युद्ध मैदानबाट बन्दी साथीलाई चिट्ठी
सम्पूर्ण बन्दी साथीहरू
क्रान्तिकारी न्यानो अभिवादन !
विगत १० महिना अगाडिदेखि मेरा हातमा बाँधिएका फलामे सिक्रीलाई कार्तिक १५ गते राति १ः३० बजे चुँडाल्न सफल भएँ । हमेशा राइफलको पहरा र नियन्त्रण जीवनबाट मुक्त भएर काठमाडौंको व्यस्त सहरमा अन्धकारमा नै विलय भएर खुला आकाशमुनि श्वास फेर्न सफल भएँ । केही समयसम्म काठमाडौंको गल्ली चोक चोकमा भुस्याहा कुकुर सरह रहेको गस्ती प्रहरीसँग लुकामारी पछि तुलनात्मक रुपमा केही सुरक्षित स्थानमा पुगेर एउटा झाडीको आश्रय लिएर बसें । त्यहाँ एकचोटि काठमाडौं शहरको सडकलाई नियालें । चारैतिर युद्धस्तरमा भेनहरू मेरै दायाँ बायाँ भएर दौडिरहेका थिए । म अझ झाडीमा लपक्कै भएर सुतें ।
पुनः खुल्ला आकाशलाई नियालें । ताराहरूले मेरो अभिवादन गरिरहेका थिए । ताराको चमकसँगसँगै मेरो शरीर पनि कता कता रनक्क तात्न पुगेछ । थाहै नपाई मैले त दुवै हातलाई मुठ्ठी पारेर उठाएँछु । फेरि यथास्थितिमा आएँ । केही समय त्यहीं बसेर दुश्मनको चहल पहलको मूल्याङ्कन गरें । तर मेरो लागि निष्टकारी सिद्ध बन्ने भोलि बिहानको उज्यालो नजिकै थियो । त्यसैले भएभरको सीप र बुद्धि बचाउको निम्ति लगाएर सुरक्षित बन्न सफल भएँ ।
साथीहरू हामीले यो सम्भावनाको कल्पना समेत गरेका थिएनौं । शायद यस्तो थाहा हुन्थ्यो भने म छुट्ने बेलामा सम्पूर्ण साथीहरूसँग बिदा हुने थिएँ । तपार्इहरूले पनि अर्कै उचाइमा बिदाइ गर्नुहुन्थ्यो होला । बिडम्वना ∕ हिंड्ने बेलामा थोरै साथीहरूसँग मात्र हात मिलाउन पाएँ, त्यो पनि अत्यन्तै तनाव र हतारको स्थितिमा । मेरो मनभित्र अनेक खालका सम्भाव्यताको खोजी भएका छालहरू उत्पन्न हुन्थे, फेरि पानीको फोका झैं फुट्ने गर्दथे, केवल स्वप्नका सुखद अनुभूति सिवाय अरु बन्न सक्दैनथे । तर क्रान्तिकारीहरू जहिले पनि आशावादी रहेका हुन्छन् । असम्भव र नसक्ने भन्ने कुरा दुनियामा केही हुँदैन । तसर्थ निरन्तर प्रयत्न पछि जस्तोसुकै अप्ठ्यारो कामलाई पनि सजिलैसँग फत्ते गर्न सकिन्छ भन्ने कुरामा हमेशा सचेत र स्पष्ट थिएँ । यही स्पष्ट बुझाइको कारण र नेपाली जनता र पार्टीप्रतीको असीम प्रेम र आशक्तिको परिणाम स्वरुप यो सफलतालाई चुम्न सकेको हुँ जस्तो लाग्छ ।
निश्चय नै जेल, नेल, यातनामय जीवन सजिलो हुँदैन । हमेशा क्रन्दनमय, त्रासदीपूर्ण अवस्थाबाट गुज्रिरहेको हुन्छ । तर एउटा क्रान्तिकारीमाथिको यो फाशिष्ट सत्ताको सबैखाले दमन र यातनाका अश्त्रहरू निस्फल सावित भएका छन् । महान सच्चाइलाई आत्मसात गरेर देश र दुनियाको मुक्तिको निम्ति समार्पित व्यक्तिलाई कठिन पीडा र हिनताबोधको अनुभूति कहिल्यै हुने गर्दैन । बरु ऊ हमेशा आफूलाई आत्मसम्मान र आत्मगौरव भएको अनुभूति गर्दछ ।
जेल जीवन वर्ग संघर्षको एउटा जारी रुप हो, क्रान्तिको एउटा मोर्चा वा किल्ला हो । प्रतिक्रियावादी मूर्ख पाखण्डीहरूले जेलमा कोचेर कयौं शारीरिक र मानसिक यातना दिएर हामीहरूको वैचारिक प्रतिबद्धतालाई नष्ट पार्ने हर्कत गरेका हुन्छन् । हत्या, दमन, आतङ्क, बलात्कार, लुटपाट जस्ता कुरुप वारदातद्वारा आफ्नो खुनी सत्तालाई टिकाइ राख्ने दिवास्वप्न देखेका हुन्छन् । तर फाशिष्ट र नदिरशाही दमनले दिग्विजय हासिल गरेको इतिहासमा कतै भेटाउन सकिंदैन । बरु अन्यायको बिरुद्ध न्यायपूर्ण युद्ध लड्नेहरूले एक पछि अर्काे विजय हासिल गर्दै आएको इतिहासमा सर्वत्र ताजै छ ।
महान जनयुद्ध शुरुवात भएको करीब ३ वर्षको समयावभित्रमा कयौं नेपाली आमाको महान होनहार सन्तानको हत्या भएको छ भने नेपालका कारागारहरूमा हजारौंले पाशविक यातना व्यहोरिरहनुभएको छ । राजनैतिक पार्टी र सङ्गठनको नेता, कार्यकर्ताहरू सङ्गठन गर्दा गर्दै जेलमा कोचिएका छन् । शिक्षक, विद्यार्थी स्कूल जाँदा जाँदै पक्राउ परेका छन्, महिलाहरू बाटो हिंड्दा हिंड्दै बलात्कृत हुन्छन् कि जेल कोचिन्छन् थाहा हुँदैन ।
वकिल कोट र व्यागसहित अदालतको परिसरबाटै पक्राउ पर्छन्, मजदुर कारखानामा काम गर्दा गर्दै पक्राउ परेका छन्, किसान खेतमा काम गर्दा गर्दै या त गोली खाएका छन् या त कोदालीसँगै पक्राउ परेका छन् । यहाँसम्म कि पत्रकार, मानव अधिकारवादीहरूलाई समेत पक्राउ गर्ने र हत्या गर्ने क्रम जारी छ । पक्राउ गरेर अङ्ग–भङ्ग गर्ने र हिरासतबाटै बेपत्ता पार्ने, मार्ने जस्ता घटना हाल आएर सामान्य भएका छन् । यो क्रम बढेर अहिले जेलभित्र पनि कुट्ने, पिट्ने र मार्ने कामको शुरुवात भएको छ । जब कि सिङ्गो मुलुक नै बन्दीगृहमा परिणत भएको बेला कल्पना गरौं कि साँच्चिकै बन्दीगृह कस्तो होला ?
प्रिय साथीहरू, यी सबै खालका पीडालाई आज तपार्इहरूले सहजतापूर्वक प्रतिकार गरेर प्रतिक्रियावादी यातनामय कारागारहरूलाई क्रान्तिको पाठशालाको रुपमा संघर्षको ट्रेञ्चको रुपमा बदल्दै हुनुहुन्छ । क्रान्तिकारी योद्धाको हैसियतले इतिहासले सुम्पेको दायित्व इमान्दारीपूर्वक निर्वाह गरिरहनुभएको छ । क्रान्तिकारीहरूको भेट युद्धको मोर्चामा हुने गर्दछ । त्यसैले त आज हामीहरूको भेट या त कारागारमा या त युद्धको मोर्चामा हुने गरेको छ । त्यसैले छोटै अवधिमा पनि मैले देशको एकसरो युद्धबन्दीहरूसँग भेट्ने अवसर पाएँ । अझ केही समय बसेका भए शायद अरु धेरै साथीहरूसँग भेट्ने अवसर पाइन्थ्यो होला । आखिर प्रतिक्रियावादी सत्ताले तपाइ“ हामीलाई आतङ्कित पार्न क्षणक्षणमा त्रासदीपूर्ण ढङ्गले जेल सरुवा गर्दा पनि हामीलाई फाइदा नै हुँदो रहेछ जसले देशभरिका जेलका अनुभवलाई विनिमय गर्न पाएका छौं ।
साथीहरू !
मैले तपार्इहरूको हातको फलामे सिक्रीलाई संयुक्त रुपमा चुँडाल्न नसके पनि आफ्नै मात्र भए पनि यो फाशिष्ट सत्तालाई पुनः अर्काे धक्का खुवाएको छु ।
यतिखेर म तपार्इहरूसँग छैन, वर्गदुश्मनको कब्जामा छैन, खुल्ला आकाशमुनि छु । मैले पुनः जनताको न्यानो आश्रय र ममता पाएको छु । तर मेरो आँखा वरिपरि तपार्इ जेलभित्रकै साथीहरूको याद आइरहेको छ ।
साथीहरू ∕ हतियार र मनोवल नै प्रधान हो भन्ने कुरालाई व्यावहारद्वारा प्रमाणित गरेको छु । सामान्यतः योजना सफल पार्न उपयुक्त वातावरण हुनुपर्दछ । फेरि त्यसमा पनि साहस विवेक भएन भने परिस्थितिलाई आफ्नो पहलमा पाउन सकिन्न । ठोस परिस्थितिको ठोस विश्लेषण नगरी हचुवाको भरमा गरिएको विद्रँेह असफलतामा टुङ्गिने गर्दछ । फेरि दुस्साहस हुने डरले परिस्थितिलाई आफ्नो पहलमा लिने र सोही अनुसार साहस गर्ने कोशिष नगर्नु पनि कायरता सिवाय केही हुन सक्दैन । वास्तवमा एउटा असल क्रान्तिकारीको जीवन भनेको आँधीवेहरी र जोखिमपूर्ण जीवन हो । उसको वरिपरि हरपल मृत्युले जिस्क्याइरहकेको हुन्छ । तसर्थ जसले मृत्युलाई परास्त गर्न सक्दैन, उसले वास्तवमा कुनेै युद्ध लड्न पनि सक्दैन ।
साथीहरू !
म करीब एक महिनाको अन्तरालपछि आश्चर्यजनक ढङ्गले दुश्मनको कब्जाबाट मुक्त हुन सफल भएको छ । यस अवधिभर उनीहरूको काखमा बसेर उनीहरूकै गला रेट्ने काममा तपाइ“हरूबाट जे जति अनुभव आर्जन गर्न सफल भएँ ती हरेक अगामी मेरा पाइलाहरूका लागि र पार्टी र क्रान्तिका लागि कामयावी हुने विश्वास लिएको छु । तिनै अनुभवलाई सङ्गाल्दै पुनः म नेपाली श्रमजीवी वर्ग (जहाँ शोषण, अन्याय, अत्याचारको बिरुद्ध घनिभूत वर्गयुद्ध चलिरहेको छ) को झोपडीमा न्यायको दियो सल्काउन पुगेको छु । मैले पुनः १० महिनापछि वर्गयुद्ध लड्दै आउनु भएका सहयोद्धा कमरेडहरूसँग दरिला हात मिलाउन पाएको छु । महान शहीदहरूको दलानमा कुल्चन पाएको छु ।
उहाँहरूको महान परिवारलाई सम्मान गर्न पाएको छु । अस्मिता लुटिएका छिया–छिया भएको विदीर्ण आत्मालाई आक्रोशित पारेर युद्धमा होमिएका बहिनीहरूलाई भेटेको छु । आफ्नो जीवनसङ्गीनीलाई वर्गवैरीहरूले आफ्नै आँखा अगाडि विभत्स हत्या गर्दा पनि कति पनि विचलित नभइकन बदलाभावले अभिप्रेरित भएर लडेका बन्दुक र झोलालाई आफ्नो काँधमा थमाएर लडाइ“मा हिंडेका भाउजू र दाजुलाई भेट्ने सौभाग्य पाएको छु । आफ्ना भुटुका धड्कन प्यारा छोरा छोरीहरूलाई राक्षसहरूले हत्या गरेर बेसहारा भएकी बुढी आमाको आँशु पुछ्ने अवसर पाएको छु ।
साथीहरू ! यो दश महिनाको बीचमा प्रतिक्रियावादी खुनी सत्ताले मेरा प्यारा प्यारा थुप्रै सहयोद्धाहरूलाई निलिसकेका रहेछन् । उहाँहरूलाई कतै भेट्टाउन सकिन । जताततै रगत नै रगतको टाटा र भलहरू मात्र भेटिरहेको छु । कतै खोलामा , कतै बगरमा, कतै जङ्गलको बीचमा मेरा ती प्यारा कमरेडहरूको हाडखोरको अवशेष भेट्टाइरहेको छु । कयौं चेलीबेटीको निर्वस्त्र शव फेला पारेको छु । यी सम्पूर्ण दृश्यले निश्चय नै मेरो काँधमा अर्काे जिम्मेवारी थपिदिएको बोध भएको छ । ती महान अमर शहीदहरूको अधुरो सदीक्षा पूरा गराउन म एक मुठ्ठी प्रँण रहुञ्जेल अनवरत वर्गयुद्धमा लडिरहने छु ।
प्रिय साथीहरू ∕ म वृत्तान्त पार्टीलाई खवर गर्नेछु , त्यहाँका नरपिचासहरले तपाइ“हरूलाई गरेको दुव्र्यवहारको बारेमा त्यहाँ पाशविक यातना र दमनको बारेमा, त्यहाँको फाश्ष्टि राजको बारेमा म नबिराई भन्नेछु । भद्रगोल जेलमा मेरा प्यारा साथीहरूले दिनहु“ कुटिनु परेको कथा, सर्लाही जेलमा मेरो प्यारो साथीको करङ् भाँचेको कथा, भैरहवा जेलमा मेरा प्यारा साथीहरूले खपेको यातनाको कथा, जनना जेलमा महिला साथीहरूमाथि भएको दुव्र्यवहारको कथा, वीरगञ्ज जेलमा मेरा प्यारा साथीहरूले हातमा इट्टा बोकेर आत्तिंदै बसेको कथाप, सम्पूर्ण जेलहरूमा हामीहरूमाथि भएको दुव्र्यवहार, अमानुसिक यातनाको कथा … ।
मैले राम्ररी हेक्का राखको छु ती फाशिष्ट दलालहरूको नाम, थर, वतन अनि हुलिया । म विल्कुल पार्टीलाई रिपोर्ट बुझाउन भुल्ने छैन । बरु अलिकति पनि विवेक र दुरदर्शिता नभएका ए रक्तपिपासुहरू ∕ तिमीहरूले बुझिराखे हुन्छ नेपाली आमाका ती वीर योद्धाहरू देश र दुनियाको मुक्तिको निम्ति कष्टकर जेल जीवन व्यहोरिरहेका छन् । तिनलाई तिमीहरूले जिस्क्याउने हिम्मत नगरे हुन्छ । तिमीहरूको तीनपुस्ते नाम जनताको लाल सिपाहीहरूको डायरीमा चढिसकेको छ । राजबन्दी जेलमा केही समय अल्पमतमा पर्न सक्छन् तर उनका पछाडि सिङ्गो सर्वहारा वर्गको मुक्तिको निम्ति बनेको पार्टी छ भनेर बुझी राखे हुन्छ ।
अन्त्यमा, प्रतिक्रियावादी सत्ताका हरपलका षडयन्त्र र दमनलाई परास्त गर्दै माक्र्सवादी–लेनिनवादी–माओवादी सर्वशक्तिमान सिद्धान्तप्रति दृढ रहँदै नेपाली क्रान्तिको विकासको सापेक्षतामा आफूलाई रुपान्तरण गराउँदै बलिदानको हदसम्म पनि जेलको मोर्चाबाट लडिरहनुहुनेछ भन्ने शुभेच्छासहित बिदा चाहन्छु ।
– रीतबहादुर खड्का ‘प्रताप’
१५ मंसिर २०५५ को जनादेशबाट







