काठमाडौं/माओवादी केन्द्रका अध्यक्ष बर्बराइरहने रोग लागेको चर्चा सुरु भएकोे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताएपछि राजनीतिकवृत्तमा यस्तो चर्चा सुरु भएको हो ।
आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरेको नाटक पनि गरेका थिए ।
दाहालले भने, “अब कुनै पनि भूलभूलैयामा परेर छुट्टाछुट्टै बस्नु जरुरी छैन, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वमा रहनुभएका सबै कमरेडलाई म पार्टी एकतामा आउन आग्रह गर्दछु ।”

त्यसबखत स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु र दोस्रो चरणको निर्वाचन पनि नजिक आउनुले मुलुकमा संविधान कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको उल्लेख गर्दै उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा मानक तयार पारेको गफ लगाउन पनि छुटाएनन् ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन हुँदैन कि वा मुलुक अगाडि बढ्दैन कि भन्ने आशङ्का र चुनौतीका बीचबाट आफ्नो नेतृत्वको सरकारले सहजै रुपमा मुलुकलाई नयाँ दिशामा अगाडि बढाइएको बताउँदै “अब कोही कसैमा पनि दुविधा रहनु जरुरी छैन, किनकी मुलुक नयाँ लक्ष्यका साथ अगाडि बढेको छ” भन्दै संसदीय व्यवस्थाको मतियार भएको कुरालाई पनि सरासर ढाँटे ।
देशमा आर्थिक समृद्धिको एउटा आधार तयार भएको उल्लेख गर्दै उनले समाजवादको आधार तयार भएको, नेपाली जनतामा एउटा नयाँ आशाको सञ्चार भएको र परिवर्तन संस्थागत हुन सक्छ भन्ने आत्मविश्वास पैदा भएको धारणा व्यक्त गरे पनि देशको अवस्था त्यस्तो नभएकोले दाहालको नौटंकीरहेको कुरा सोही कार्यक्रममा उपस्थित एक नेताले हामीलाई बताएका थिए ।
अध्यक्ष दाहालले मधेस, पहाड र हिमाललाई जुटाउने सन्दर्भमा पनि नयाँ आधार तयार भएको बताउँदै सहिद, घाइते, बेपत्ता तथा आमजनताको त्याग र बलिदान खेर नजाने अवस्थामा आइपुगेको छ त भने त सहिद परिवार तथा घाइतेहरुको वर्तमान जीवनको बारेमा केही बताउन चाहेनन् ।
आफ्नो पार्टी मुलुकको एउटा केन्द्र बन्दैछ भन्ने अवस्था देखिएको र माओवादी आन्दोलन एकीकृत बन्ने, पुनः सङ्गठित हुने अवस्था तयार रहेको बताउँदै उनले एमाले अवसरवादीको पर्याय भएको र सो पार्टीभित्र रहेका इमानदार नेता तथा कार्यकर्तालाई पनि माओवादी केन्द्रमा समाहित भएर मुलुक निर्माणमा लाग्न आग्रह गरे ।
राजनीतिक, वैचारिक, दार्शनिक तथा सैद्धान्तिक रूपमा गम्भीर स्खलनको भासमा जाकिएका पुष्पकमल दाहालले माओवादीको कुरा गर्नु एक ‘महान् प्रहसन’ बाहेक केही होइन । उनी दलाल संसदीय व्यवस्थाका असली मतियार बनिसकेको कुरा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा, प्रवक्ता पम्फा भुसाललगायतको सहभागिता थियो ।







