नेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल अगाडि बढेसँगै भारतले यसमा सुरक्षा चासो पनि बढाएको छ।

दिल्लीमा नेपाल र चीन मामिला विज्ञहरूले चिनियाँ रेलमार्ग काठमाडौँसम्म आउने विषयलाई सहज लिएपनि त्यसलाई लुम्बिनीसम्म विस्तार गर्न दिल्लीको सुरक्षा चासोलाई सम्बोधन गरिनु पर्ने तर्क गरेका छन्।
दिल्लीस्थित सेन्टर फर चाइना एनलाइसिस एण्ड स्ट्राटेजीका अध्यक्ष जयदेव रान्देले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा भारत त्यति नकारात्मक नभएपनि काठमाडौं–लुम्बिनी जोड्दा भने भारतको सुरक्षा चासो बढ्ने बताए।
भारत सरकारको नेशनल सेक्युरिटी एडभाइजरी बोर्डको सदस्य रहिसकेका रान्दे दिल्लीका एक जना चीन मामिला विज्ञ मानिन्छन्। नेपालले चीनसँग वन वेल्ट वन रोड (ओबर) सम्झौतामा हस्ताक्षर गरेकोमा दिल्लीको ठूलो आपत्ती नभएको बताउँदै रान्देले भने, ‘तर आगामी दिनमा परियोजनागत रुपमा चीनसँग सम्झौता गर्दा भने भारतको सुरक्षा चासोलाई नेपालले ध्यान दिनुपर्छ।’
आफ्नो सीमा नजिकै चिनियाँ परियोजना सञ्चालन हुँदा भारतले त्यसलाई सुरक्षा चुनौतीका रुपमा लिने रान्देको भनाइ छ। ‘रेलमार्ग आएपछि चीनले सेना र एयरक्राफ्ट ल्याउन सक्छ– श्रीलंकामा पनडुब्बी ल्याएजस्तै, नेपालजस्तो सानो देशले चीनलाई रोक्न सक्दैन’, दिल्लीको सुरक्षा चासो खोल्दै रान्देले भने।
ओबर परियोजनाकै एउटा पक्षका रुपमा चीन–नेपाल–भारत आर्थिक करिडोर निर्माणबारे बेइजिङ र काठमाडौँबीच अनौपचारिक छलफल भइरहेको छ। तर भारतीय विज्ञहरू दिल्ली यसमा अनविज्ञ रहेको दाबी गर्छन्। दिल्लीका अर्का चीन विज्ञ जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक सरन सिंहले त्यस्तो त्रिपक्षीय करिडोरको विषयलाई दिल्लीले सहज रुपमा नलिएको बताए।
त्रिदेशीय करिडोर जनघनत्व भएका भारतका उत्तर प्रदेश र बिहार जस्ता राज्यमा चिनियाँ सामान बेच्न सिमित हुने र यसबाट चीनसँग भारतको ब्यापार घाटा झन् बढ्ने सरनको भनाइ छ। ‘ल्हासा–केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी निर्णय नेपाल आफैले गर्ने हो’, सरनले भने, ‘तर लुम्बिनी हुँदै भारतसम्म चिनियाँ रेलमार्ग जोड्ने विषयलाई अहिले दिल्लीले सहज ठानेको छैन।’
चीन मामिलाका अर्का विज्ञ एनके तीर्थले भने काठमाडौंसम्म आउने चिनियाँ रेलमार्गको विरोध भारतले सिधै गर्न नसक्ने जनाए।
‘कसरी र कोसँग सहकार्य गरेर आफ्नो देशको विकास गर्ने भन्ने कुरा नेपाल आफैले निर्णय गर्ने हो’, तीर्थले थपे, ‘तर काठमाडौंसम्म आउने चिनियाँ रेलमार्गबारे पनि दिल्ली सकारात्मक छैन, लुम्बिनीसम्म रेल जोड्ने विषयमा त झन् सुरक्षा चासो बढ्ने नै भयो।’
नेपालखबरबाट ।







