फिदिम– चार लिम्बुवान पार्टीले आगामी असार १४ गते तय गरिएको स्थानीय तहको निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने घोषणा गरेका छन्  ।

संघीय लिम्बुवान पार्टी, संघीय लिम्बुवान मञ्च, लिम्बुवान मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी यथास्थितिमा निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष सुवास खापुङ र लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टीका अध्यक्ष मिसेकहाङ थाम्सुहाङले संयुक्त विज्ञप्ति जारी गरी संघीय गठबन्धनको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् ।

राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले गरेको आन्दोलनलाई पूर्ण रुपमा साथ दिने भन्दै सोही आन्दोलनको कार्यक्रमसमेत चार लिम्बुवान पार्टीले सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रमअनुसार जेठ ३० देखि २ गतेसम्म मधेस तथा लिम्बुवान क्षेत्रमा आमहड्ताल, असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन, असार ६ देखि १४ गतेसम्म निर्वाचनका गतिविधिमा अवरोध गर्ने, असार ९ गते मसाल जुलुस निकाल्ने तथा असार १० देखि अनिश्चितकालीन आमहड्ताल रहेका छन् ।

लिम्बुवानजन्य सबै दलहरु निर्वाचन प्रक्रियामा अहिलेसम्म सहभागी भएको छैन । पछिल्लो पटक लिम्बुवान आन्दोलनले उचाई लिएपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन संघीय लिम्बुवान राज्य परिषदले सहभागिता जनाएका थिएनन् । रविन्द्र काफ्लेबाट

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार