दार्जिलिङको राजभवनमा बिहीबार राज्य सरकारको ‘क्याबिनेट मिटिङ’ चलिहरेका बेला गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले नाराबाजी गरेपछि दार्जिलिङ दिनभर तनावग्रस्त हुन पुग्यो। सिंगो दार्जिलिङ आन्दोलित भइरहेका बेला मुख्यमन्त्री ममता वेनर्जीले पहिलोपटक त्यहीँ क्याबिनेट बैठक गर्ने निधो गरेकी थिइन्।

बैठक जारी रहेकै बेला मोर्चा कार्यकर्ताले मुख्यमन्त्री वेनर्जीविरुद्ध चर्का नारावाजी गरेपछि सुरक्षाकर्मीले केही दर्जन सेल अश्रुग्यास प्रहार गरेको दार्जिलिङका पत्रकार विमल राईले जानकारी दिए। आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीका दुईवटा जिपमा आगजनीका साथै सरकारी बस तोडफोड गरेका थिए। सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी आन्दोलनकारीलाई तितरबितर पारेका थिए।

सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै दार्जिलिङसहित, मिरिक, कालिम्पोङ, खरसाङलगायत क्षेत्रमा मोर्चा समर्थकले स्वस्फूर्त रूपमा व्यवसाय र सवारी आवागमन बन्द गरेका छन्। घटनाको विरोधमा कालिम्पोङमा मुख्यमन्त्री वेनर्जीको पुतला दहन गरिएको छ।

भिडन्तमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ। प्रगतिशील लेखक टीका भाइले आममानिसमा भाषाप्रतिको संवेदनशीलता र अलग गोर्खाल्यान्ड राज्यको तीव्र चाहनाका कारण पनि दार्जिलिङ आन्दोलित बनेको बताए।

त्यहाँका शिक्षामन्त्री पार्थ चटर्जीले दुई साताअघि राज्यका सबै स्कुलमा बंगला भाषा अनिवार्य पढ्नुपर्ने घोषणा गरेका थिए। यो निर्णयले बंगालमा हाल प्रचलित बंगला, अंग्रेजी, हिन्दी, नेपाली, उर्दु र गुरुमुखी भाषामध्ये कुनै तीनवटा भाषा रोज्न सकिने तर तेस्रो भाषाको रूपमा बंगला छान्नैपर्ने बाध्यता छ।

घोषणा सार्वजनिक भइनसक्दै १० लाख नेपालीभाषीको बसोबास केन्द्र दार्जिलिङमा यसको तीव्र विरोध सुरु भएको हो। गोर्खाल्यान्ड टेरेटोरियल एडमनिस्ट्रेसनका महासचिव तथा शिक्षा विभागका संयोजक रोशन गिरीले राज्य सरकारको निर्णयप्रति गोर्खा जनमुक्ति मोर्चाको आपत्ति रहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार