असार १५ : अखिल नेपाल जनसाँस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा युवा लेखक तथा विद्यार्थी नेता गणेशमान सिंहको ‘सल्यान इतिहास र सपना’ नामक पुस्तकको सार्वजनिकीकरण गरिएको छ ।
काठमाडौंको संवाद डबलीमा आयोजित एक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले उक्त पुस्तकको सार्वजनिकीकरण गर्नुभएको हो । उक्त पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदर्शनले युवा लेखक गणेशमान सिंहको ‘सल्यान इतिहास र सपना’ नामक पुस्तक सबैखालका पाठकले पढ्रनेखालको भएको बताउनुभयो ।
प्रमुख अतिथि सुदर्शनले माक्र्सको पुँजी खास गरी राजनैतिक अर्थशास्त्र सम्बन्धी भए तापनि सौन्दर्यशास्त्र, सैन्य विज्ञान र दर्शनको पनि संकेन्द्रीतरुप भएको उल्लेख गर्दै अहिले पुँजी जस्ता पुस्तकको आवश्यकता भएकोले लेखनमा साहित्य मिसियो र वाक्य सरल भए भने पढनलाई पट्यार नलाग्ने हुन्छ भन्नुभयो ।
यस्तै पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै एमालेका नेता प्रकाश ज्वालाले लेखकहरु निर्मम भएर लेखेपछि मात्र सत्य कुरा बाहिर आउने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नबहादुर ओली, नेकपाका केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहं, भीम भारतीलगायतले पुस्तकको बारेमा समीक्षा गर्नुभएको थियो । कार्यक्रममा लेखक स्वयं गणेशमान सिंहले पुस्तक लेख्दाको अनुभवबारे बताउनुभएको थियो ।
सल्यानका युवा–लेखक गणेशमान सिंहद्वारा लिखित ‘सल्यान, इतिहास र सपना’ ४५६ पेज रहेकाे उक्त पुस्तकमा सल्यानमा कम्युनिस्ट आन्दोलन, माओवादी जनयुद्ध र त्यसभन्दा अगाडिको राजनीतिक अवस्था, सल्यानबाट जनयुद्धका घाइते, बेपत्ता र सहिदहरूको विवरण समाविष्ट छ ।
पुस्तकमा नेपालको हालको राजनीतिक अवस्थाको मूल्यांकन गरी विप्लवदेखि प्रचण्डसम्मका नेताहरूले लिएको नीति र नेतृत्वबारेमा गरिएको विवेचना पनि पुस्तकमा समावेश गरिएको छ । मूलतः सल्यान जिल्ला बुझ्नका लागि यो पुस्तक निकै उपयोगी हुने विश्वास गरिएको छ ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेक बलम्पाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका महासचिव खेम थपलियाले गर्नुभएको थियो ।







