
नेपाली कांग्रेसका नेता तथा निवर्तमान स्वास्थ मन्त्री गगनकुमार थापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अनपेक्षित पराजय भोग्दा पनि पार्टीले समीक्षा नगर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
उनले केन्द्रीय समितिको बैठक बोलाएर अहिलेको निर्वाचनको समीक्षा गरेर कमीकमजोरी सुधार्ने अठोट नगर्दा आम कार्यकर्तामा निराशा र अन्यौलता छाएको बताए । नेता थापाले कमजोरी र दोषी पहिचान गरी उनीहरुलाई सच्याउदै तेस्रो चरणको निर्वाचनको तयारीमा तत्काल लाग्नु पर्नेमा जोड दिए ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता थापाले आफु पार्टीको कार्यकारी जिम्मेबारीमा नरहेकाले आम नेपालीले अपेक्षा गरे अनुसार गर्न नपाएको स्पष्ट पारे । उनले भने- “पार्टी भद्रगोल भयो, बिग्रियो तिमीहरुले के हेरेर बसेका छौ भन्दै धेरै जनाले चिन्ता व्यक्त गर्नुहुन्छ, तर पार्टीलाई राम्रोसँग चलाउने जिम्मेबारीमा जाने बेलामा भने उहाँहरुले नै बेला भएको छैन भन्नु भयो, अनि मैले के गरु त ? ” नेता थापाले पार्टीको महामन्त्रीमा उम्मेदबारी दिदाँ मलाई बेला भएको छैन भन्नेले यस्को जवाफ दिनुपर्ने तर्क गरे ।
मनोनीत केन्द्रीय सदस्य र सांसदको रुपमा जे गर्नु पर्छ, त्यो पर्याप्त गरेको उनले बताए । पार्टी सभापति र नेताहरुलाई भेटेर आफुले जाने बुझेका कुरा भनेको र निराश भएका कार्यकर्ताहरुमा आत्मविश्वास, आशा र उर्जा थप्ने गरेको नेता थापाले बताए ।







