व्यक्ति, समाज र राजनीति

‘पोलिटिक्स इज ए डर्टी गेम’, ‘अबुइइइ आइ डोन्ट लाइक पोलिटिक्स’, ‘ छ्या राजनीतिको कुरा नगर न यार’  मैले आजसम्मको पत्रकारिता जीवनमा सबैभन्दा धेर सुन्न पाइएको डायलग यही हो । हाम्रा धेर जसो युवाहरूका प्रतिक्रिया स्वरूप सुन्न पाउने ब्रान्डेड डायलग यही हो ।  एकातिर विध्वंशकारी राजनीतिले समाजलाई धुझा धुझा बनाइरहेको अवस्था छ। अर्कोतिर हाम्रै युवाहरू भने राजनीतिदेखि भागिरहेका छन् ।

यतिबेला ठ्याक्क मलाई हृदयचन्द्र सिंह प्रधानको ‘सोझा’ निबन्धको ताजा स्मरण भइरहेको छ। जब हामी चुप बस्छौँ अनि आफ्ना जिम्मेवारीदेखि भाग्छौँ। यसैले समाजमा हामीले एउटा सम्पेस छोडिरहेका छौँ। जुन स्पेसमा हाम्रै मौनताबाट उब्जेका दानवहरूले आफ्ना रासलीला देखाउने गर्छन् । समाज, राजनीति वा जुनै पनि क्षेत्र होस् जब चेतनाले आफ्नै मुख बन्द गरेर बस्छ तब त्यहाँ राक्षसको जन्म हुन्छ । जसले युगौसम्म मौन चेतनामाथि आफ्नो विध्वंशकारी राज गरिरहन्छ । यसैले सोच्नुहोस् सुरुको तीनवटा डायलक हाम्रा निम्ति कति खतरनाक छ?

समाज परिवर्तनशील छ । प्राकृतिक रूपले नै समय अनुसार समाजमा परिवर्तनहरू भइरहन्छ । यसैले परिवर्तनशील समाजमा सकारात्मक र नकारात्मक दुवै थरिका प्रभावहरू देखा पर्छन् । यही परिवर्तनशील समाजको धरातलमा नै राजनीति उभिएको छ । राजनीति समाजको आत्मा हो । यसैले राजनीतिले समाजको प्रत्येक गतिविधि र गतिशीलतालाई मार्ग निर्देशन गरेको छ । विश्वमा समाज विहीन राजनीति त होला तर राजनीति विहीन समाज छैन । आम मान्छेले स्वास फेर्नुदेखि सपना देख्नु समेतमा राजनीति विद्यमान छ। कारण हामी जुन समाजमा बाचेका छौँ त्यो समाजको सामाजिक चेतना र वातवरणले मान्छेको मन अनि मस्तिष्कमा गहिरो प्रभाव पारेको हुन्छ । यसैले मान्छेले देख्ने सपना अनि व्यक्तिगत इच्छाहरूमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा राजनीतिले प्रभाव पारेको हुन्छ ।

एउटा व्यक्तिले यदि हिंस्रक सपना देख्छ भने त्यो उनी बाँचेको समयको सामाजिक चेतनाको उपज हो । त्यस थरिका सामाजिक चेतना उनको समाजको हिंस्रक राजनीतिले नै विकास गरेको हुन्छ। जस्तै आतङ्कवाद । आतङ्कवादीहरू हिंसामा विश्वास राख्छन् । किनभने उनीहरूले विकास गरिरहेको राजनीति नै आतङ्ककारी छ । फलस्वरूप उनीहरूको सामाजिक चेतना नै हिंस्रक छ । यसैले एउटा सिङ्गो आतङ्कवादीले केवल हिंस्रक सपना मात्र देख्छ । मर्नु र मार्नु नै उनीहरूको उद्देश्य हुन्छ ।  यसै कारण, व्यक्तिको सपना र उद्देश्य उनी बाँचेको समाजको चेतना अनि राजनैतिक गतिशीलताले सृजना गर्छ । यदि कुनै पनि मानिसले आफूलाई राजनीतिदेखि अलग ठान्छ भने त्यो उनको मुर्खता मात्र हो । मानिस सामाजिक प्राणी भएको कारण आफू बाँचेको समाज अनि त्यो समाजलाई परिरहेको राजनैतिक प्रभावहरूबारे बुझ्नु जरुरी छ। व्यक्ति, समाज र राजनीतिबीचको आन्तरसम्बन्धको सारतत्व बुझुन् भन्नु नै यो पहिलो अनुच्छेदको आशय हो ।

 

मुर्ति र मौन समाज

सुरुकै पङ्क्तीमा भनिसकेको छु कि समाज परिवर्तनशील छ। तर यसै परिवर्तनशील समाजको धरातलमा रहेको हाम्रो राजनीतिमा भने किन परिवर्तन देखा पर्दैन त ?  हो म यहाँ दार्जिलिङ पहाडको राजनीति मूल्य र गतिविधिहरूबारे चर्चा गर्ने प्रयास गरिरहेको छु । अर्द्धशताब्दी लामो छ दार्जिलिङ पहाडको राजनैतिक इतिहास। यो हाल्फ सेन्चुरीमा अनेकौँ वैश्विक परिवर्तनहरू देखिसक्यौँ हामीले । पहिले आधुनिक उपकरणहरूको कल्पना समेत गर्नुसक्ने थिएनौँ । अहिले हात हातमै पृथ्वी बोकेर हिँडिरहेका छौँ हामी । तर हाम्रो राजनैतिक गतिविधि, मूल्य र सोचमा भने कुनै प्रकारको परिवर्तन आएन । यस्तो हुनुको प्रमुख कारण हो हामी हाम्रो सामाजिक जिम्मेवारीदेखि टाढा बस्नु ।

हामीले हाम्रो समाजलाई केलव जङ्गलबीचको हावाघर जस्तो मात्र ठानिरहेका छौँ । न त हामीसँग सामाजिक सङ्कल्प छ। न त हामीले आफ्नो राजनीतिक जिम्मेवारी नै बोध गरेका छौँ। राजनीतिक समाजको आत्मा त हो । तर हाम्रो समाजमा भने राजनीतिक प्रेतआत्मा विद्यमान छ । जसले केवल आम मान्छेलाई तर्साउने, दुख दिने, र थरिथरिका राजनैतिक रोगहरूले ग्रस्त बनाउने काम मात्र गरिरहेको छ । भन्नु नै हो भने हाम्रो राजनीति नै दुरदर्शी छैन । यसैले हाम्रो सामाजिक चेतना सीमितदर्शी भएको हो ।

यस्तो सीमितदर्शी समाजमा बाँचिरहेको कारण नै हामीले सपना पनि देख्न छोडिसकेका छौँ । सपना विहीन मान्छेहरू निष्क्रिय हुन्छन् । उनीहरूलाई समाजसँग कुनै प्रकारको सरोकार रहँदैन । सपना नै नभएपछि उनीहरूमा केही गर्छु भन्ने गतिशीलता हुँदैन । आज आएर दार्जिलिङको सामाजिक स्थिति पनि सोही अवस्थामा पुगेको छ । न त दार्जिलिङले अग्रगामी सोच राख्छ । न नै हिंस्रक राजनैतिक प्रतिकार नै गर्छ । हामी मान्छे त हौँ तर मुर्तिजस्तै भएका छौँ । हामी मुर्तिजस्तै मान्छेको मुर्ति झै मौन समाज बनेको छ। त्यो मौन समाजलाई जो कोहीले पनि आफ्नो स्वर्थपूर्तिका निम्ति प्रयोग त गर्छन् नै । यसैले अहिले दार्जिलिङ राक्षसी राजनेताहरूको खेलाउना भइरहेको छ। तर हामी प्रतिकार गर्दैनौँ। किन कि हामी मूर्ति हौँ । हाम्रो समाज मौन छ।

राजनीति कि सामाजिक दलाली

किन मुर्ति बन्यौँ हामी ? किन मौन छ हाम्रो समाज? ­तपाईँ आफैलाई यो प्रश्न सोध्नुहोस् । यसको उत्तर खोज्ने प्रयास गर्नुहोस् । हामी दार्जिलिङे हौँ । फेसनेबल छौँ । झ्याम-अप गर्छौँ । साथी-भाइसँग रमाइलो गर्नमा व्यस्त हुन्छौँ । दैनिक जस्तै रक्सी पसलमा अड्डा मार्छौँ । डाक्टर इन्जिनियरहरूको डिनर पार्टी लाइफ बेग्लै छ । आनन्दमय कफी मिट छँदैछ। कलेजको क्यान्टिन गफ उत्तिकै मिठो । रकिङ फ्रेसेस वेलकम छँदैछ । सप्पै सप्पैमा एडभान्स छौँ हामी । तर यी सप्पै सप्पै कुराहरूदेखि हामीले हाम्रो सामाजिक अनि राजनैतिक मूल्यलाई भने टाढा राखिरहेका छौँ । यस्तो फिल हुन्छ कि हाम्रा निम्ति समाज केही पनि होइन । राजनीति हाम्रो विषय होइन भन्ने सोचले नै आज हामी समाजदेखि टाढिँदै गइरहेका छौँ ।

कलेज सकेका युवाहरू कामको खोजीमा भौतारिरहेका छन् । नोकरी गर्नेहरू हुम टु आफिसमा व्यस्त छन् । अवकाश ग्रहण गर्नेहरू आफ्नै सामाजिक प्रतिष्ठाको होडमा छन् । साहित्य लेख्नेहरू आपासी गुटबाजीमा नै अल्झिरहेका छन् । सामाजिक कार्यकर्ताहरू प्रशासनिक बोझ उठाउनुमा नै मख्ख छन् । तर कसैले पनि बुझ्न चहाँदैनन् कि राक्षसी राजनीतिको कारण नै हाम्रो समाजमा यी तमाम विसङ्गतीहरू देखापरिरहेका छन् ।

राजनीति भनेको सामाजिक सिस्टम हो । जसको हातमा गतिशील समाजको लगाम हुन्छ। तर हामी भने १० प्रतिशत चाटुकार र स्वर्थी मानिसहरूको हातमा सारा सिस्टम सुम्पेर आफूलाई राजनैतिक जिम्मेवारीदेखि हटाइरहेका छौँ । राजनीति भनेको विमल गुरुङहरू, हर्कबहादुरहरू, आरबी राईहरूले मात्र गर्नुपर्छ भन्ने रूढिवादी सोचले ग्रस्त छौँ हामी । यसै रूढिवादी सोचले हामीलाई मुर्ति बनाएको हो ।

राजनीति भन्नसाथ तर्सिने प्रवृतीले हामीलाई राजनीतिबारे गम्भीरता साथ सोच्न नै दिँदैन। राजनीति भन्नसाथ हामी एउटा दल अनि झन्डा मात्र बुझ्छौँ । यो गलत सोच हो। सुरुमा पनि भनेको छु। राजनीति भनेको समाजको धरातलमा उभिएको तत्त्व हो । यो समाजको आत्मा हो । तर  झन्डा र दल कुनै पनि समाजको आत्मा बन्न सक्दैन । अझ दार्जिलिङको जस्तो १० प्रतिशत हुनेखानेहरूले ९० प्रतिशत हुँदा खानेहरूमाथि गरिरहेको गतिविधिलाई त पटक्कै राजनीति भन्न मिल्दैन। चाहे विमल गुरुङ होस् वा हर्कबहादुरहरू उनीहरूले केवल सामाजिक दलाली मात्र गरिरहेका छन् ।

हामी मुर्ति हौँ । हाम्रो समाज मौन छ। त्यसैले उनीहरूले आफ्नो सामाजिक दलालीलाई अझ सक्रिया र सशक्त बनिरहेका छन् । यही सामाजिक दलालीलाई नै हामीले राजनीतिको स्थान दिएका छौँ । उनीहरूले हाम्रा सामाजिक मौनताको फाइदा उठाउनुसम्म उठाइसके । हामी यसैलाई राजनीति ठानिरहेका छौँ । उनीहरूले हाम्रा मौनतामाथि टेकेर राजनीतिक मूल्यको हत्या गरिरहेका छन् । हामी उनीहरूलाई मौन समर्थन दिइरहेका छौँ । दार्जिलिङको अवस्थामा सचेत र अचेत दुवै दोषी छन् ।

अब निर्णय हाम्रो हातमा छ । यो समय राजनीतिको मुकदर्शक बन्न होइन । सामाजिक दलालीको हिंस्रक अनुहारलाई बहसको तहमा ल्याउने जिम्मेवारी आम दार्जिलिङेहरूको काँधमा छ । अब पहाडमा स्वतन्त्र रूपमा राजनैतिक चर्चाको थालनी हुनु जरुरी छ । राजनीति मेरो विषय होइन भन्दै १० प्रतिशत औसरवादीहरूको हातमा आफ्नो समाज दान नगरौँ ।  सोचौँ दार्जिलिङ यो निर्णायक मोड हो। अब हामीले आफैँभित्रका हिटलरहरूलाई चिन्न जरुरी छकिनकि जबसम्म हामी मौन बस्छौँ तबसम्म हामीले नै सामाजिक अनि राजनीतिक मूल्यको घाँटी रेटिरहेका हुनेछौँ ।

(लाली गुराँस पत्रिकाको  २२औँ अङ्क  २०१७-मा प्रकाशित लेख)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार