नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

मंगलबार दिउँसो दोस्रो पटक बसेको व्यवस्थापिका स‌ंसदबाट १३ वर्षपछि देउवा नेपालको ४० औँ प्रधानमन्त्री बनेका हुन् । देउवाको पक्षमा आजको बैठकमा उपस्थित भएका ५५८ सा‌ंसदहरुमध्ये ३८८ जनाले प्रधानमन्त्रीका लागि मतदान गरेका थिए ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकमा एमालेले संसदमा अवरोध नगर्ने प्रतिबद्धता जनाएपछि देउवालाई आज प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दै आएको एमाले तथा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबार भएको सहमतिका आधारमा संसद खुलेको थियो ।

कांग्रेस सभापति तथा संसदीय दलका नेता देउवा झण्डै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवाविरुद्ध एमालेसहितका अन्य दलले उम्मेदवारी दर्ता नगराएपछि उनी सजिलै प्रधानमन्त्री भएका हुन् ।

देउवा गणतन्त्र आएपपछि १० औं प्रधानमन्त्री बनेका हुन् । चौथो कार्यकालका लागि प्रधानमन्त्री भएका देउवा बि.स. २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका थिए ।

अन्तिम पटक उनी तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा प्रधानमन्त्री भएका थिए। करिव १३ वर्षपछि देउवा पुनः प्रधानमन्त्री बनेका हुन् ।

को हुन् शेरबहादुर 

शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।

नेपाली कांग्रेसको बिभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति थिए | देउवाले यसअघि डडेलधुरा क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा चुनाव जितेका थिए ।

२०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका छन् ।

उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष पनि भए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि संघका प्रथम सभापति पनि हुन् ।

सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् उनी । राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए ।

उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनःप्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए ।

२०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भएपछि उनी वरिठ नेतामा भए। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार