काठमाडौं/एमाले सहमतिमा आए वा नआए पनि संविधान संशोधनमा दुई तिहाइ पुरयाउन सरकारले वार्ता थालेको छ । बालुवाटारमा राजपा नेताहरूसँग भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितसत्तारूढ दलका नेताहरूले राप्रपा एक भएमा दुई तिहाइ पुग्ने विश्वास दिलाएका थिए ।
त्यस्तै, राप्रपासँग प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वार्ता गरेका थिए । कांग्रेसका नेता सशांक कोइरालाले एमाले संसोधनमा नआए पनि दुई तिहाइ पुग्ने दावी गरेका छन् ।
कोइरालाले ३ सय ९८ मत संसोधनका पक्षमा आउने दावी गरेका छन् । राजेन्द्र महतोले पनि संविधानमा एमाले नआए उसलाई घाटा लाग्ने र उविना नै दुई तिहाई पुग्ने बताए ।
तर, राप्रपा एक नभएको खण्डमा दुईतिहाइ पुग्ने देखिएको छैन । ‘राप्रपाका सबै सांसदले मतदानमा भाग लिए पारित हुन्छ नलिए असफल हुन्छ,’ सत्तारूढ दलका नेताहरूको भनाइ थियो, ‘असफल भयो भने प्रमुख प्रतिपक्षी एमालेका कारण भएको भनेर चुनावमा मुद्दा बनाएर जान सकिन्छ ।’
सत्तापक्षले अहिले सिपी मैनाली नेतृत्वको नेकपा मालेका केही सांसदहरुलाई संशोधन प्रस्तावको पक्षमा मतदान गराउनेगरी यता ल्याउने तयारी गरिरहेको छ । मालेका ५ सांसद यता आए संशोधनको पक्षमा दुई तिहाइ पुग्ने सरकारको ठम्याइ छ । अहिले साना दलसहित सत्तापक्षसँग ३९३ संख्या छ । उसलाई दुई तिहाइ पुर्याउनको लागि ५ संख्या आवश्यक छ ।
स्रोतका अनुसार संशोधन प्रस्ताव कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्रीको भविष्यसित जोडेर पनि हेर्न थालिएको छ । यसमा शक्तिकेन्द्र तिखो नजर पनि परेको छ । रानीतिकर्मीहरु भन्छन्– भदौ १५ पछि नेपालको राजनीतिक परिदृष्य बदलिन पनि सक्छ ।







