क्यान्सर पीडित चार वर्षिया बालिका मनसरा लुहारको उपचारको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।
कालिकोटको रास्कोट नगरपालिका–७ की मनसरा लुहारको दाइने आँखाबाट पलाएको मासु क्यान्सरमा परिणत भएपछि उपचारका लागि काठमाडौ लगिएको छ ।

सोमबार काठमाडौं लगिएकी मनसरालाई मंगलबार बिहानै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उपचारमा लाग्ने सम्पूर्ण खर्च आफुले बेहोर्ने बताउँदै बालिका र उपचारमा सहयोगी गएका बुबा रने लुहारसहित आफन्त कालिबहादुर महतारालाई साथमा लगेको हो । नेकपाले मंगलबार बिहानै कलंकीमा पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण क्यान्सरबाट पीडित बालिकाको उपचारको जिम्मेवारी आफुले लिने बताएको थियो ।
पत्रकार सम्मेलनमा नेकपाका पोलिट ब्युरो सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज रहनुभएका भरत बम(रणवीर)ले पार्टीकै पहलमा काठमाडौं ल्याइएकोले अब उपचार पनि पार्टीकै पहलमा हुने बताउनुभएको थियो ।पत्रकार सम्मेलन लगतै वीर अस्पतालमा उपचारका लागि पु¥याइएपनि त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार नै टिचिङ अस्पताल महाराजगंजमा लगिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्रोतका अनुसार अहिले पोलिट ब्युरो सदस्य भरत बमकै संयोजकत्वमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ । पार्टीले पनि मनसराको उपचारका लागि सबैले सहयोग गर्न अनुरोध गरेको छ ।
यसअघि मनसराको आर्थिक अवस्था नाजुक रहेकोले उपचारमा सहयोगको अपिल सहितको समाचार प्रकाशन भएपछि काठमाडौंको करुणा फाउन्डेशनले उपचारको जिम्मेवारी लिने बताएको थियो । तर राजधानी पुग्नुअघि नै कलंकीबाट बालिकालाई भरत बमको नेतृत्वले पार्टीले उपचारमा सहयोग गर्ने भन्दै लगेपछि आफुहरुको सम्पर्कमा नआएको फाउन्डेशनका फाउन्डर दिपक सापकोटाले बताउनुभयो ।
‘हामीले उपचार गर्ने भनेका थियौं, कलंकीमा आउनेबेला सम्म कालिबहादुर महतारासँग सम्पर्क थियो,’ अन्नपूर्णसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘तर अहिले कसैसँग पनि सम्पर्क छैन । हामीलाई जानकारी प्राप्त भएसम्म उहाँहरु दिउसो उपचारका लागि वीर अस्पतालमा जानुभएछ र अहिले पुनः टिचिङमा नै ल्याएर उपचार गराउँदै हुनुहुन्छ ।’
सापकोटाले उपचार गर्ने जिम्मेवारी जसले लिएपनि बालिकाको ज्यान सकुसल बचाउनु मुख्य उद्देश्य हुने बताउनुभयो । ‘हाम्रो कसैसँग प्रतिस्पर्धा छैन, उपचार गर्ने थुप्रै बालबालिकाहरु छन्,’ उहाँले भन्नुभयो, ‘तरपनि उपचारमा आगामी दिनमा समस्या आइपरे हामी मनसराको लागि सहयोग गर्न जतिबेला पनि तत्पर छौं ।’
अहिले उपचारका लागि कालिकोटबाटै अभिभावकसँग गएका आफन्त कालिबहादुर महताराको मोबाइलमा फोन सम्पर्क हुँदैन । र उपचारको जिम्मेवारी लिएका नकेपाका पोलिटब्युरो सदस्य बमको पनि मोबाइल स्वीच अफ गरिएको छ ।
अन्नपूर्णबाट ।







