पुरानो सत्तासँग भीषण फौजी र राजनैतिक सङ्घर्ष गरिरहेका कर्णाली अञ्चलको विकट कालिकोट जिल्लाका दशवटा गाउँ जनसमितिका करिब २५ हजार बालिग मतादाताहरू२०६० मा भएकाे प्रत्यक्ष जनवादी निर्वाचनमा सहभागी भएका थिए । उनीहरूले गोप्य मतदानद्वारा आफूले मनपराएका प्रतिनिधिहरूलाई निर्वाचित गरेका हुन् ।

निर्वाचनमा माल्कोट, रुप्सा, रकु र कुमालगाउँमा सबै प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका छन् । उनीहरू सबै नेकपा (माओवादी) का प्रतिनिधिहरू हुन् । त्यस्तै लालु, कोटवाडा, महेलपुरी, मुम्रा, सिपखाना र सिउना गरी ६ वटा गाजसमा प्रत्यक्ष निर्वाचन भयो, जहाँ नेकपा (माओवादी) का आधिकारिक प्रतिनिधिलाई वडा जनसमितिमा झण्डै एक दर्जन स्वतन्त्र उम्मेदवारले हराइदिए । गाजस प्रमुखदेखि अधिकांश महत्वपूर्ण पदमा भने मतदाताहरूले सबै गाजसका पार्टी प्रतिनिधिहरूलाई जिताए भने केही स्थानहरूमा निर्विरोध निर्वाचित पनि भएका थिए । केही स्थानमा स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका थिए ।

जनवादी निर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त नवीनकुमार विकका अनुसार यो आधार क्षेत्रको पहिलो चरणको निर्वाचन थियो । दोस्रो चरणमा थप ९ वटा गाजस मा कार्तिक २ गते निर्वाचन सम्पन्न भयो । पहिलो चरणको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न भएको थियो । प्रमुख निर्वाचन आयुक्त नवीनकुमार विक यसलाई निर्वाचन अनुशासित ढंगले सम्पन्न भएको प्रतिक्रिया दिएका थिए । उहाँ भन्नुहुन्छ– ‘जनता वर्गसंघर्षबाट खारिएर आएका छन् र चेतनशील छन् । त्यसैले निर्वाचन नितान्त अनुशासित ढंगले भएको छ र चिन्ता गरेजस्तो मतहरू बदर भएका छैनन् ।’ जनवादी निर्वाचन बहिष्कार वा धाँधलीका कुनै पनि खबरहरू निर्वाचन अवधिभर प्राप्त भएनन् । नेकपा (माओवादी) कालिकोट तथा बाजुरा संयुक्त जिल्ला कार्यालयले दिएको जानकारीअनुसार– ‘यदि जनताको कुनै तप्काबाट निर्वाचन बहिष्कारको आवाज उठेको भए त्यसलाई सम्मान गरिने थियो । बरु पार्टीविरुद्ध मनोनयन दर्ता गरेर फिर्ता लिन चाहनेहरूलाई सम्झाईबुझाई पतिस्पर्धामा उत्रन हौसला प्रदान गरिएको छ ।’

पर्यवेक्षकहरूका अनुसार अधिकांश जनतामा ‘पार्टीले जनवाद दिएको छ, त्यसैले प्रतिस्पर्धामा उत्रनुपर्छ’ भन्ने विश्वास जागेको छ । कहींकहीं अवसरवादीहरूले यो निर्वाचनबाट विजयीहरूले आर्थिक कारोवार गर्न नपाउने भन्दै रकमी भ्रम पनि सृजना गरेको पाइयो भने कहीं जनताले स्वतन्त्र उम्मेदवारहरूलाई पार्टीविरुद्ध उत्रेको ठान्दै उनीहरूलाई बहिष्कार गरेका थिए । जनताको तर्क छ– ‘सात सात वर्ष लडेका पार्टी प्रतिनिधिविरुद्ध चुनावमा मात्र उठ्नेले हाम्रो पक्षमा के काम गर्न सक्छ ?’ तर पार्टीले त्यसरी नबुझ्न जनतालाई सम्झाइरहेको देखिन्छ । र, प्रतिस्पर्धाका लागि आह्वान गरिरहेको छ । यसपटक जनताबाट बहिस्कृत स्वतन्त्र व्यक्तिहरूले आगामी दिनहरूमा जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन स्थानीय स्रोत–साधनबाटै
यो जनवादी निर्वाचनमा जनताले आफ्नै प्रविधिहरूको प्रयोग गरी निर्वाचन सामग्रीहरू जुटाएका छन् । आवश्यक अतिरिक्त कागज जनताले नै सङ्कलन गरेका छन् । कटौंज भन्ने बिरुवाको पात पकाएर कालो मसी तयार गरिएको छ । छापहरू फाटेका चप्पलमा अक्षरहरू काटेर बनाइएका छन् । चुनाव चिन्हहरू स्थानीय कलाकारले बनाएका छन् । चुरोटका कार्टुन, टीनका पाता र निशालापाट मतपेटिकाहरू निर्माण गरिएका छन् ।

प्रमुख, उपप्रमुख, वाजस प्रमुख र सदस्यहरूका लागि छुट्टाछुट्टै रङका मतपेटिका र मतपत्र तयार छन् । हरेक उम्मेदवारका लागि मतदाताले फरक मतपत्र प्रयोग गर्नुपर्दछ । यसबाट मतगणना सुविधा हुने निर्वाचन अधिकृतहरूको विश्वास छ । पार्टीले दुई चरणको निर्वाचन खर्च जम्मा दश हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । बजारबाट जम्मा २५ वटा फाइल, २२ वटा रजिष्टर र कम्तिमा आठ रिम कागज खरीद गरिएको छ । उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । जसमा गाजस प्रमुखका लागि रु. एक सय, उपप्रमुखका लागि रु. २७५, वाजस प्रमुखका लागि रु. ५० र वाजस सदस्यहरूका लागि रु. २५ तोकिएको थियो ।

प्रचार–प्रसार पार्टीले नै
पहिलो चरणको निर्वाचनका क्रममा प्रचार–प्रसारका लागि घरका भित्ताहरूमा चुनावचिन्ह कोरिएका थिए । सार्वजनिक स्थलहरूमा ‘स्थानीय जनवादी निर्वाचन सफल पारौं’ भन्दै नाराहरू लेखिएका थिए । नेकपा (माओवादी) को चुनाव प्रचार–
प्रसार शैलीले आफ्नो पार्टी उम्मेदवारहरूको मात्र होइन, स्वतन्त्र उम्मेदवारहरूको पनि प्रचार गरिदिने गर्दछ । स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मात्रै प्रचार–प्रसार गर्न सक्दछन् । केही स्वतन्त्र उम्मेदवारहरूले आफ्नै अपील पनि प्रकाशित गरेका छन् । जसमा उम्मेदवारहरूले आफू विजयी भएमा गर्ने गरिने कामहरूबारे उल्लेख गरेका छन् । पहिलो चरणको चुनावी प्रचार–प्रसारको समय असोज १७ देखि २० गतेसम्म तोकिएको थियो ।

चुनावका लागि सदरमुकाम घेराबन्दी
जनवादी निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा गरिएको थियो । जनतामा जनमुक्ति सेनाको सुरक्षाप्रति पूर्ण विश्वास थियो । आन्तरिक रुपमा चुनाव सम्पन्न गर्न त्यस्तो कुनै सुरक्षा चिन्ता थिएन । चुनावी सुरक्षाका लागि प्रति गाजसमा चारदर्जन मिलिसियाहरू खटिएका थिए । चुनाव अवधिभर असोज ५ देखि कार्तिक ३ सम्म सदरमुकाम आवतजावतमा प्रतिबन्ध लगाइएको छ । सदरमुकाम मान्मलाई जनमुक्ति सेनाका विभिन्न कम्पनीहरूले घेरावन्दी गरेका छन् र सदरमुकामबाहिर आउन दिएका छैनन । जनता आफै पनि सुरक्षाका लागि सचेत छन् । पहिलो चरणको चुनावका क्रममा सदरमुकाम मान्म नजिकै जिम्जेडीमा भीडन्त भयो । जसमा सेनातर्फ २ जनाको मृत्यु भयो । र, सेना त्यो दिनदेखि अगाडि बढेको छैन । निर्वाचनको घोषणा सभाका दिन असोज २३ गते रास्कोट इलाकामा पुरानो सत्ताको शाही सेनाले हवाइगस्ती ग¥यो । तर जनता कत्ति पनि आतंकित भएनन् । निकै अग्लो दूरीबाट हवाइगस्ती गरेर सेना त्यहाँबाट फक्र्यो ।

जनवादी चुनावको तयारी कसरी भयो ?
भदौ २५ गते बसेको नेकपा (माओवादी) जिल्ला समिति कालिकोट र बाजुराको बैठकले एक्काईसौं शताब्दीको जनवादको विकासको आधारमा जननियन्त्रित सत्ता निर्माण गर्ने निर्णय ग¥यो । यसअघि नै सेती–महाकाली क्षेत्रको सत्ता सुदृढ गर्ने सोचाइ बनिसकेको थियो । यसै अन्तर्गत नवीनकुमार विकको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन आयोग गठन गरियो । जसका अन्य सदस्यहरूमा अनिपाल शाही, श्रीमती धीरेन्द्रा उपाध्यय, क. विराट र दीपक केसी हुनुहुन्छ ।
यो आयोगले कार्यविभाजन गर्दै केही दिनभित्रै निर्वाचन नियमावली तयार गरयो । असी हजार जति मतपत्र प्रकाशित गरयो, चिन्हहरू निर्माण गरयो, चुनाव व्यवस्थापन र प्रशिक्षणहरू आयोजना गरयो । मतदाता नामावली सङ्कलन भदौ महिनाभरि भइसकेको थियो । झण्डै १० प्रतिशत मतदाताहरू भूमिगत वा स्थानान्तरण भएका छन् । धेरै मतदाता जिल्लाबाहिर छन् ।

निर्वाचनलाई सुचारु सम्पन्न गर्न दशजना निर्वाचन अधिकृतहरू खटाइयो । उनीहरूलाई प्रशिक्षण दिएर असोज १३ गते आ–आफ्नो कार्यक्षेत्रमा पठाइयो । यो निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतहरूमा क. डायमण्ड, क. यथार्थ, क. जिज्ञासु, क. चन्दन, क. ताप, क. विमल, क. विक्रम, क. रविन्स, क. दीपक केस., क. दिवस हुनुहुन्छ । हरेक अधिकृतलाई दुईजना सहयोगीहरू पनि खटाइए । पहिलो चरण निर्वाचन कार्यक्रमको निर्धारित समयअनुसार असोज १४ गते उम्मेदवारी दर्ता, पहिलो नामावली प्रकाशन, १५ गते दावी विरोध र मनोनयन फिर्ता, १६ गते अन्तिम नामावली प्रकाशन र चिन्ह वितरण १७ देखि २० गतेसम्म प्रचार–प्रसार र असोज २१ मतदान सम्पन्न भएको थियो ।

हिजोको जनवादी सत्ता
२०५८ अघि पार्टीले निर्माण गरेको जनवादी सत्ता भूमिगत थियो । २०५८ मा कालिकोटका जनताले सरकारी प्रहरी र स्थानीय जालीफटाहाविरुद्धको लडाइँ एकैसाथ लडे र जिते पनि । त्यसपछि सत्ता खालि भएपछि २०५८ मै ध्वनिमतद्वारा २२ वटा गाजसमा निर्वाचन सम्पन्न भयो । यी जनसत्ताहरूले करीब चार वर्ष काम गरे ।

कालिकोटका जनताले पुरानो सत्ताअन्तर्गतको स्थानीय निर्वाचनलाई हार्दिक रुपमा बहिष्कार गरे पनि चर्को दमन गर्दै चुनावी औपचारिकता निभाइएको थियो ।

मान्म, मार्तडी, र मंगलसैन तीनवटा पुरानो सत्ताका मुख्यालयहरूबीच रहेका यी जनताले अब ती सदरमुकामहरूलाई चुनौति दिंदै आफ्ना जनवादी सत्ताहरू सञ्चालन गर्नेछन् र आफ्ना निर्वाचित शासक आफैँ बन्नेछन् ।

मनऋषि धिताल, जनादेश साप्ताहिक, वर्ष– १२, अंक–२७, २०६० कार्तिक १८

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार