावतः देशका प्रतिक्रियावादी वर्ग तत्वहरूको मात्र चासो र चिन्ता नभएर विश्वभरका साम्राज्यवादी तत्वहरूको पनि चिन्ताका विषय थिए । नेपाली जनतालाई लडाइँमा परास्त गर्न नसकेको स्थितिमा यसका आदर्श, मूल्य र प्रतिष्ठालाई कसरी विवादित, बद्नाम र समाप्त गर्न सकिन्छ भन्नेमा यी तत्वहरू लागिरहेकै थिए । जनयुद्धको समयमा जनयुद्धलाई आतङ्कवादी कार्य भने भने माओवादीलाई आतङ्ककारी भनेर बद्नाम गर्न खोजे ।

कहिले चीनसँग कहिले रिमसँग, कहिले भाकपा (माओवादी) सँग र कहिले राजासँग जोडेर दमन गर्न खोजे । जब हामी शान्तिप्रक्रियामा आयौँ, प्रचण्ड–बाबुरामका आत्मसमर्पणवादी प्रवृत्तिलाई पकडेर एकातिर अनेकथरी माफिया, खुफिया, जासुस, तस्कर, फटाहा, ठगहरूलाई माओवादी नेताका घरमा पुरयाउने, होटल, बार, डिनरमा कुँदाउने अनि आफैँले पछाडिबाट पत्रकार, जासुस लगाएर फोटो खिचाएर, पत्रिकामा बद्नाम समाचार छापेर नङ्ग्याउने कर्म गरे । जब कमजोरीहरू बढ्दै गए र माओवादीको आदर्श, मान्यतामाथि जनतामा आशङ्का बढ्न थाल्यो, तब त्यसैमा टेकेर माओवादी र जनयुद्धबारेमा अनेकथरी हमलाहरू बढाइए । जनयुद्धलाई ‘रअ’ ले चलाएको थियो, भारतको संरक्षणमा चलेको थियो, जनमुक्ति सेनालाई देहरादुन चक्रतामा भारतले नै तालिम दिएको थियो भन्ने जस्ता तुच्छ, फोहोरी र पूरै विषालु प्रचार यसैका कडी हुन् ।

भ्रम बढ्दै गयो भने ‘सत्य’ मा बदलिन्छ । केही समय भ्रम सत्यले पनि उच्च आदर्श र विजयहरूलाई तहस–नहस पार्छ । उदाहरणका लागि भूत, बोक्सी र भगवान हँुदैनन् तर समाजमा यस्ता कथा र मिथक बनाइए, जसले गर्दा नागरिकहरूलाई हुन्छन् नै भन्ने लागिरहन्छ । मान्छेहरू भूत भगाउन या भगवान खुसी पार्न मान्छेकै बलि दिन तयार छन् ।

प्रतिक्रियावादीहरूले यस्तै भ्रमहरू क्रान्ति र क्रान्तिकारी शक्तिका बारेमा तयार गर्न लागिपरेका थिए । उनीहरूले प्रचण्ड, बाबुराम र उनीहरू वरिपरिको एउटा अविवेकी र स्वार्थी तत्वहरूका कमजोरी पकडेर माओवादीबारे भ्रम सत्य स्थापित गर्न खोजिरहेका छन् । हुँदा–हुँदा त इमानदार नेता, कार्यकर्ता र जनतालाई पनि यो त हो कि क्या हो ! नभए त यति कसरी लेख्न सक्दथे भन्ने परिरहेको छ । जब कि हामी लड्ने, भिड्ने, दुःख गर्ने, प्रत्यक्ष योजना निर्माणमा सहभागी बन्ने र कार्यान्वयन गर्ने मान्छे, व्यक्ति र कार्यकर्ता नै जिउँदै छौँ, आन्दोलनमा सक्रिय र नेतृत्वमा छौँ । उनीहरूले भनेको कतै पनि सत्य छैन । यो हँुदै नभएको प्रचार गर्नु भनेको जति धज्जी उडाए पनि कमै हुन्छ ।

२) हिनता, आशङ्का र अविश्वास
शान्तिकालमा हामीले आफ्नै आन्दोलनको अनौठो हिनताको प्रहार पनि खप्नुपरेको छ ।

प्रचण्ड–बाबुरामहरू विचलित भएपछि क्रान्तिकारी आदर्श, मान्यता र मूल्यहरूविरुद्ध प्रगतिशील संस्कृतिकर्मी र स्वयम् माओवादी आन्दोलनभित्रबाट हुर्किएका कैयौँ पात्रहरूबाट समेत क्रान्तिकारी विचार, मान्यता र आदर्शप्रति हिनता, निराशा, आशङ्का व्यक्त गर्ने कार्य भइरहेको छ । मुमाराम खनाल यसका नमूना देखिन्छन् भने माओवादी केन्द्रभित्र र विभिन्न समूहमा यस्ता कैयौँ मान्छेहरू देखिने गरेका छन् । यो पनि संस्कृतिकर्मीहरूको चुनौती हो ।

प्रचण्ड–बाबुरामहरू विचलित हुनु भनेको माओवादी आन्दोलनकै विचलन हो, उनीहरू असफल हुुनु भनेको माओवादी आन्दोलन नै असफल हुनु हो, एकपटक विफल हुनुको अर्थ अब कहिल्यै सफल नहुनु हो वा सफलताप्रति विश्वास नहुनु हो जस्तो लेखाइ र प्रतिक्रिया आउने गरेका छन् । आन्दोलनमा एउटा अनौठो आलोचनावादी र आशङ्कावादी प्रवृत्ति फैलिएको छ । नेताहरूलाई कार्यकर्ताले आलोचना र अविश्वास गर्ने, कार्यकर्तालाई जनताले आलोचना र अविश्वास गर्ने अनि एकले अर्कोलाई आलोचना गर्ने स्थिति छ ।

“प्रचण्डजस्तै हुँदैन भन्ने के ग्यारेन्टी छ” आज–भोलि बजारमा खुब उठ्ने पदावलि भएको छ । क्रान्ति, परिवर्तन, आदर्श, वैज्ञानिक–समाजवादको चर्चा हुन थालेको हुँदैन, यो पदावलिको तुरुन्तै जवाफ दिनुपर्छ । त्यस्तै अर्को पदावलि छ, “फेरि धोका हुँदैन भन्ने के ग्यारेन्टी छ” यसको जवाफ पनि सँगसगै दिनुपर्छ । “सबैले नपाएसम्म हो, पाएपछि सबैको उस्तै त होला” अर्को पदावलि आउँछ । यी वाक्यहरू एकप्रकारले आम मान्छेका आदत नै बन्न पुगे जस्तो लाग्छ । यो बाहिरको कुरा होइन, यो माओवादी आन्दोलनकै कुरा हो । विषय कहाँसम्म पुगिरहेको थियो भने हामीले गरेको दुःख, त्याग, बलिदान, मिहिनेत नै पो बेकार भयो कि क्या हो ! एकप्रकारले पश्चाताप जस्तो, आफैँभित्रको हिनताबोध जस्तो । हिनताबोध र पश्चाताप हुन थाल्यो भने क्रान्ति, बलिदानप्रति नै घृणा र आक्रोश पैदा होला जस्तो !

प्रगतिशील धाराभित्र यस्तो मनस्थिति पाएपछि पुँजीवादी, प्रतिक्रियावादी तत्वहरूले जनयुद्धवादी, क्रान्तिकारी आदर्शकै विनास विष भेटाए जसरी उचालेर कुँद्ने गरेका छन् । सहर–सहर कुदाउने, विदेश पु¥याउने, मञ्चमा उभ्याउने, लोभलालच देखाउने, विज्ञापन गराउने गरिरहेका छन् । परन्तु माओवादी पार्टीको पुनर्गठन भएपछि माओवादी आन्दोलनकै पुनर्गठन हुन पुगेको छ । माओवादी आन्दोलनका सबै पक्ष र क्षेत्रको पुनर्गठन हुन पुगेको छ । यसैक्रममा माओवादी सांस्कृतिक आन्दोलनको पनि पुनर्गठन भएको छ ।

माओवादी सांस्कृतिक आन्दोलनको पुनर्गठन भएपछि जनयुद्धका आदर्श, मूल्य, मान्यताको रक्षा पनि नयाँ ढङ्गले अगाडि बढेको छ । सामन्तवादी, दलाल पुँजीवादी, साम्राज्यवादी मोर्चाबाट भइरहेका हमलाहरूको प्रतिरोध सुरु भएको छ । प्रगतिशील आन्दोलन र माओवादीभित्रैबाट देखापरेका हिनता, निराशा, आशङ्का, अविश्वासविरुद्ध पनि बहसहरू अगाडि बढेका छन् । यो एउटा निकै महत्वको परिणाम हो ।

३) राजनीतिक प्रतिगमन र सङ्घर्ष
शान्तिप्रक्रिया असफल भएपछि राज्यमा प्रतिगमन भयो र सत्ता दलाल पुँजीपति वर्गको कब्जामा गयो । आज दलाल पुँजीवाद र जनताका बीचमा सङ्घर्ष चर्किंदै गएको छ । राज्य दलाल पुँजीपति वर्गको नियन्त्रणमा पुगेपछि हाम्रो देशको स्वाधीनता झनै खतरामा पर्न गएको छ । भारतले एक–एक गर्दै नेपालमाथि असमान र राष्ट्रघाती सम्झौताहरू लाद्दै गएको छ । त्यसैगरी जनता अधिकारविहीन र उत्पीडित बन्दै गएका छन् । सङ्घर्ष मुख्यतः दलाल पुँजीवादी वर्ग र जनताका बीचमा केन्द्रित भएको छ । दलाल पुँजीवादी शक्तिको नेतृत्व राज्यले गरिरहेको छ भने जनताको नेतृत्व माओवादी पार्टीले गरिरहेको छ ।

राज्य र जनताका बीचमा सङ्घर्ष बढ्न थालेपछि नयाँ क्रान्तिको सम्भावना प्रवल बन्दै गएको छ । सङ्घर्षले क्रमशः देशभक्त र दलाल, क्रान्तिकारी र संसद्वादीहरूको बीचमा राजनीतिक धु्रवीकरण पनि बढाउँदै लगेको छ । दलालहरू जनताको माझमा कमजोर र बद्नाम हँुदै गएका छन् भने क्रान्तिकारी र देशभक्तहरू सुदृढ र स्थापित हुँदै गएका छन् । क्रान्तिकारीहरूप्रति खासगरी माओवादी पार्टीप्रति अनेकौँ प्रश्नहरू भए पनि यसले अगाडि बढाएका राष्ट्र र जनताका प्रस्तावहरूप्रति उत्साहपूर्ण सहयोग र समर्थन प्राप्त हँुदै गएको छ । प्रचण्ड–बाबुरामको आत्मसमर्पणपछि माओवादी आन्दोलन र क्रान्तिको अन्त्य हुने सोचाइ पूर्णतः पराजित भएको छ ।

४) नयाँ परिस्थितिमा जनसंस्कृतिकर्मीहरूको जिम्मेवारी
एउटा ज्यादै खुसीको कुरा जनसांस्कृतिक आन्दोलन पुनर्गठन भएको छ । त्यसको नेतृत्व जनसांस्कृतिक महासङ्घले गर्दैछ । सांस्कृतिक आन्दोलन पुनर्गठन भएपछि सांस्कृतिक प्रतिनिधिहरू सङ्गठित प्रकारले सक्रिय भएका छन् । देशका केही प्रतिष्ठित लेखक र साहित्यकारहरूले पहिलेदेखि नै जनसंस्कृति र माओवादी आदर्शको पक्षमा अग्रणी भूमिका पूरा गर्दै आएका छन् । दुवै स्थितिबाट यो क्षेत्रमा नयाँ आशा, उत्साह र रक्तसञ्चार सुरु भएको छ । हाम्रा यसले एउटा गति पक्रिएको छ तर यसको जिम्मेवारी सानो र साधारण छैन । यो निकै व्यापक र विशेष महत्वको छ । आजको राजनीतिक एवम् सांस्कृतिक सङ्घर्षको धरातलबाट विश्लेषण गर्दा जनसंस्कृतिकर्मीहरूको जिम्मेवारी चार खालका रहेका छन् ः

१) दलाल पुँजीवादको विरुद्धको सङ्घर्षमा सहभागी बन्नु
२) जनयुद्धका आदर्श, मूल्य विरोधी विषालु हावाविरुद्ध सङ्घर्ष गर्नु
३) आत्मसमर्पणवाद, विसर्जनवादको प्रतिरोध गर्नु
४) सबै जनसंस्कृतिकर्मीहरूलाई एकतावद्ध र मोर्चाबद्ध गर्न जोड लगाउनु

१) माथि चर्चा गरियो कि नेपालमा राजनीतिक प्रतिगमन भएको छ । प्रचण्ड–बाबुरामको आत्मसमर्पणवाद र विसर्जनवादबाट फाइदा लिंदै संसद्वादी दलहरूले देशलाई संसदीय व्यवस्थामा फर्काएका छन् । देशमा दलाल पुँजीवादी व्यवस्था लादिएपछि देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्ति र दलालहरूको बीचमा सङ्घर्ष चर्किंदै गएको छ । यो सङ्घर्षमा जनसांस्कृतिक प्रतिनिधिहरूको जिम्मेवारी दलालहरूका विरुद्ध जनतालाई एकतावद्ध गर्ने र क्रान्तिकारी शक्तिलाई सघाउ पुरयाउने हुनुपर्छ ।

चिनियाँ क्रान्तिको सन्दर्भमा माओले एकपटक भन्नुभएको थियो, “साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाको रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकतावद्ध र शिक्षित तुल्याउन तथा सत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राण जस्तो भएर सत्रुसित जुध्न मद्दत गरून्”, (माओ, भाग ३, येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, पृष्ठ ४८) ।

यो निकै मार्मिक र सही विषय हो । आज हामीले पनि सांस्कृतिक आन्दोलनलाई यसरी नै सञ्चालन गर्नुपरेको छ । हाम्रो सांस्कृतिक आन्दोलनले हाम्रो देशलाई दलालहरूले लादेको दलाल पुँजीवादी व्यवस्थाको विरुद्ध साथै, हाम्रो देशलाई आफ्नो उपनिवेशमा बदल्न चाहने भारतीय विस्तारवाद (साम्राज्यवाद) विरुद्ध जनतालाई एकतावद्ध गर्न र जनतालाई विजयी तुल्याउन सहयोग गर्नुपर्छ । माओकै भाषामा भन्दा यो कार्यका लागि सांस्कृतिक सेनाको भूमिकामा जनसंस्कृतिकर्मीहरू अगाडि आउनुपर्छ । यो जिम्मेवारी सांस्कृतिक प्रतिनिधिहरूको हो ।

२) जनसंस्कृतिकर्मीहरूले पूरा गर्ने दोस्रो जिम्मेवारी भनेको पुँजीवादी, दलाल पुँजीवादी मोर्चाबाट जनयुद्धका आदर्श, मूल्य र संस्कृतिमाथि भइरहेका योजनावद्ध विषाक्त हमलाहरूको प्रतिरोध गर्नु र तिनको रक्षा गर्नु हो । माओवादी आन्दोलनका केही पात्रहरूमा आएको विचलन र पतनलाई आधार बनाएर सिङ्गो माओवादी आदर्शमाथि गरिएको आक्रमण पुँजीवादी र साम्राज्यवादीहरूको बृहत् योजनाबाट निर्देशित छ । प्रचण्ड–बाबुराम विचलित भएका हुन् तर उनीहरूले माओवादी जनयुद्ध र आन्दोलनबारे जस्ता खाले प्रचार (भारतले चलाएको, ‘रअ’ ले सघाएको भन्ने) चलाएका छन्, ती सत्य होइनन् । ती माओवादीको योगदान, बलिदान र संस्कृति जो जनताको बीचमा अति नै लोकप्रिय थिए, तिनलाई ध्वस्त पार्ने उद्देश्यसँग जोडिएका छन् । हाम्रा जनसंस्कृतिकर्मीहरूले त्यसको डटेर मुकाविला गर्नुपर्छ । हाम्रो आदर्शविरुद्ध विषालु हावा फैलाउने तत्वहरूका विरुद्ध जोडदार सङ्घर्ष सञ्चालन गर्नुपर्छ । उनीहरूको कालो नियतलाई उदङ्ग्याउनुपर्छ र उनीहरूको प्रभावबाट माओवादी दृष्टिकोण, संस्कृति र आदर्शको रक्षा गर्नुपर्छ ।

३) जनसंस्कृतिकर्मीहरूको तेस्रो जिम्मेवारी माओवादी आन्दोलनभित्रैबाट देखापरेको सांस्कृतिक आत्मसमर्पणवाद, विसर्जनवाद र पलायनवादका विरुद्ध सङ्घर्ष गर्नु र माओवादीको आदर्श र मूल्यको रक्षा गर्नु रहेको छ । आत्मसमर्पणवादी र पलायनवादीहरूले अब क्रान्ति सम्भव नभएको, कसैलाई पनि विश्वास गर्न नसकिने, नपाउँदासम्म हो, पाए सबै उस्तै हुन् भन्नेजस्ता हल्ला मच्चाइरहेका छन्, जो सत्य होइन । साँचो कुरा यो हो कि उनीहरूमा थकावट, विचलन र स्वार्थीपना पैदा भएको हो । त्यसलाई जनताको आँखाबाट जोगाउन उनीहरूले चलाखीपूर्ण प्रचार फैलाएका मात्र हुन् । केहीमा भने माओवादीभित्रको एउटा समूहको विचलनलाई देखेर इमानदारितापूर्वक लागिरहेको छ । आलोचनाबाट आलोचनामा घुम्ने प्रवृत्तिले आदर्श र मूल्यहरूको विसर्जन गर्छ । आशङ्काबाट पस्ने र आशङ्कामै निस्किने प्रवृत्तिले सिर्जना र समाधानको मार्ग बन्द गरिदिन्छ । हाम्रो संस्कृतिकर्मीहरूले यसखाले विसर्जनवादी, पलायनवादीहरूको कपटी प्रचारलाई चिर्नुपर्छ भने इमानदारीपूर्वक भ्रममा परेकालाई भ्रम मुक्त गर्न मिहिनेत गर्नुपर्छ ।

४) हाम्रा संस्कृतिकर्मीहरूको चौथो जिम्मेवारी सबै देशभक्त, वामपन्थी, क्रान्तिकारी संस्कृतिकर्मीहरूलाई एकतावद्ध र मोर्चावद्ध गर्नु हो । यो सबैले बुझेको सत्य हो कि नेपालमा सामन्तवाद, पुँजीवाद, साम्राज्यवादसँग सङ्घर्ष गर्दै आएका पाका पुराना र प्रतिष्ठित जनसंस्कृतिकर्मीहरू धेरै छन् । उनीहरूले गरेका दुःख, कष्ट र योगदानहरू निकै महत्वपूर्ण छन् । उनीहरूकै मिहिनेतबाट नेपालमा जनसांस्कृतिक आन्दोलन स्थापित भएर आएको हो । त्यस्तै, जनसांस्कृतिक आन्दोलनमा जनयुद्ध र अन्य क्रान्तिकारी आन्दोलनबाट हुर्किएका नयाँ प्रतिभा र पात्रहरू पनि विकास भएका छन् ।

पछिल्लो समयमा युवा संस्कृतिकर्मीहरूले राम्रो विकास र मिहिनेत पनि गरिरहेका छन् तर जनसांस्कृतिक योद्धाहरू जति सङ्गठित, एकतावद्ध र आशावादी हुनुपर्ने हो, त्यस पाटोमा अपूर्णता छ । कैयौँ पाका सांस्कृतिक योद्धाहरूमा असन्तुष्टि, निराशा, आशङ्का, बेचैनी बढेको देखिन्छ । हाम्रा योद्धाहरूले यो स्थितिलाई समाधान गर्न सबै पाका र नयाँ सांस्कृतिक योद्धहरूलाई सहयोग गर्ने, उत्साहित गर्ने र आफ्नो जीवन रहँदासम्म देश र जनताको पक्षमा उभिन र सङ्घर्ष गर्न प्रेरित गर्नुपर्छ ।

सबै बुझेको सच्चाइ हो कि कुनै पनि राजनीतिक सङ्घर्ष सपाट, सोझो, सरल हुँदैन । जति नै कोसिस गरे पनि यसले सफलता, असफलता, राम्रो र खराब, विजय र पराजय, विचलन र विकास भोग्नैपर्छ । सामान्यतः सबैको चाहना सकेसम्म देश र जनताले असफलता, पराजय, विचलन, खराब अवस्था भोग्नु नपरोस भन्ने हुन्छ । ती परिणामहरू आउँदा सबैमा निराशा, हैरानी र बेचैनी बढ्नु पनि स्वाभाविक हो तर नआउनुपर्ने स्थिति आएपछि त्यहीँबाट बिच्किएर कूमार्गमा भासिने कुरा आउँदैन र आउन दिनुहुँदैन । बरु समस्यालाई नयाँ योजना र विचारमा उठेर समाधान दिन अगाडि बढ्नुपर्छ । जस्तो कि हाम्रो देशमा दलाल पुँजीवाद आउनुहुँदैनथ्यो, देश भारतको नियन्त्रणभित्र पुग्ने स्थिति आउनुहुँदैनथ्यो, माओवादी नेताहरूमा विचलन र विकृति आउनुहुँदैनथ्यो, जनता अधिकारविहीन र उत्पीडित हुने स्थिति बन्नुहुँदैनथ्यो तर समस्या त आई नै हाल्यो ।

समस्या आएपछि यसबाट निराश भएर हिंड्नुहुँदैन । हामीले दलाल पुँजीवाद, भारतीय अतिक्रमण र आत्मसमर्पणवादका विरुद्ध सङ्घर्ष चलाएर विजय हासिल गर्नुपर्छ । जति नै कठिनाइ परे पनि हामीले हाम्रो देशलाई विदेशीहरूको उपनिवेशमा बदलिन दिनुहुँदैन । हामीले त्यसको समयमै प्रतिरोध सङ्घर्ष सञ्चालन गर्नुपर्छ । त्यसैगरी आत्मसमर्पणवाद र विसर्जनवादको विचलतिर जनतालाई जान दिनुहुँदैन, त्यसका विरुद्ध पनि सङ्घर्ष गर्नुपर्छ । यो कार्य सबैतिर र सबै मोर्चाबाट अगाडि बढाउनुपर्छ र सांस्कृतिक मोर्चाले पनि यो कार्य अझ बढी गर्नुपर्छ । यसको लागि जनसांस्कृतिक मोर्चाको जिम्मेवारी हो– सबै देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसंस्कृतिकर्मीहरूलाई एकतावद्ध र मोर्चावद्ध गर्नु ।

निष्कर्ष
प्रचण्ड–बाबुरामहरूमा विचलन आएपछि क्रान्ति र जनताले पराजय भोग्नुपरयो । देशमा दलाल पुँजीवादले सत्ता कब्जा गरयो । राजनीतिमा पराजय हुँदै गर्दा जनयुद्धको सांस्कृतिक आदर्श, मूल्य र संस्कृतिमा पनि भीषण हमला भयो । हुँदै नभएका विषालु प्रचार गरियो । यतिसम्म कि जनयुद्ध नै भारतले चलाएको थियो भन्ने बनाउन खोजिँदैछ । माओवादी आन्दोलनबाटै पैदा भएको विसर्जनवाद, आत्मसमर्पणवाद र पलायनवादले क्रान्तिप्रति वितृष्णा फैलाउँदै क्रान्ति सम्भव छैन भन्दै हिंडेको छ ।

यस्तो स्थितिमा देशलाई भारतीय हस्तक्षेपबाट मुक्त गर्ने, जनतालाई दलाल पुँजीवादी सत्ताबाट मुक्त गर्ने र जनताको बलिदानबाट निर्माण भएको जनयुद्धको आदर्शलाई बचाउने जिम्मेवारी क्रान्तिकारीहरूको काँधमा आएको छ । सांस्कृतिक मोर्चाको दृष्टिले यो जिम्मेवारी जनसंस्कृतिकर्मीहरूको काँधमा आएको छ । क्रान्तिका क्रममा भएका अनेकौँ गल्ती र कमीहरूलाई माओको भाषामा असफलताहरूलाई “गल्ती सही कुराको पूर्वगामी हुन्छ” भन्ने बनाउँदै जिम्मेवारी पुरा गर्न डट्नुपर्ने भएको छ । जसले इतिहासले सुम्पिएको जिम्मेवारीलाई निर्भयका साथ काँध थाप्छ, उसैले नै सुनौलो भविष्य निर्माण गर्न सक्छ ।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार