कोरियाली प्रायद्वीपमा व्याप्त तनावलाई साम्य पार्न सैनिक बलको सट्टा वार्ता र सम्झौता आवश्यक रहेको एक उच्च रसियाली नेताले बताएका छन् । प्योङयाङद्वारा मङ्गलबार गरेको क्षेप्यास्त्र परीक्षण पछि एक उच्च रसियाली नेता तथा सांसदले प्रतिक्रिया दिएका हुन् ।

‘प्योङयाङविरुद्ध सीमा क्षेत्रमा युद्धक विमान तैनाथ गरेर भन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्छ’ रसियाली संसद (डोमा) का अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीको शब्द उद्धृत गर्दै इन्टर फ्याक्स न्युज एजेन्सीले बताएको छ ।

रसियाली नेताले उत्तर कोरियाली क्षेप्यास्त्रले एक महादेशबाट अर्को महादेशसम्म आक्रमण गर्नसक्ने हतियारको परीक्षण गरेको बताउँदै यो सफलता प्योङयाङका लागि कोसे ढुङ्गा सावित हुने बताएका छन् ।

यसैबीच रसियाली रक्षा मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको रेकर्ड गरेको जनाएको थियो ।

क्षेप्यास्त्र परीक्षण रसियाली सीमाको विपरित दिशामा गरिएको र यसबाट रसियालाई कुनै खतराको सिर्जना नगरेको विज्ञप्तिमा जनाइएको छ ।

यता संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उत्तर कोरियालाई क्षेप्यास्त्र प्रविधि तथा आणविक परीक्षण वा अन्य कुनै उत्तेजित गतिविधि सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार