राजनीतिले पनि केही नेताहरुलाई कहाँ कहाँ पुर्याउदो रहेछ भन्ने कुरा पछिल्लो कांग्रेस–माओवादी केन्द्रको गठबन्धनलाई हेरे पुग्छ । हिजो जनयुद्धकालमा वर्गविरोधी रहेका यी दुई नेता आज निकै घनिष्ठ मित्र बन्न पुगेका छन् ।

मानिलिनुस् यी दुई पार्टी र नेताको गठबन्धन हेर्दा यी दुई पार्टी र नेता होइनन् बरु एउटै पार्टी र नेता हुन् भन्ने देखिएको छ । धेरैले माओवादी केन्द्र र कांग्रेसको अप्राकृतिक गठबन्धनलाई ‘माकांग्रेस’को नामाकरण समेत गरेका छन् । वास्तवमा कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन कसरी अप्राकृतिक हो भन्ने कुरा डा. ऋषिराज बरालद्धारा लिखित नेपाली जनयुद्ध नामक कितावको केही हरफ हेरे प्रष्ट हुन्छ ।
बरालले लामो फेहरिस्त तयार पादै जनयुद्धकालमा कांग्रेसले माओवादीलाई ‘आतंककारी’का नाममा कत्रो हत्या र दमनको कालो इतिहास तयार पार्यो भनेर सचित्र इतिहास लेखेका छन् । उनी लेख्छन् :
‘‘कांग्रेसका नेताकार्यकर्ताहरुले माओवादी पार्टीलाई आतंकवादी भन्दैआएका थिए । २०५८ मंसिर ११ गते देशव्यापी संकटकाल घोषणा गरेर कांग्रेसले त्यसै दिन सरकारमार्फत् आतंककारी तथा विध्वंशात्मक कार्य (नियन्त्रण तथा सजाय) अध्यादेश २०५८ जारी गर्यो र सरकारी स्तरबाटै माओवादीलाई आतंकवादी घोषणा गर्यो । त्यसका साथै कांग्रेस सरकारले माओवादीका अध्यक्ष प्रचण्डदेखि प्लाटुन कमाण्डरसम्मलाई समातेर ल्याउने, सुराकी दिने र हतियार बुझाउनेलाई पनि पुरस्कार दिने घोषणा गर्यो ।
तलको विवरणबाट संकटकाल र कांग्रेसी फासिवादी चत्रिर प्रष्ट हुन्छ :
१) गृहमन्त्रालयका अनुसार माओवादी अध्यक्ष प्रचण्ड, डा.बाबुराम भटट्राई र मोहन वैद्य किरणलाई पक्राउ गर्र्ने वा नियन्त्रणमा लिई जीवित वा मृत रुपमा सुरक्षाकर्मीहरुलाई बुझाउनेलाई पुरस्कार स्वरुप ५० लाख दिने घोषणा गरियो । सुराकी दिई पक्राउ परेमा सुराकीलाई सोको आधा रकम दिइने पनि स्पष्ट पारियो ।
२) यसैगरी पोष्टबहादुर बोगटी, नन्दकिशोर पुन, सीपी गजुरेल र निजहरुको स्तरको व्यक्तिलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिई जीवित वा मृतरुपमा सुरक्षाकर्मीहरुलाई बुझाउने व्यक्तिलाई रु. ३५ लाख दिइने घोषणा भयो । सुराकीलाई चाहिँ त्यसको आधा दिने स्पष्ट पारियो ।
३) केन्द्रीय कमिटीको कुनै पनि सदस्यलाई पक्राउ गर्ने वा नियन्त्रणमा लिने जीवित वा मृत रुपमा सुरक्षाकर्मीलाई बुझाउनेलाई रु.२५ लाख दिइने । अनि ती व्यक्तिबारे सुराक दिनेलाई चाहिँ सोको आधा रकम दिने ।
यति मात्र नभएर हतियार बरामद गराउने वा बुझाउनेहरुलाई पनि निम्नबमोजिमको पुरस्कार दिने घोषणा कांग्रेसी सरकारले गर्यो ।
१. जीपीएमजी ४० एमएम रकेटलन्चर ८१ एमएम मोर्टारका लागि रु. ४ लाख
२. एलएमजीका लागि रु. २ लाख
३. एसएलआरका लागि रु. १ लाख
४. ३०३ राइफल, एमएमजी लागि रु. २५ हजार
त्यतिबेलाको शेरबहादुर देउवा सरकारले अघि सारेको कुख्यात नारा ‘झोलाभरि टाउका ल्याऊ र झोलाभरि पैसा लैजाऊ’ यसै बेलादेखि चर्चामा आएको हो । कांग्रेसले माओवादी जनयुद्धलाई समाप्त पार्न सकेजति सबै उपायहरुको प्रयोग गर्यो । कांग्रेसले माओवादी जनयुद्धलाई समाप्त पार्न सकेजति सबै उपायहरुको प्रयोग गर्यो ।’’
त्यसरी माओवादी जनयुद्ध र यसका नेता कार्यकर्ताविरुद्ध कांग्रेस र त्यो बेलाको प्रधानमन्त्री बनेका शेर बहादुर देउवासँग आज माओवादी केन्द्रले बनाएको गठबन्धनको स्वरुप हेर्दा कुन क्रान्तिकारी नेता कार्यकर्ता र जनतालाई मान्य हुन सक्छ र !







