काठमाडौं/आज संवाद डबली, अनामनगरमा सल्यानी युवा लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ पुस्तकको सार्वजनिकीकरण तथा परिचर्चा हुँदै छ ।
नेपालको राजनीतिक परिस्थिति यतिखेर गम्भीर मोडमा उभिएको छ । अत्यासलाग्दो नेपाली राजनीतिले जीवनका अनगिन्ती क्षेत्रमा पनि गम्भीर असर पुरयाएकै छ तर पनि लेखक–साहित्यकारहरू आ–आफ्ना विचारधारात्मक काममा लागिरहेका छन् ।
यही सन्दर्भमा सल्यानका युवा–लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ नामक पुस्तकको सार्वजनिकीकरण हुन गइरहेको हो । पुस्तकमा सल्यानमा कम्युनिस्ट आन्दोलन, माओवादी जनयुद्ध र त्यसभन्दा अगाडिको राजनीतिक अवस्था, सल्यानबाट जनयुद्धका घाइते, बेपत्ता र सहिदहरूको विवरण समाविष्ट छ ।
साथै, नेपालको हालको राजनीतिक अवस्थाको मूल्यांकन गरी विप्लवदेखि प्रचण्डसम्मका नेताहरूले लिएको नीति र नेतृत्वबारेमा गरिएको विवेचना पनि पुस्तकमा समावेश गरिएको छ । मूलतः सल्यान जिल्ला बुझ्नका लागि यो पुस्तक निकै उपयोगी हुने विश्वास गरिएको छ ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा ‘सल्यान, इतिहास र सपना’ नामक पुस्तकको सार्वजनिकीकरण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुर्दशन’ को प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा प्रकाश ज्वाला, मोहलाल चन्द ‘आधार’, पूर्णबहादुर सिंह, रत्न वली, भीम भारतीलगायतले चर्चा गर्नुहुनेछ ।
कार्यक्रममा आज १५ असार, २०७४, बिहीबार, दिनको ठीक १ बजे संवाद डबलीको सभाकक्ष, अनामनगरमा हुने बताइएको छ ।







