भ्रस्टाचारले माओवादी  केन्द्र खत्तम भयो । हामी त्यहाँबाट विद्रोहगरि नयाँ ठाउँमा आएका छौं । जति क्रान्तिकारी भनिए पनि विचारमा पलायन भयो भने भ्रस्टाचारी हुँदोरहेछ । त्यसैले नै सबैलाई सिध्याउँदो रहेछ । सही तरिकाले परिचालन गरयो भने त्यो अर्थतन्त्र समाजवादी अर्थतन्त्र बन्दछ भने त्यही पैसा व्यक्तिगत प्रयोजनका लागि उपयोग गरियो भने त्यही अर्थतन्त्र कम्युनिस्ट सिध्यााउने साधन बन्न जाँदो रहेछ । रुसमा १४ वटा गणराज्य मिलेर सोभयत संघ बनेको थियो र कम्युनिस्टहरुले सत्ता कब्जा गरेका थिए । रुसत्यतीबेला विश्वकै सबभन्दा ठूलो देश थियो । उनीहरुले विश्वको ६ भागको एक भाग जित्यौं भनेका थिए ।
कम्युनिस्टहरुले दोश्रो विश्वयुद्धमा पूर्वी युरोप पूरै जितेका थिए । हिटलर पूरै विश्व जित्ने भनेर आएको थियो । उसको उद्धेश्य सोभियत संघका कम्युनिस्ट र यहुदीहरुलाई खत्तम गर्ने रहेको थियो । जर्मनमा उ नाजीवादी भनेर जातीय नारा दिएर उदय भएको थियो । उ ज्यादै फासिवादी थियो र उसलाई नाजीवादी पनि भन्दछन् । यसरी विश्व नै जित्ने भनेर लागेको मान्छेलाई स्टालिनले धुलो चटाइदिनुभयो । अन्तिममा स्टालिनकै कारणले हिटलरले आत्महत्या गरेर मरयो ।
स्टालिनहरुले हिटलरहरुलाई लखेटेर पूर्वी जर्मनसम्म पुरयाएका थिए । त्यसपछि बुल्गेरिया, हंगेरी, चेकोस्लाभाकिया र युगोस्लाभिया लगाएतका देशहरु मुक्त भएका थिए । मंगोलीयामा त्यसभन्दा अगाडि नै समाजवाद आइसकेको थियो । दोश्रो विश्वयुद्ध समाप्त भएसँगै सन् १९४९ मा चीनपनि मुक्त भएको थियो ।
लाओससम्म जाँदा १५,१६ वटा देशहरु जनसंख्याको हिसाबले झण्डै विश्वको आधा जनसंख्या जति नै मुक्त भएका थिए । त्यसरी कम्युनिस्टहरुले सत्ता कब्जा गरेका थिए । त्यहीबीचमा एउटा घटना घट्यो । रुमानियाका चाउ चेस्कु भनिने जो कम्युनिस्ट थिए । तीनलाई जनताले झुण्ड्याएर मारे । त्यसको कारण के थियो भने उनले श्रीमती, सालीलगायत धेरै इस्टमित्रहरुलाई मन्त्री बनाएर भ्रष्टाचार गरेका थिए ।
हामीले इतिहास पनि हेर्नुपर्दछ । रुषमा खु्रश्चेवले विस्तारै भ्रष्टाचार गर्दै गयो । ब्रेजनेभ र गोर्भाचोवहरुलेपनि यस्तै गर्दै गए । त्यसपछि बोरिस एल्तसिन त पूँजीवादी नै भएर निस्किए । त्यसकारण आज भ्लादिमिर पुटिन भन्दैछन् की सोभियत संघ विघटन हुनु ठूलो दुर्भाग्य थियो । सोभियत संघ विघटन भएपछि उनीहरुले आफूलाई कमजोर महशुस गर्दैछन् ।
सन १९७६ सम्म माओको पालासम्म त हामीले क्रान्ति जित्यौं । भियतनामले सन १९७५ मा अमेरिकालाई हरायो । एक वर्षपछि माओको मृत्यु भयो तर त्यहीबेलामै उठेका कैयौं क्रान्तिहरु असफल भए । किन त्यसो भयो त ? हामीले दर्जनौ देशमा क्रान्ति उठायौं चिलीमा जित्यौं पनि तर त्यहाँका राष्ट्रपतिलाई अमेरिकाको आदेशमा आफ्नै सुरक्षामा बसेका सेनाहरुले हत्या गरे । इन्डोनेसियामा पनि कम्युनिष्टहरुको संसारकै ठूलो पार्टी बनेको थियो । त्यो पार्टीका प्रमुखले माओको जन्मदिनमा ‘कमरेड माओ हामीले संसारमा सबभन्दा ठूलो पार्टी बनाएका छौँ’ भनेका थिए । माओले बधाइ दिनुभएछ र ‘उकालो चढ्ने पार्टी पार्टी बनाउनुभएको छ कि छैन त’ ? प्रश्न गर्नुभएछ ।
इण्डोनेसिया ती पार्टी प्रमुखले अचम्म मानेछन् किनकि उनीहरुले उकालो चढ्ने नभएर चुनाव जित्ने योजनाको पार्टी बनेका थिए । त्यसपछि चिली, निकारागुवा, टर्की, फिलिपिन्समापनि ठूलठूला लडाडँहरु भए । ठूलठूला क्रान्तिहरु अगाडि बढे । भारतमा सन १९७६ ताका नै क्रान्ति उठेको थियो । त्यो पनि सकियो । बर्मामा विद्रोह उठेको थियो त्यो पनि खतम भएर गयो ।
श्रीलंकामा पनि उनीहरु कम्युनिष्ट नै थिए । तमिलहरु (प्रभाकरणहरु) पनि अन्तिममा सिद्धिए । वैज्ञानिक सिद्धान्त हुँदाहुँदै पनि ती देशहरुमा लडाई किन हारयौं त ? विजयको सन्निकट पुगेका बेला पनि किन पराजय व्यहोर्नुपरयो ? रुस सन १९२६ देखि १९५३ सम्म स्टालिनको पालामा सत्ता २६ वर्ष चल्यो । त्यसपछि किन टिकाउन सकेनौं ? कम्युनिष्ट पार्टीभित्रैबाट किन गलत तत्वहरु आए ? कम्युनिष्ट पार्टीभित्र खु्रश्चेभहरु कसरी पैदा भए ? सर्वहारावर्गको पार्टीभित्र बुर्जुवा किन पैदा भयो ? माओको पार्टीभित्र लिन प्यायोहरु कसरी पैदा भए ?
खु्रश्चेभ र लिन प्यायो फरक फरक तरिकाले आएका थिए । शुरुमा लिन प्याओले माओको धेरै प्रशंसा गरेको थियो । नवौं महाअधिवेशनद्धारा उ माओपछिको उत्तराधिकारी घोषणा गरिएको थियो । उ जनमुक्ती सेनाको कमाण्डर पनि थियो तर सेनाको कमाण्डरले नै किन त्यत्रो गद्धारी गरयो ? त्यतिबेला उसले माओलाई कमरेड माओ तपाई अब एउटा पार्टीको अध्यक्ष मात्रै होइन, राष्ट्राध्यक्ष नै बन्नुपर्छ भनेको थियो । बाहिरतिर अरुहरुसित पनि भनेको रहेछ । ‘कमरेड माआे, अरुले बोलेको हजार वाक्य बराबर तपाईले बोलेको एक वाक्य हुन्छ’ भनेको रहेछ । ‘दुनियाँमा प्रतिभाहरु १०० वर्षपछि एकजना जन्मन्छन् तर चीनमा १००० वर्षपछिमा त्र कमरेड माओ जन्मनु भा’छ’ भनेर भनेको रहेछ । यस्ता कुरा गर्न थाल्यो तर माओले ‘कमरेड लिन प्याओ तपाई बौलाउनुभयो भनेर जवाफ दिनुभयो ।
त्यस्तो कुरा हुन सक्दैन भन्दै माओले आफू राष्ट्राध्यक्ष हुन नसक्ने बताउनुभयो । उहाँले प्रस्ट भन्दिनुभयो कि ‘म सय वर्षपछि जन्मेको प्रतिभा हुँ र अरुले हजार वाक्य बोलेको बराबर म एक वाक्य बोलेका हुन्छ भने छ पटक भन्छु, म राष्ट्राध्यक्ष हुन्न’ । यो भनेको ६०,००० वाक्य हो । मैले त ६०००० पटक भन्दापनि हुन्न भने त त्यो वाक्य नै शून्य भयो । त्यसकारण लिन प्याओको भनाइ नै गलत थियो । एउटा कम्युनिष्ट पार्टीको नेता जनताभन्दा एक स्टेप मात्र माथि हुन्छ तर यति धेरै अगाडि हुँदैन । अर्को कुरा दुनियाँमा नयाँ प्रतिभाहरु एक शताब्दीपछि मात्र जन्मन्छन् भन्नु बेठीक छ भन्नुभयो । कम्युनिष्ट आन्दोलनकै कुरा गर्दा पनि कार्ल माक्र्स सन १८१८ मा जन्मनु भएको हो ।
उहाँ होनहार प्रतिभा हो । १८३० मा एगेंल्स जन्मनुभएको थियो । त्यही शताब्दीको सन १८७० मा लेनिन जन्मनुभएको थियो । स्टालिन र माओ त्यही शताब्दीमा जन्मनुभएको हो । उहाँहरुले आफूलाई नयाँ प्रतिभा भन्ने कुरा नभए पनि लिन प्याओले भनेको कुरा कुनै तथ्यसँग मेल खाँदैन । चीनकै कुरा गर्दा पनि सन् यात्सेनदेखिको कुरा गर्दा पनि मिन्दैन भनेर माओले जवाफ दिनुभएकाे थियो ।
अन्तिममा सन १८७१ मा लिन प्याओले एउटा योजना बनायो । कमरेड माओ एउटा कार्यक्रमबाट साङघाईबाट बेइजिङ आउँदै हुनुहुन्थ्यो । रेलमा भिआर्इपीको लागि एउटा डिब्बा खाली गरिएको थियो तर सुरक्षा निकायले त्यो रेलको डिब्बामा बम फिट गरिएको पत्ता लगायो । त्यतिबेला लिन प्याओ आफैँ रक्षामन्त्री थियो । त्यो थाहा पाएर माओ रेलमा नगएर जहाजमा जानुभयो । त्यो षडयन्त्र गरेको थाहा पाए भनेर तुरुन्त लिन प्याओ भागेर मस्को जाँदै थियो । उ भागेर जाँदै गरेको विमान मंगोलियामा खस्यो । यस्तो भयानक घटना भयो । माओलाई मार्न शुरुमा त्यत्रो प्रशंसा गरियो ।
त्यसकारण संशोधनवाद फरक तरिकाले आउँछ । नेपालमै हुर्नुस् घुसपैठको तरिकाले आयो । सामाजिक साम्राज्यवादमा पतन भइसकेको मस्कोले उक्साएर लिन प्याओले माओलाई मार्न खाजेकोले उ भागेर मस्को नै जाँदै थियो । सायद त्यतिबेला ब्रेझनेभ वा अरु कुनै त्यतिबेला रुषको सत्तामा थिए । यस्तो पनि घटना हुन सक्ने भएकोले हामी सधैं सतर्क रहन जरुरी छ । कम्युनिष्ट शासन संसारमा किन असफल भए त ? भन्नेमा प्रश्न उठेको छ । त्यसको विश्वासिलो जवाफ दिनकालागि हामी इतिहासका यी सवै पेरिफेरी कोट्याउँदैछौं ।
इतिहासलाई हामीले राम्रोसँग छिचोल्दैछौं । हामीले साम्राज्वादलाई मरणासन्न भनेका थियौं । यसलाई समाजवादी क्रान्तिको पूर्वबेला भन्यौं । लेनिनले भनेजस्तो मरणासन्न भनेको त त्यो त अझै ज्यूँदै छ । अझै मरेको छैन । हामीलाई अझै सताउँदैछ त । भनेपछि हामीले केही न केही गल्ती गरयौं कि ! उनीहरुले आफ्नो हारबाट सिके भने हामीले आफ्नो विजयबाट सिकेनौं । हामी यो निष्कर्ष निकाल्दैछौं । हामीकहाँ प्रतिक्रान्ति हुनुको कारण हामीले मालेमावादलाई मौलिकतामा पकड्न नसक्नु नै हो भन्नेमा पुगेर त्यसमा बहस गरिरहेका छौं ।
पहिले त्यसबारेमा अध्ययन गर्ने जिम्मा हामीले प्रचण्ड र बाबुरामलाई दियौं तर तिनले माक्र्सवादमा कतै न कतै संशोधनवाद घुसाएछन् । तिनले त संशोधनवादी बाटो पो सिकाएछन् । हामी त्यतैतीर हौसियौं र ओरिजिनल माक्र्सवाद पढेनौं । फेरि पढेरमात्र हुने भए त हुने थियो तर त्यसो नहुने रहेछ । त्यसकारण माक्र्सवादको मौलिकताको जरोमा टेकेर हामीले गर्नुपर्ने त्यसको विकास हो ।
हामीमा संसार गतिशील छ भन्ने तर आफू नै अगतिशील हुने समस्या रह्यो । त्यसकारण अब माक्र्सवादलाई मौलिकतामा समात्नु पर्छ । माओले माक्र्सवाद लागु गर, संशोधनवाद होइन भन्नु भएको थियो तर अब माक्र्सवादको विकास पनि गर्नुपर्छ । त्यसैले हामीले महाधिवेशनको लागि भनेर संसदवाद, आत्मसमर्पणवाद, विसर्जनवादको भण्डाफोर गरौं, माक्र्सवाद, लेनिनवाद र माओवादको विकास गरौं भन्ने नारा दिएका छौं । त्यसकारण हामी त्यतातिर अध्ययन, अनुसन्धान र सफल हुनेतिर अगाडि बढ्नुपर्छ । अगाडि बढिसकेपछि विजय प्राप्त गर्ने उपाय के हो त ? हामी त्यो पत्ता लगाउँदैछौं । त्यसको खोजी र अनुसन्धान गर्दैछौं ।
कम्युनिष्ट भनेको वैज्ञानिक पनि भएकोले त्यतातिर हामी सबै लाग्नुपरेको छ । काठमाण्डौ भनेको फोहर वाग्मती पनि हो र सुन्दरीजल पनि हो । वाग्मतीमा नुहाउने कि सुन्दरीजलमा नुहाउने आफैँले विचार गर्ने कुरा हो । वाग्मतीको पानी जति फोहर छ, यहाँका संशोधनवादीहरु पनि त्यति नै फोहर छन् । प्रचण्ड फोहर पानीको नालीमा नुहाइरहेका छन् । भारतमा गएर मोदीसित (जो सबैभन्दा फासिस्ट छन्) त्यसैसित मिले । त्यस्तो फासिस्टसित उनले दुनियाँले देख्नेगरी गठजोड गरेका छन् । अपर कर्णालीको लागि भागिसकेको जि एम आर  कम्पनीलाई फर्काएर ल्याउने काम गरे । अरुण तेश्रोमा भएको जनघात र राष्ट्रघातलाई झन बढावा दिने ?
त्यस्तैगरि भारतसित जुन साँठगाँठ देखिएको छ, यसले साम्राज्यवादीहरु सफल र हामी असफल भएको देखाउँछ । सम्राज्यवाद नेतृत्वलाई किन्न सफल भएको छ । लेनिनले हामीभित्रका गद्धारहरुलाई प्रयोग गर्छन भन्नुभएको थियो नेपालमा पनि गद्धारहरुलाई प्रयोग गरिरहेका छन् । कार्ल काउत्सकीले ‘आतंकवाद र साम्यवाद’ भन्ने पुस्तक लेखेका थिए । उ त्यतिबेलाको नाम चलेको नेता थियो । पछि गद्धार भयो । त्यो किताब प्रकाशन भएपछि यता फ्रान्स र जर्मनीमा त्यो किताव उद्धृत गर्दै रेडियोबाट बजाउन र पत्र पत्रिकामा छाप्न थाले लेनिनहरु सत्तामा हुदाँपनि गद्धार काउत्सकीको त्यो किताबलाई प्रयोग गरेर साम्राज्वादीहरुले क्रान्तिको विरुद्धमा प्रचार गरे ।
भारतीयहरु होउन वा बुर्जुवाहरुलेपनि नेपालमा त्यसैगरि गद्धारहरुलाई प्रयोग गरे त्यो तपाईहरुले पनि देखिरहनुभएको छ । यहाँ पनि बाबुरामले लेख्न पठाएर होला सायद एकजना पत्रकारले ‘अविराम बाबुराम’ भन्ने किताब प्रकाशन गरेका छन, त्यसमा उनको जीवन कहानी हेर्नुभयो भने उनी घुसपैठिया रहेछन् भन्ने थाहा हुन्छ । उनले शुरुमै दुइटा डुंगामा खुट्टा हालें भनेका छन् । एउटा कांग्रेसमा र अर्को कम्युनिष्टमा । खासमा उनको सिद्धान्त प्रजातान्त्रिक समाजवाद रहेछ । उनले अहिले भनेको नवउदारवाद केही पनि रहेनछ ।
माओको एउटा भनाइ मैले यतिबेला सम्झेको छु, ‘अजिंगरको दाँत रोपेको त उपियाँ पो पाइयो ।’  हामीले पनि प्रचण्ड बाबुराम जस्ता उपियाँ पायौं । त्यसैले हामीले धेरै ख्याल गर्ने र माक्र्सवादलाई बलियोगरि समाउने र अध्ययन गर्ने बानी बसाल्नुपर्छ । तपाईहरुले कम्तीमा पनि कम्युनिष्ट घोषणा पत्र त पढ्नैपर्छ । राम्रो नराम्रो सबै पढ्नुपर्छ तर मुख्यतः सकारात्मक पढ्ने र शिक्षा लिने गर्नुपर्छ । राम्रो शासन कसरी चलाउने त त्यो पढ्नु परयो ।
 हामीले हाम्रो पार्टीको कार्यदिशा हामीले पार्टीमा खुला गरेका छौं । हाम्रो कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा हो भनेका छौं । जुन नयाँ कार्यदिशा हो । दुश्मनले  तयारी गरेकोले अब पुरानै तरिकाको लडाइँ लड्ने होइन । एकीकृत जनक्रान्ति नयाँ तरिकाको लडाइँ हो । यता एकीकृत जनक्रान्तिबाट ल्याउने सत्ता कस्तो हो भन्नेमापनि हामी स्पस्ट हुन जरुरी छ । यो कार्यदिशासित उद्धेश्य जोडिएको छ । संघर्षको स्वरुप राष्ट्रिय मुक्तियुद्ध, राष्ट्रिय युद्ध जे भनिए पनि हामीले स्थापना गर्ने भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो । त्यसको लागि एकीकृत जनक्रान्तिको आधारहरु छन् । साम्राज्यवाद नयाँ तरिकाले आएको छ । त्यसको एउटा उदाहरण तपाई भाटभटेनी सुपर मार्केटलाई हेर्न सक्नुहुन्छ । अहिले मालको उत्पादन एक ठाउँमा होइन अलग अलग ठाउँमा हुन्छ तर सामानहरु एकै ठाउँमा राखेर बेचिन्छ । मजदुरलाई संगठित हुन नदिनका लागि सामानहरु अलग अलग ठाउँमा उत्पादन गरिएको हो ।
फेरि सबै सामान एकै ठाउँमा पाइने भएपछि उसको एकाधिकार हुन्छ अरुको सामान बिक्री हुँदैन । दुनियाँका व्यापारिक मलहरु यसै उद्धेश्यका साथ खुलेका हुन । विश्व वैंक र ब्रिक्स वैंकहरुपनि वित्तीयरुपमा त्यही तरिकाले आएका हुन । ती सबै व्यापारीहरुले आफूलाई एकैठाउँमा केन्द्रित गर्छन ।
हामीले अहिले राजनीतिक रुपले दलाल पूँजीवाद र जनतावीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हो भनेका छौं । दलाल पूँजीवाद भनेको पराश्रीत पूँजिवाद हो । यो साम्राज्यवाद र विस्तारवादसित आश्रित भएको पूँजीवाद हो । नेपालमा ३ खाले उत्पादनका साधनका मालिकहरु छन् । एकः दलाल पूँजीवाद, दुईः नोकरशाही पूँजीवाद र तीनः सामन्तवाद । यसको नेतृत्व दलाल पूँजीवादले गरेको छ । उदाहरणका लागि लोकमानसिंह कार्कीलाई लिउँ । उ भूपालमानसिंह भन्ने सामन्तको छोरा हो । लोकमानसिंह कर्मचारीतन्त्र पनि हो । नोकरशाह पनि हो । उसले करोडौं पैसा लिन्छ, खान्छ र परिचालन गर्छ । त्यसको मालिकचाहिँ दलाल पूँजीवाद हो । त्यसकारण उ आफैँ चल्दैन पराश्रीत छ । यसरी सामन्त, दलाल र नोकरशाह एउटै बनेर दलाल पूँजीवाद बनेको छ । त्यसकारण हान्नुपर्ने दलाल पूँजीवादको विरुद्ध हो ।
 दलाल पूँजीवाद भने पनि साम्राज्यवाद भने पनि एउटैरुपमा आएको छैन । साम्राज्यवाद नयाँ तरिकाले आएको छ । उहिले एउटै देशमा एकाधिकारवादी संस्थाको रुपमा हुन्थ्यो । लेनिनले कार्टेल, सिन्डिकेट्स र ट्रष्टको कुरा गर्नु भएको छ तर अहिले सिन्डिकेट गर्ने देश चार पाँचवटा मात्रै छन् । विश्वमा अहिले ९९ प्रतिसत र १ प्रतिशतको सम्पत्ति बराबर छ । उनीहरु कम्पनी र वित्तीय संस्थामार्फत एकीकृत भएर आएका छन् । यस्तो खालको निगम अर्थतन्त्रसहित आएको साम्राज्वादको प्रतिरोधको लागि हामीलेपनि एकीकृत तरिकाले जानुपर्छ भनेका छौं ।
प्रकृति विज्ञानमा पनि नयाँ नयाँ प्रयोग हुन थाल्यो । मान्छेहरुले अहिले त पदार्थ छैन भन्न थाले । बाबुरामहरु पनि त्यही भन्न थालेका छन् । यो कुनै नयाँ नारा भने होइन ।सन  १९०८ मा अष्ट्रियामा रुषका गोब्दानोभहरुले यो नारा लगाएका थिए । उनीहरुले पदार्थ लोप भयो भनेका थिए । अहिले फेरि त्यही नारा लगाउँदैछन् किनभने कम्प्युटरमा भएका अक्षरहरु तरङ्गहरु हुन पदार्थ होइनन् । त्यसमा मसी हालिँदैन । त्यो त कुनै बेला हराउन सक्छ । अहिले विज्ञानमा क्वान्टम सिद्धान्त आएको छ । त्यो भनेको न्यूटन र प्रोटोनभन्दा पनि सूक्ष्म तरिकाले वस्तुहरु हेर्न तरिका हो । क्वान्ट्रा भनेको शक्ति हो तर देख्न नसकिने भन्ने हो । ती पार्टिकल वा कनिकाहरु हुन । तिनीहरु प्रकाशको माध्यमबाट तरङ्गद्धारा हिंड्छन् । यहाँ के हुँदैछ भने यी चीजहरुमापनि भ्रम पार्न खोजिँदैछ ।
सन १९०८ मा जब नयाँ कुराको पत्ता लाग्दै थियो । अल्बर्ट आइन्सटाइनले सापेक्षताको सिद्धान्त (न्यूट्रोन र प्रोटोन) पत्ता लगाएका थिए । त्यतिबेलाका संशोधनवादीहरुले पदार्थ हरायो भन्ने भ्रम पार्न खोजेका थिए । अहिले पनि त्यस्तै गर्न खोज्दैछन् । क्वान्टम भन्ने नयाँ सिद्धान्त जुन पत्ता लाग्दैछ, यो ब्ल्याक होलसम्म पुग्दैछ । अर्कोतिर एकीकृत सिद्धान्त भनेर हकिग्ंसहरुले पनि निकालेका छन् । प्रकृति विज्ञानमा जुन सिद्धान्त आयो यसले हामीलाई पनि एकीकृत तरिकाले जान सिकाएको छ । तपाई डोजर हेर्नुस त ! पहिला एउटा मात्रै काम गर्ने (खन्ने मात्र) खालको हुन्थ्यो ।
अब ढुङ्गा फुटाउने पनि त्यसैमा भएको आएको छ । माटो फाल्ने पनि त्यसैमा भएको आएको छ । सबै चीज एकैठाउँमा भएको आउन थालेको छ । मोवाइल पनि पहिलाभन्दा धेरै काम गर्न मिल्ने आइसक्यो । टर्चलाइट, पत्रिका हेर्न मिल्ने, फोन गर्न मिल्ने त भइहाल्यो, धेरै काम गर्न मिल्ने एउटैमा आइसक्यो । त्यो एकीकृत तरिकाले आएको छ । जसरी विज्ञान र प्रविधि एकीकृत तरिकाले आयो त्यसरी नै एकीकृत जनक्रान्ति पनि जानुपर्छ । यी चीजहरु हामीलाई प्रेरणा दिने चीजहरु हुन । विज्ञान र प्रविधिको कारणले समाज एउटा नगर बन्दैछ । प्रविधि र साधनले तपाईलाई गाउँबाट नजिकै ल्याएको छ । तपाई हुम्लामा हुनुस् या काठमाण्डौमा प्रविधिले सबैलाई एकै ठाउँमा ल्याउँछ र एउटै नगर समाज बनाउँछ । हामीले हाम्रो कार्यदिशामा त्यसको विशेषता पनि उल्लेख गरेका छौं । त्यसकारण विज्ञान र प्रविधिलाई समेटेर गर्ने एकीकृत जनक्रान्ति गर्नेछौं र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनेछौं । वैज्ञानिक समाजवादी व्यवस्थामा हामीले विज्ञान र प्रविधिलाई सहायकको रुपमा जोडेर जानेछौं ।
हामी आम जनतालाई त्यो विज्ञान र प्रविधि उपलव्ध गराउँदै राज्यसत्ता कब्जा गरेर वैज्ञानिक समाजवाद लागू गर्छाैं । संसदीय व्यस्थाको विपल्पमा वैज्ञानिक समाजवादी व्यवस्था नै हो भन्नेमा त किरणजी पनि सहमत हुन आउनुभएको छ । जुन खुशीको कुरा हो । यसबाट पनि हामी ठीक ठाउँमा छौं र ठीक ठाउँमा बहस गरिरहेका छौं भन्ने पुष्टि हुन्छ तर यो सबै प्राप्त गर्न हामीले कार्यशैली पनि त्यसैअनुसारको अपनाउन जरुरी छ  किनकि यो विज्ञान र प्रविधि त हामीले मात्रै प्रयोग गर्दैनौं । हाम्रा साथीहरु कहिलेकाँही कुनै एक्सन गरेभने त्यसलाई फेसबुकमा हाल्छन् । चाहे त्यो एक्सनमा आफ्नो मुख जलेको किन नहोस । यस्तो केटाकेटी पन छ । यसलाई वामपन्थी बालकपन भन्छन् । बच्चाले कहिलेकाँही थैलीमा हात्ती छिराइदेउ भन्छ । त्यो बाल हठ हो, हामीले यस्तो बालहठ गर्नुहुँदैन ।
त्यसकारण विज्ञानको जुन विकास भएको छ, त्यो बढी त उनीहरु नै प्रयोग गर्छन् र हामीले पनि क्रान्तिका लागि प्रयोग गर्नुपर्छ । जुन गतिमा हाम्रो काम अगाडि बढिराखेको छ, त्यसअनुसार हाम्रो कार्यशैली पनि बदल्नुपर्छ । मानौं, हाम्रो जनक्रान्ति अगाडि बढ्यो भने हामी पछाडि फर्किनुहुँदैन । हामीले विजय प्राप्त गरेर आउनुपर्छ । तपाई हामी वैज्ञानिक बन्नुपरयो । वैज्ञानिकहरुले पनि साथ देलान हामीलाई तर तिनले साथ कम नै दिन्छन् । रसियामा समाजवाद आइसकेपछि त्यहाँ अमेरिकी इन्जिनियरहरु गए तर ठगठाग पारेर जनतालाई हैरान पारे ।
चीनमा १५ सय किलोमिटरको ‘लाल नहर’ खन्दै थिए शुरुमा कसैले साथ दिएन । चिनियाँ जनता आफैँले नापेर, खनेर त्यति लामो नहर बनाए । आवश्यकताले जनता पनि इन्जिनियर बने । हामी आफैँपनि वैज्ञानिक र इन्जिनियर बन्नुपर्छ । त्यो नहर प्रमाणको रुपमा अझै छ । अर्को उदाहरण, सोभियत रुसलाई उत्तरको हावाले हैरान पाथ्र्यो । मस्कोमा घाम लागेको बेला भ्लालि घोस्टकमा अँध्यारै हुन्छ । त्यत्रो देश छ । स्टालिनले देशको उत्तरतीर रुख रोप्ने योजना ल्याउनुभयो । रुख रोपेपछि अलि न्यानो हुन्छ भनेर त्यो गर्नुभएको हो । अनि जहाँ जहाँ मरुभूमिहरु छन् त्यहाँ उनीहरुले गहुँ फलाए । भल्गा नदीलाई मरुभूमिमा हालिदिएर सिचाइ गर्न थाले ।
त्यसकारण कम्युनिज्म भनेको उलटपालट गर्ने चीज हो । लेनिनले पछि यसलाई सोभियत पावर र इलेक्ट्रिफिकेसन बराबर कम्युनिज्म भन्नुभयो । त्यो साँच्चै हो पनि, जुन आज प्रस्टै देखिएको छ ।
 कम्युनिष्टहरु वैज्ञानिक हुन र हुनु पर्छ । कम्युनिष्ट पार्टीको सदस्यतालाई सस्तो ठान्नुहुँदैन । यो धेरै मेहनतपछि पाइने चीज हो । कम्युनिष्टको त जीवन नै कम्युनिष्ट हुनुपर्छ । अहिले हामी त्यो व्यवस्थामा नभए पनि कमसेकम हाम्रो केन्द्रिय सदस्यलगायतमा त त्यो भाव झल्किनुपरयो । कम्युनिस्ट भनेको छ कस्तो गद्धार र दुई जिब्रे फटाहा हो भन्ने नहोस् ।
अहिले दुई जिब्रे फटाहा भन्छन त प्रचण्डलाई हो त्यस्तो नहोस् । दुई जिब्रे कुरा गर्ने, कार्यकर्तासित आउँछ साम्यवाद भनेका छन । जबकि मोदीको पार्टीमा लगिसकेको थाहा छैन । त्यसकारण त्यसरी साम्यवाद आउँदैन । हामीले यो कुरा बुझ्न जरुरी छ ।  रुसमा लेनिनले क्रान्ति सम्पन्न गर्ने बेला जम्मा दस जनाको केन्द्रिय कमिटी थियो । दश जनाको नेतृत्वमा अक्टोबर क्रान्ति समाजवादी क्रान्ति गरे । यहाँ प्रचण्ड कही नभएको जात्रा हाँडीगाउँमा गर्दैछन् । उनीहरुले तीन हजार नौ सय उनान्सय जनाको पार्टी कमिटी बनाएका छन् । जनवादी केन्द्रियता भन्ने छ तर बैठक कहाँ बस्ने हो ? जुन सारै भद्धा कमिटी छ । त्यसमा जनवादी केन्द्रियता लागू हुन सक्दैन । मर्ने बेला कमिलाको प्वाँख आएजस्तो सिद्धिने कुरा मात्र हो ।
गल्तीहरुबाट पाठ सिक्दै आगामी दिनहरुमा मालेमावादको विकास कसरी गर्ने भन्नेमा नै हामीले बढी जोड लगाउनुपर्दछ । यो सरकार यसका अङ्गहरु पुरै मक्किइसकेका छन् । यसलाई फाल्न एकचोटि एकीकृत रुपमा जोडदार मुक्काको आवश्यकता छ । यो आवश्यकताको महसुस गरेर  पार्टीलाई वैज्ञानिक समाजवादी बाटोमा अगाडि बढाउनका लागि अझ मेहनत गरौं । एकप्रकारले भन्ने हो भने तपस्या नै गर्नुपर्नेछ । फुर्सद लियौं भने हामी आफैँ बिग्रन्छौं । खाली दिमाग सैतानका घर भने जस्तो हुन्छ । खाली दिमाग भयो भने सैतान आएर नाच्न थाल्छ ।
त्यसकारण अध्ययन, चिन्तन, मनन र बहस गर्नु पर्छ अनि मात्र तपाई विचारमा तन्दुरुस्त हुनुहुनेछ र विचारमा विकास गर्न सक्नुहुनेछ । कम्युनिस्ट पार्टीलाई बुझ्नुहुनेछ । मेहनत गरेर पसिना नबगाईकन कम्युनिस्ट पार्टीलाई बुझ्न सकिन्न । त्यसका लागि हामी साङ्गठनिक रुपमा मात्र होइन, विचारधारात्मक रुपले पनि संगठित हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार