साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्ससहितले अर्को खाडी मुलुक कतारसँगको सम्बन्ध सकिएको घोषणा गरेका छन् ।

चारै देशले कतारसँगको कुटनीतिक सम्बन्धनका साथै जमिन, समुद्र र हवाईसम्बन्ध पनि सकिएको घोषणा गरेका हुन् । आतंकवादी र चरमपन्थी संगठनलाई समर्थन गरेको आरोप लगाउँदै कतारमाथि ती चार देशले यस्तो कदम चालेका हुन् ।
साउदी अरबले आफ्नो निर्णयको जानकारी दिँदै आफुलाई आतंकवाद र कट्टरपन्थबाट जोगाउनका लागि यो कदम उठाउनु जरुरी रहेको प्रतिक्रिया दिएको छ ।
‘हामीले आफ्नो देशको साम्राज्य बचाइराख्नका लागि यस्तो गम्भीर कदम चालेका हौँ’, साउदी अधिकारीले भनेका छन् ।
अर्कातिर बहराइनले पनि कतारको राजधानी दोहाबाट ४८ घन्टाभित्र आफ्नो राजनीतिक मिसनलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने कतारका सबै कुटनीतिज्ञलाई पनि बहराइन छाड्न भनेको छ ।
इजिप्टले कतारसँगको सबै हवाई सम्बन्ध बन्द गरेको घोषणा गरेको छ भने सबै बन्दरगाह बन्द गर्ने घोषणा गरेको छ । इजिप्टले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिँदै यस्तो कदम चालिएको उल्लेख गरेको छ ।
साउदी प्रेस एजेन्सीको समाचार अनुसार कतर लगातार नियमको उल्लंघन गरिरहेको छ। साथै उसले साउदीविरोधी शक्तिलाई बढावा दिने काम पनि कतारले गरेको अर्को आरोप लगाउँदै यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।
साउदी अरबले कतारमाथि मुस्लिम ब्रदरहुड र आतंकवादी संगठन आईएसआईएसलाई समर्थन गरेको आरोप पनि लगाएको छ । साउदीले आफूले यमनमा चरमपन्थीविरुद्ध लडिरहेको युद्धलाई पनि कतारका मिडिया नकारात्मक रुपमा लिएको अर्को आरोप पनि लगाएको छ ।
हालैमात्र इजिप्टले मुस्लिम ब्रदरहुडक समर्थन गरेको आरोपमा कयौँ समाचार वेबसाइट्समा प्रतिबन्ध लगाइसकेको छ ।







