सप्तरी । शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण सप्तरीको तिलाठीसहितका दर्जनौं गाउँका करिब एक हजार पाँच सय घर डुबानमा परेका छन् । खाडो, त्रियुगा, जीता लगायतका नदीको बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन्, । सप्तरीको तिलाठीमा भारतीय ज्यादतीविरुद्धमा लडेका स्थानीयबासीको पक्षमा यसअघि जागेको काठमाडाैँ त्यही तिलाठीका जनता भारतीय बाँधकै कारण डुबानमा परेर बिचल्ली पर्दा राहत तथा उद्धार कार्यमा सघाउन जुरुक्क उठ्न त सकेन नै केवल रमिता मात्रै हेरिरहेको छ ।
बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन् । गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ । अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले बताए । तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका एक सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ ।
तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ । तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पु¥याएको छ । आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए । सामाजिक सञ्जालहरुमा फैलिएको तस्विरमा तिलाठीका जनताले घरको तल्लो भाग पानीले भरिएपछि माथिल्लो भागमा बसेर पानीबाट जोगिन खोजिरहेको दृष्यहरु छन् । यसबाट तिलाठीको पहिलो भाग पूर्ण रुपमा डुबानमा परेको छ । डुबानमा परेपछि स्थानीयबासीले खानेकुरा समेत पकाएर खान पाएका छैनन् भने अन्नहरु पनि नष्ट भएको छ । डुबानले पुरयाएको क्षतिको सम्बन्धमा पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।
स्थानीय प्रूशासन तथा नेपाल सरकारले डुबान पीडित जनताको लागि उद्धार तथा राहत वितरणमा भूमिका निर्वाह गर्न पहल कदमी लिन सुरु समेत गरेको छैन । एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए । मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ । बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन् ।
गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उहाँको भनाइ छ । त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेका छन् । बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए पनि प्रहरी समेत परिचालित भएको जानकारी दिएनन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाढीपीडित परिवारलाई स्थानीय स्तरबाट तत्कालका लागि राहत व्यवस्था मिलाइएको बताए । उनले मयनाकरेडी त्रिकौलका ३ सय र मलेठमा २ सय ५० परिवारलाई जिल्ला समन्वय समितिले भुजा र च्युरा वितरण गरेको बताए । प्रजिअ कटुवालकै नेतृत्वमा स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख द्विवेदी, सशस्त्र प्रहरी प्रमुख रामाधार यादव, नेपाली सेनाका कर्नेल डम्बर बोहोरालगायतले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । विभिन्न स्थानमा एकैसाथ बाढी आएपछि शनिबार बिहानैदेखि स्थानीय इकाई र जिप्रकाबाट थप प्रहरी परिचालन गरी ५ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको एसपी द्विवेदीले जनाए ।







