काठमाडौं/त्रिमूर्ति सम्मान र शताब्दी पदकसम्बन्धी अहिले बजार तातिएको छ । कारण हो यसका नायक बनेका छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । हेरौँ, विभिन्न टिप्पणी र प्रेस विज्ञप्तिहरु –
मातृका पोखरेल लेख्नुहुन्छ, – ‘नेताहरुले सचिवालयलाई पनि जानकारि नगराई अध्यक्ष भेटाउनु हुँदैनथ्याे । बिहान हामी खण्डन निकाल्दैछौ। अध्यक्षले त्याे पदक र सम्मान लिनुहुने छैन। यसलाई लिएर अध्यक्षकाे निष्ठामाथि प्रश्न नगर्न विशेष अनुराेध छ।’
बलराम तिमिल्सिना लेख्नुहुन्छ, – अध्यक्ष प्रचण्ड ! आज एउटा दुखद खवर पढियो र लाजमर्नु फोटो पनि मुख विगारेर हेर्न वाध्य भैयो । नई प्रकाशनले तपाईलाई दिने भनेको त्रिमूर्ती सम्मान र सताव्दि सम्मान पुरस्कार स्वीकार गर्न तपाईलाई के कुराले तयार गर्यो ? केन्द्रीय कार्यलयका लाटागाँडाहरू भात मात्रै खान्छन कि सोच्छन पनि ? सांस्कृतिक विघटनको यो पर्यावरणमा एति वोल्नु आवस्यक ठानियो । रिसानी माफ होस । रिसाउँने नै भए पनि परेको व्यहोरौंला । विरोधको झण्डा उठेको सम्झनोस !
त्रिमूर्ति सम्मान र शताब्दी पदकसम्बन्धि अध्यक्ष क. प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोट –
त्रिमूर्ति निकेतनले पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’द्वारा सम्मानित गर्ने समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो । तर, यसबारे पर्याप्त जानकारी लिएर मात्रै आवश्यक निर्णयमा पुग्नुपर्ने भएकाले सम्मान र पदक लिने वा नलिनेबारे अध्यक्ष क. प्रचण्ड र अध्यक्षको सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
बुधबार अध्यक्षको सचिवालयलाई जानकारी नै नदिई पार्टीका केही नेताहरुको पहलमा त्रिमूर्ति निकेतनका पदाधिकारीहरुद्वारा अध्यक्ष क. प्रचण्डलाई भेटी भदौ ३ गते आयोजित सम्मान कार्यक्रममा निमन्त्रणा गरिएको र विभिन्न मीडिया एवं सामाजिक सञ्जालमा अध्यक्षले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो । तर, त्रिमूर्ति निकेतनको इतिहास, इतिहासका विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धि प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुले देखाउनु भएको चासो एवं सकारात्मक सुझावलाई ध्यान दिँदै अध्यक्ष क. प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई हार्दिक धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गर्नुभएको व्यहोरा यसै प्रेस नोटमार्फत् जानकारी गरिन्छ ।
यस सन्दर्भमा प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष क. प्रचण्डले खेल्नुभएको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न आग्रह गर्दै बेलैमा सकारात्मक र रचनात्मक सुझाव प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रगतिवादी चिन्तक एवं स्रष्टाहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछौं, धन्यवाद ।
५ श्रावण, २०७४
जोखबहादुर महरा
स्वकीय सचिव
प्रेस विज्ञप्तिकाे पूर्णपाठ
यसै सन्दर्भमा गत मङ्सिर ५, २०७३ (वर्ष १७, अङ्क १४) को नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘पदक–पुरस्कार पसल’ शीर्षकको समाचारमूलक आलेख र त्यसै लेखमा प्रस्तुत नरेन्द्रराज प्रसाईंको अन्तर्वार्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । केही वर्षयता मुलुकमा ख्याति प्राप्त अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले विभिन्न पुरस्कार, पदक र सम्मान प्रदान गर्दै आइरहेकोमा त्यसको चयन विधि, औचित्य र प्रयोजनप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौँ । यी पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ । ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, समानित व्यक्तित्वकै प्रतिष्ठामा आँच पु¥याइनु दुःखद कुरा हो । यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्याङ्कन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो । साहित्यिक वृत्तमा मूल्यहीनताको विकास हुँदै गएको कुराको टड्कारो उदाहरणको रूपमा यसलाई लिन सकिन्छ ।






