सोमबार राति भारतीय अर्धसैनिक बलको गोलीबाट पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा गोर्खाल्याण्ड पक्षधर एकजनाको ज्यान गएको छ । योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मारिने संख्या ८ पुगेको हो ।
गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि दार्जिलिङ लगिएको छ भने केहीको मिरिक अस्पतालमा उपचार भइरहेको छ । दिउँसो मिरिक नगरपालिका वडा नम्बर ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो ।
दुवै समूहले एक अर्कालाई आगजनीको आरोप लगाएका थिए । साँझ आगजनीको विरोधमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटिमा आवद्ध दलका कार्यकर्ताले निकालेको र्यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन लागेपछि सुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनापछि मिरिकमा शुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि शुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको ज्यान गईसकेको छ ।







