चेपे र मस्र्याङ्दी नदीको बीचको सानो राज्य बपौतीको रूपमा पाएका पृथ्वीनारायण शाहले आफू राजा भएको २४ वर्षभित्र आफ्नो राज्यविस्तार निकै गरिसकेका थिए । काठमाडौँ राज्यको पश्चिमी प्रान्त नुवाकोट उनले जितेको पनि २३ वर्ष भइसकेको थियो । सेनवंशले शासन गरिआएको मकवानपुर राज्य उनले जितेकाले त्यस राज्यका पहाड र मधेस गोरखा राज्यमा मिलिसकेका थिए । खास नेपाल खाल्डोमा पनि कीर्तिपुर जितिइसकेको थियो र नेपालखाल्डोकोे वरपर निकै ठाउँमा उनको कब्जा भइसकेको थियो ।

मकवानपुरका राजाहरूले तलहट्टी मुगल बादशाहहरूलाई नजराना चढाई भोगचलन गरिआएका थिए । पछि मुगल बादशाहहरू कमजोर हुँदै गएपछि बङ्गालका नवाबलाई नजराना चढाई मकवानी राजाहरूले ती तलहट्टीको भोगचलन गर्दै आए । १८१९ भदौ ९ गते खास मकवानपुर गोरखालीहरूले जितेपछि त्यहाँका राजा, मन्त्रीहरू हरिहरपुरतिर लागे (नयराज पन्त आदि, श्री छ पृथ्वीनारायण शाहको उपदेश, जगदम्बा–प्रकाशन, ललितपुर, २०२५, ८४३–८४४ पृ. दिनेशराज पन्त, महामण्डलदेखि काँगडासम्म, खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौँ, २०६७, ८ पृ.) ।

मकवानपुरको राज्यमा पर्ने तिमाल गोरखालीहरूले त्यही साल असोज २ गते जिते । मकवानपुरकै राज्यमा पर्ने सिन्धुलीमा गोरखालीहरूले हमला गर्दा त्यही साल असोज ९ गते ठूलो लडाइँ भए पनि विजय हुन सकेन । फेरि असोज २० गतेको लडाइँमा गोरखालीहरूले सिन्धुली जित्न सके (श्री छ पृथ्वीनारायण शाहको उपदेश, ८४६–८४८ पृ. महामण्डलदेखि काँगडासम्म, ९ पृ.) । यसको २ दिनपछि आश्विन २२ गते हरिहरपुरमा गोरखालीहरूको विजय भयो । (श्री छ पृथ्वीनारायण शाहको उपदेश, ८४४–८४५ पृ. महामण्डलदेखि काँगडासम्म, ९ पृ.) । मकवानपुरको राज्यमा पर्ने पहाड र तराई दुवै भूभागमा पृथ्वीनारायण शाहको अधिकार यसरी जम्न गएको थियो । वि.सं. १८२१ मा बक्सरको लडाइँमा अङ्ग्रेजको विजय भएपछि बङ्गाल, बिहार र उडीसामा वि.सं. १८२२ मा अङ्ग्रेजको शासन भयो र मकवानपुरको तराईमा अधिकार जमाइसकेका पृथ्वीनारायण शाहको राज्यको साँध अङ्ग्रेजको राज्यसँग जोडिन पुग्यो ।

यसैले शस्त्रबलले र नीतिबलले पृथ्वीनारायण शाहसँग भिड्न अप्ठ्यारो पर्दै गएपछि काठमाडौँका राजा जयप्रकाश मल्ल (वि.सं. १८२६ मा मृत्यु, राज्यकाल १७९२–१८२५)ले गोरखाली राज्यको विरोधमा ईस्ट इण्डिया कम्पनीसँग मद्दत मागे । बढ्दै गएको गोरखाली राज्य बढ्दै गएको अङ्ग्रेजी राज्यलाई पनि खतरा हुने हुनाले अङ्ग्रेज सरकारले पृथ्वीनारायण शाहको विरोधमा जयप्रकाश मल्ललाई सहायता गर्न भनी फौज पठाउने निधो गरयो । यसैले १८२४ मा काठमाडौँका राजा जयप्रकाश मल्लको पक्ष लिई पृथ्वीनारायण शाहको सेनासँग लड्न आएको अङ्ग्रेजी सेना पृथ्वीनारायण शाहको राज्य सिन्धुलीसम्म बेरोकटोक आयो । सिन्धुलीबाट ठाडो उकालो उक्लन लागेको अङ्ग्रेजी फौजलाई माथिबाट गोरखालीले खेद्दा अङ्ग्रेजी फौज १८२४ असोज १५ गते पहाडबाट भाग्न बाध्य भयो र तल ओर्ली त्यस फौजले मकवानपुरको तराई अर्थात् बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीमध्ये बारा र पर्सा पूरापूर र रौतहटको आधा जति अँठ्याएर तीन वर्ष बस्यो ।

पृथ्वीनारायण शाहले आफ्नो अन्तिम अवस्थामा आफ्ना भाइभारदार जम्मा गरी दिएको उपदेशमा सिन्धुलीको यस लडाइँको चर्चा “तिन चार पल्टन् लिएर सिन्धुली गढिमा हाँडी साहेब चढ्यो र वा वाही पनि काटि पथर्काला च्याति ल्याञा” भनी गरेका छन् ।

पृथ्वीनारायण शाहले वसन्तपुर दरबार बनाई १८२६ मा राखेको शिलापत्रमा उनकोे विजययात्राको बयान गर्ने प्रसङ्गमा यसै गरी “केही काल माद चढेको फिरङ्गी लडाइँमा एक छिन पनि टिक्न सकेन” (मूल संस्कृतबाट उल्था, श्री छ पृथ्वीनारायण शाहको उपदेश, ४३३ पृ.) भनी यस लडाइँको संकेतसम्म गरेका छन् ।

पृथ्वीनारायण शाहको पालाका सयौँ राजकीय चिठीपत्रमध्ये ३ वटामा मात्र सिन्धुलीतिरको लडाइँको प्रसङ्ग आएको छ (बाबुराम आचार्य, श्री छ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, श्री छ महाराजाधिराजका संवाद सचिवालय राजदरबार, काठमाडौँ, २०६१, २ आवृत्ति, ३४०–३४३ पृ.) ।

लेखक

सिन्धुलीको यस लडाइँसम्बन्धी पछिल्लो समयको भए पनि थप अर्को एउटा राजकीय पत्रको चर्चा यस प्रसङ्गमा गर्नुपरेको छ । सिन्धुलीमा अङ्ग्रेजसँगको लडाइँको लागि प्रबन्ध मिलाउन गएका खजाञ्ची वीरभद्र उपाध्यायमार्फत पृथ्वीनारायण शाहले मन्थलीका विर्तावार उदयनारायण उपाध्याय घिमिरेसँग १२० रूपियाँ सापटी लिएका थिए । उदयनारायण घिमिरेले ३०० रुपियाँमा किनेको, ३० मुरी माटोको विर्ता लडाइँ सकिएपछि सापटी भर्ना गर्न भनीे पृथ्वीनारायण शाहले १८२६ आषाढ कृष्ण त्रयोदशी शनिवारको दिन लालमोहर गरी थामिदिएको कुरा  १८५८ कार्तिक शुक्ल द्वादशी मङ्गलवारको, गीर्वाणयुद्ध विक्रम शाह (१८५४–१८७३, राज्यकाल१८५५–१८७३) को लालमोहरबाट थाहा हुन्छ (दिनेशराज पन्त, केही ऐतिहासिक पत्रहरू, पूर्णिमा १९ पूर्णाङ्क, संशोधन–मण्डल, काठमाडौँ, २०२५, २१९ पृ. श्री छ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, ५४३ पृ. जगदीश घिमिरे, सिन्धुलीमा फिरङ्गी आइलाग्दा, ३ वर्ष १४७ अङ्क, २०६८।५।३१।७, नेपाल रिपब्लिक मिडिया, काठमाडौँ, अक्षर १, ३ पृ.) ।

उन्नाइसौँ शताब्दीमा नेपाली भाषामा लेखिएको वंशावलीमा यस लडाइँबारे केही खुलाई लेखिएको छ (श्री छ पृथ्वीनारायण शाहको उपदेश, ८६२–८६४ पृ.) । वंशावलीबाहेक टिपोटहरू (महामण्डलदेखि काँगडासम्म, १२ पृ.)मा र काब्य (महेशराज पन्त, अधिराज महाराज राजगुरु वंशावली, अभिलेख ३० पूर्णाङ्क, राष्ट्रिय अभिलेखालय, काठमाडौँ, २०६९, १९ पृ.मा ८३ श्लोक)मा पनि यस लडाइँको सामान्य वर्णन पाइन्छ ।

सिन्धुलीको युद्धमा अङ्ग्रेजपट्टिबाट कप्तान जर्ज किन्लक (१८२५ मा मृत्यु) को मातहतमा फौज आएको भए पनि नेपालपट्टिका सामग्रीमा यिनको नाउँ खास देखिँदैन । हार्डी नाउँका सैनिक यस भिडन्तमा घाइते भएकाले उनी इन्साइन जस्तो सानो दर्जाका भए पनि पृथ्वीनारायण शाहको उपदेशमा र वंशावलीमा किन्लकको नाउँ नचढी हाँडी-हाँडि साहेबको रूपमा हार्डीको नाउँ चढेको देखिन्छ । यसो भए पनि एकथरी वंशावलीमा भने हाँडी साहेबसँगै कपतान् कीलाषको रूपमा किन्लकको नाउँ चढेको पनि यस प्रसङ्गमा भन्नुपर्छ (श्री छ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, ३४४ पृ.) ।

सिन्धुलीको त्यस लडाइँमा सेनापति भई आएका कप्तान जर्ज किन्लकको डायरी लण्डनको ब्रिटिश लाइबेरीमा हस्तलिखित रूपमा छ । १८ वर्षभन्दा अगाडिदेखि नेपालको पुराविद्याको खोजीमा एकनासले लागिरहेका योगेश राजले उपोद्घातसहित सम्पादन गरेको, त्यो डायरी ३१ महीना अगाडि छापिएको थियो (एक्स्पिडिशन् टु नेपाल् भ्याल्इः द जर्नल् अफ क्याप्टिन् किन्लक, जगदम्बा–प्रकाशन, ललितपुर, ई.सं. २०१२) । उपोद्घातमा देखिएका गल्तीको सामान्य संशोधनसहित त्यही डायरी पहिलोपटक छापिएको केही महीनापछि फेरि छापियो (दोस्रो संस्करण, जगदम्बा–प्रकाशन, ललितपुर, ई.सं. २०१२) । नेपालतर्पmका सामग्री थोरै मात्र भेट्टाइएको अवस्थामा र अङ्ग्रेजतर्फका चिठीपत्रहरू धेरैअगाडि प्रकाशमा आए पनि ती त्यति सुलभ नभएकाले द्वैतीयक सामग्रीबाट काम चलाउन परिरहेको अवस्थामा योगेश राजले यो डायरी प्रकाश गरिदिएकाले त्यस युद्धको विषयमा बुझ्न हामीलाई थप आकर हासिल भएको छ ।

किन्लकको डायरीको आधारमा यस युद्धको गोरखाली आकरको आंकलन गर्ने कामबाट म पन्छिन्छु भनी आफ्नो उपोद्घात टुङ्ग्याउँदा योगेश राजले लेखेकाले (एक्स्पिडिशन् टु नेपाल् भ्याल्इः द जर्नल् अफ क्याप्टिन् किन्लक, ३० पृ.) अब यो काम गर्ने जिम्मेवारी अरू अन्वेषकको काँधमा आएको छ । योगेश राजले गरेको, जर्ज किन्लकको डायरीको संपादनमा ग्रन्थ सम्पादनको सिद्धान्तको अनुसरण खास नगरी विषयवस्तुको प्रस्तुतीकरण मात्र छ । यस डायरीका २ वटा पुस्तकको विषयमा उपोद्घातमा सामान्य परिचय दिइएको छ । (१७–१९ पृ.) पनि यी २ पुस्तकको परस्परमा के कस्तो सम्बन्ध छ भत्रे कुरा उपोद्घातबाट त्यति स्पष्ट हुँदैन । डायरीको भौतिक अवस्था कस्तो छ भत्रे कुराको जानकारी दिन मूल पुस्तकका केही पृष्ठको चित्र यस सम्पादित पुस्तकमा हालिदिएको भए हुन्थ्यो । डायरीमा परेका स्थाननामको चिनारीतर्फ खास कदम चालिएको छैन ।

अहिले जर्मनीमा नेपालसम्बन्धी पुराविद्याको अन्वेषणको केन्द्र बनेको हाइडल्बर्ग विश्वविद्यालयबाट नृतत्त्व र संस्कृतविद्याको समन्वय गरी तयार गरिएको भनी दाबी गरिएको, भक्तपुरका नेवारहरूको मृत्यु संस्कारसम्बन्धी ह्यान्ड्ल्इङ् डेथ् (नील्स गुत्शो र अक्सल मिषायेल्स, हर्रास्सोवित्ज फेर्लाग, वीस्बादेन, ई.सं. २००५) नाउँको पुस्तकभन्दा निकै गतिलो सन्ध्या–संरचना— हिन्दू नेवारहरूको मृत्युचेतना (योगेश राज, मार्टिन चौतारी, काठमाडौँ, २०७०) जस्तो उत्कृष्ट ग्रन्थ लेख्न सक्ने योगेश राजले किन्लकको डायरीको सम्पादनमा पनि बढी परिश्रम गरेको भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो मलाई लाग्छ ।

जर्ज किन्लकको डायरी पढ्दै जाँदा मेरो मनमा उठेका कुराको पनि सामान्य चर्चा अन्त्यमा गर्नु उपयुक्त नै होला । कुरा के भने अङ्ग्रेज सेनापतिले यस लडाइँको विषयमा यति टिपोट गरेको र हाम्रा सेनापतिले चाहिँ यस्तो काम नगरेको देख्दा २ थरीको सोचाइ फरक फरक भएको स्पष्ट हुन्छ । हाम्रो यतातिरकाले ज–जसले लेखेर छोडेका छन्, तिनले पनि वस्तुस्थितिभन्दा कल्पनाको उडान नै बढी गरेका छन् । पाश्चात्त्य र हामीहरूमा यसरी अन्तर हुनामा व्यक्तिगत कारण त्यति मुख्य थिएन, जति पाश्चात्त्य मुलुक र हाम्रो देशको विद्याविषयक अवस्था थियो (धनवज्र वज्राचार्य, शक्तिवल्लभ र कर्कप्याट्रिक, मधुपर्क २ वर्ष २ अङ्ग, गोरखापत्र करपोरेशन, काठमाडौँ, २०२६, ९३–१०२ पृ.) भत्रे भावले ब्रिटिश ईस्ट इण्डिया कम्पनीका दूत भई वि.सं. १८४९ मा नेपाल आएका विलियम कर्क्प्याट्रिक (वि.संं १८११–१८६९)को यान् अकाउन्ट् अफ द किङ्डम् अफ नेपाउल् (विलियम मिलर, लन्डन, ई.सं. १८११) र नेपालका राजपुरोहित शक्ति वल्लभ अर्याल (वि.सं. १७८१–१८६३)ले वि.सं. १८४९ मा लेखेको जयरत्नाकर नाटक (धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालद्वारा सम्पादित, नेपाल सांस्कृतिक परिषद्, काठमाडौँ, २०१४) को तुलना गर्दै जाँदा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१)ले लेखेको कुराको सम्झना सहजै हुन्छ ।

१८७१–७२ मा ब्रिटिश ईस्ट इण्डिया कम्पनीले नेपालमा छ मोहडाबाट गरेको हमला र त्यसको परिणामस्वरूप नेपालले आफ्नो ३ खण्डको १ खण्ड भूभाग गुमाई सुगौलीमा हीनसन्धि गर्नुपरेको कुरा ज्यादै प्रख्यात छ । तर यो लडाइँ शुरू हुनुभन्दा ४७ वर्षअगाडि त्यही कम्पनीले गरेको हमला पछिल्लो हमलाको दाँजोमा त्यति प्रसिद्ध छैन । हुन त अघिल्लो हमला पछिल्लोको तुलनामा त्यती दूरगामी प्रभावको नभएर पनि यस्तो भएको हो । तर पृथ्वीनारायण शाहले आफ्नो राज्यको विस्तार गरिरहेको काममा त्यस कम्पनीले भाँजो हाल्न खोज्दा उनले त्यो भाँजो हटाउन सकेकाले गोरखाली साम्राज्यको इतिहासमा यस लडाइँलाई कम आँक्न सकिँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार