साउन महिना लागेपछि हरियो चुरा र मेहन्दी लगाउनेको संख्या बढ्छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।
पहिले गाउँघरमा मेहन्दी पाईंदैनथियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केला दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ ।
साउन लाग्नेबित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको देखिन्छ ।
एकजनाले लगाएको देखेपछि अर्कोलाई पनि लगाउन मन लाग्छ । त्यसैले संस्कृति र परम्परा नबुझेका किशोरी र बालिकाहरु पनि साउनमा मेहन्दी लगाएर फुरफुर हुन्छन् । यसलाई बजारीकरणको रुपमा पनि लिन सकिन्छ ।
पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । याे धार्मिक अाडम्बर बाहेक केही हाेइन ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । मेहन्दी नेपालमा बन्दैन । मेहन्दी लगाउने परम्परा सुरु भएको भारतबाटै आएकाे हाे ।
साउनमा हरियो चुरा अनि मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुन्छ, सर्प दंशबाट जोगिइन्छ आदि आदि विश्वास छ तर हरियो चुरा र मेहन्दी लगाउँदा घर–परिवारमा कुनै अनिष्ट हुनबाट बचाउँछ भन्ने कुरा गलत हाे । यो त अर्काको नक्कल गर्ने काम हो ।
खै, कुन दर्शन अथवा कुन धर्मको धार्मिक ग्रन्थ वा दर्शनशास्त्रमा भनेको छ साउन महिनामा हरियो चुरा अनि मेहन्दी लगाउनु पर्छ भनेर ? कपोलकल्पित र देखासिकी गर्ने प्रचलन बढेकाे छ नेपालमा ।
अझै आधुनिक दिदी बहिनीहरू जो समाजका शिक्षित वर्गमा पर्दछन् उनीहरूले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा वकालत गर्नु लाजमर्दाे कुरा हाे । नबुझेकाहरूले त अनुशरण गरे गरे, शिक्षित मानिसले अन्धभक्त हुनु उचित कुरा हो त ?
हाम्रा दिदी बहिनीहरूले लगाउने चुरा अनि मेहन्दी छ, त्यो नेपालमा उत्पादन हुँदैन । सबै भारत तथा तेस्रो मुलुकबाट आयातीत वस्तुहरू हुन् । जुन हरियो चुरा र मेहन्दी छ, त्यसको मूल्य कमसेकम पनि ५० रूपैयाँभन्दा बढी नै हुन्छ । महिलाहरूको जनसंख्या १ करोड ५० लाखभन्दा बढी छ । १ करोड महिलाले मात्रै साउन महिनामा हरियो चुरा र मेहन्दी लगाए भने पनि करिब करिब ५० करोड नेपाली रूपैयाँ विदेशिन्छ ।
कला र संस्कृतिकाे नाममा नेपालमा अनेकन विकृति अाइरहेकाे छ । यसकारण सांस्कृतिक हस्तक्षेप राेकाैँ । भारतीय र अन्य सांस्कृतिक साम्राज्यवादकाे विराेध गराैँ । भाैतिकवादी बनाैँ ।







