काठमाडौं/क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एक प्रेस वक्तव्य जारी गर्दै प्रचण्डद्वारा गरिएको एकताको आह्वानलाई खारेज गरिदिएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘केही दिनयता माओवादी केन्द्रको मूल नेतृत्वद्वारा पार्टी एकताका लागि आव्हान गरिएका समाचार आइरहेका छन् । यस प्रकारका समाचारबाट विभ्रम पैदा हुने भएकाले त्यसबारे पार्टी धारणा सार्वजनिक गर्न आवश्यक देखिएको छ । माओवादी केन्द्रको मूल नेतृत्वले नेपाली नयाँ जनवादी क्रान्ति, जनयुद्ध र साम्यवादको उदात्त आदर्शप्रति गम्भीर विश्वासघात र देशी तथा विदेशी वर्गदुश्मनहरुसित आत्मसमर्पण गरेकाले हामीले त्यसप्रकारको नेतृत्वका विरुद्ध विद्रोह तथा सम्बन्धविच्छेद गरी नयाँ पार्टी निर्माण गरेको कुरा प्रष्ट नै छ ।’
वक्तव्यमा भनिएको छ, ‘र, हाम्रो त्यो कदम सही नै थियो भन्ने कुरा अहिलसम्म आउँदा राम्रोसित प्रमाणित समेत भइसकेको छ । माओवादी केन्द्रको मूल नेतृत्वद्वारा बारम्बार गरिने यसप्रकारको एकताको आव्हान नेपालमा क्रान्तिकारी कम्युनिष्टहरुलाई ध्वस्त पार्नका निम्ति गरिएको वैदेशिक प्रतिक्रियावादद्वारा निर्देशित दक्षिणपन्थी संशोधनवादी षड्यन्त्रबाहेक अरु केही होइन भन्ने कुरा पनि अब छर्लङ्ग भइसकेको छ ।’
किरणले वक्तव्यमा थप भनेका छन्, ‘साथै, हामीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसित गरिने पार्टी एकतासम्बन्धी दृष्टिकोण पनि सार्वजनिक गर्दै आएका छौं र यसबारे पनि प्रष्ट हुन जरुरी छ । हाम्रो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवाद, वलप्रयोगको सिद्धान्त, वैज्ञानिक समाजवाद तथा साम्यवादलाई स्वीकार्ने, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले संशोधनवाद मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष गर्न तयार हुने र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, संविधान तथा व्यवस्थाको विरोध गर्ने सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गरी नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गर्न तयार छ । र, यस निम्ति आवश्यक छलफल तथा बहसको प्रक्रियालाई अगाडि बढाउन हामी सम्बन्धित सच्चा कम्युनिष्ट कमरेडहरुसित विशेष अनुरोध पनि गर्दछौं ।’







