नेकपा एमालेका नेता बामदेव गौतमले नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था सफल हुन नसकेको बताएका छन् ।

आजभन्दा झण्डै चार सय वर्ष अगाडि बेलायतमा लागु गरिएको संसदीय व्यवस्था भारतमा हुबहु लागु गर्न खोज्दा असफल भएको भन्दै गौतमले नेपालमा पनि संसदीय व्यवस्था असफल भएको स्वीकार गरेका छन् ।

गौतमले अनलाइन खबर पत्रिकासँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

बाँकी उनका भनाईहरु :

संसारमा सबभन्दा पहिले प्रजातान्त्रिक शासन प्रणालीको उदय साम्राज्यवादी मुलुक संयुक्त अधिराज्य बृटेनमा १७ औं शताव्दीको मध्यमा भएको हो ।

त्यहाँ सबभन्दा पहिले राजतन्त्रलाई समाप्त गर्दै संसदीय व्यवस्थासहितको राष्ट्रपतीय शासन प्रणाली स्थापना भएको थियो । त्यसपछि फ्रान्समा १८ औं शताब्दीमा त्यस्तै भएको थियो । २०औं शताब्दीमा चीनमा पनि त्यस्तै भएको थियो । तर, सबै देशका राष्ट्रपतिहरुले प्रजातन्त्र समाप्त गरेर आफुलाई बादशाह घोषणा गर्दै राजतन्त्र पुनस्र्थापना गरे । बृटेनमा भने केही समय पहिले पुनस्र्थापित राजतन्त्रलाई समाप्त गरी संवैधानिक राजतन्त्र स्थापना भयो र करिब ३५० वर्षदेखि आजसम्म पनि त्यही व्यवस्था कायम छ ।

बृटेनको उपनिवेशबाट स्वतन्त्र भए पछि भारतले त्यही बृटेनको शासन प्रणाली अवलम्बन गर्‍यो । नेपालले संघीय लोकतन्त्रात्मक गणतन्त्रको स्थापनापछि पनि बृटेनकै त्यही पुरानो शासन प्रणाली अवलम्बन गरेको छ ।

बृटेनबाट विकसित भएको संसदीय प्रणाली बृटिश उपनिवेशबाट मूक्त भएका मुलुकहरु बाहेक नेपालले मात्र अवलम्बन गरेको छ । भूतपूर्व बृटिश उपनिवेशहरुमा संयुक्त राज्य अमेरिकाले भने संसदीय राजनीतिक प्रणालीमा धेरै विसंगति देखेर प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपतीय प्रणाली अवलम्बन गरेको छ । त्यो विसंगतिपूर्ण शासन प्रणाली अवलम्बन गरेको हुनाले नेपालले आजसम्म पनि राजनीतिक अस्थिरता, सामाजिक अराजकता र आर्थिक पछौटेपन बेहोर्न परिरहेको छ ।

अझ भन्नु पर्दछ- बेलायती संसदीय शासन प्रणाली नेपालमा आजसम्म सफल हुन सकेको छैन । त्यसैले नेपालले पनि यो शासन प्रणालीका सम्बन्धमा पुनः विचार गर्नै पर्ने अवस्था आइसकेको छ । समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली भएको व्यवस्थापिका संसद् र प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपतीय शासन प्रणालीलाई समन्वयात्मक ढंगमा अगाडि बढाउन सकिएन भने राष्ट्रलाई महा संकटबाट जोगाउन सकिने छैन ।

तर, अहिले नै यसलाई मैले छलफलको मुख्य विषय बनाउन चाहेको होइन, सन्दर्भवस उल्लेख गरेको मात्र हो ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार