२१ औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूद्वारा कुन कुरा निकै निमर्म ढङ्गले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरिसकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गीय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रूपले कठिन हुन जान्छ । क्रान्तिकालमा पार्टीभित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारधारात्मक सङ्घर्ष गर्दै जनसमुदायका आवश्यकता र हितसाग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र बलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरू राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रूपले सहजै र विश्वमा सबै पार्टीहरू छोटै अवधिमा नोकरशाही, संशोधनवाद जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे ?
निश्चित नै महान् सर्वहारावादी साँस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सिद्धान्तहरूले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।
अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरू राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदैन, भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधा सम्पन्नवर्गमा परिणत गर्ने खतरा तीब्र र प्रबल बनेर जान्छ । यस प्रकारको खतराको तीब्रता र प्रबलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलग थलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्यरूपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ ।
प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नको लागि दुईलाइन सङ्घर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारावर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने सङ्गठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ । यसका लागि पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरूदेखि कार्यकर्ताहरूसम्मको एउटा हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा तथा हेरफेर गरी सिङ्गो पार्र्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ ।
प्रारम्भदेखि नै पार्टीले र उसको नेतृत्वअन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ठ सम्बन्ध कायम गर्ने, दुःख कष्ट र फारोतिनो गर्ने सर्वहाराशैली अपनाउने तथा साम्यवादी उद्देश्यका निमित्त सम्पूर्णरूपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरूलाई प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गर्ने तथा पदको दुरूपयोग गर्ने, जनसमुदाय माथि हैकम चलाउन खोज्ने, सुविधाभोगी एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक सङ्घर्षका साथै जनसमुदायमा नङ्ग्याउने नीति एवं संचनाको विकास गर्न जोड लगाउनुपर्दछ ।
यस सन्दर्भमा पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षमा राज्यको बल प्रयोग प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनुपर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ ।
२१ औँ शताब्दीकाे जनवादबाट







