काठमाडाैं । कथित प्रदेश र संसदका लागि तय गरिएको आगामी चुनाव अगाडि नै वर्तमान शेरबहादुर देउवाको सरकारलाई ढालेर एमाले नेतृत्वको सरकार गठन गर्न एमाले अध्यक्ष केपी ओलीले वामदेवलाई अगाडि सारी भारतीय सत्तापक्षसँग कुराकानी थालनी गरेको विशेष सूत्रले जनाएको छ ।

स्रोतका अनुसार वामदेव गौतम स्वयंले पनि ‘म इन्डियाको जुनसुकै शर्त मान्न तयार छु, एकचोटि प्रधानमन्त्री मैले बन्नुपर्यो’ भनी विष्णु पौड्याललाई लिएर इन्डियन एम्बेसी पुगेका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र र राप्रपाको एउटा तप्कालाई समेत आफ्नो साथमा लिएर अगाडि बढ्न सक्ने जानकारी इन्डियनहरुलाई दिएको बताइन्छ । यो कुरा थाहा भएपछि इन्डियन एम्वेसीदेखि दिल्लीसम्म आफ्ना जासुसहरुको जालो बनाएर बसेका प्रधानमन्त्री शेरबहादुर देउवा अब आफ्नो सत्ता टिकाउन गाह्रो हुने हो कि भनी भयग्रस्त भएका छन् । अहिले मन्त्रिमण्डल विस्तारमा उनी अलमल भइराख्नुमा मूल कारण यो रहेको बताइन्छ ।

नेपाली कांग्रेसका एकजना केन्द्रीय स्तरका नेताका अनुसार शेरवहादुर देउवा प्रधानमन्त्री बन्न उनले भारतीय सत्ताका बिभिन्न शर्तहरु स्वीकारेका थिए । त्यस उसले उनले भारतीय प्रधानमन्त्री मोदीलाई पनि खुसी पार्नका लागि हिन्दू राज्यको पक्षमा बोलेको उनी बताउँछन् । त्यतिखेर भित्री रुपमा प्रधानमन्त्रीका लागि भारतीय सत्ताको समर्थनका लागि देउवाले उनीहरुसँग ‘मधेसवादी दलहरुलाई मिलाउँछु, मलाई समर्थन गर्नुहोस्’ भनी अनुरोध गरेको कुरा कांग्रेस नेताको दावी छ ।

कांग्रेस स्रोतले बताए अनुसार अहिले असोजमा हुन गइरहेको २ नं प्रदेशको स्थानीय तह निर्वाचनका लागि प्रधानमन्त्री देउवाले जसरी नै संविधान संशोधनको काम सम्पन्न गर्न पहल गर्ने भएका छन् । उनले राप्रपालाई संविधान संशोधनका लागि राजी गराउन प्रयत्न गर्दैछन् । त्यहाँभित्र उनका सासु–ससुरा, जेठानहरुलगायत आफन्तहरु छन् । र, उनीहरुमार्फत् राप्रपा फकाउन उनी लागेका छन् । तर, समस्या के भइदियो भने राप्रपा स्वयं पनि अहिले दुई फ्याक भएको छ ।

पूर्व राजा र कमल थापा एकातिर, पशुपति शमसेरहरु अर्कातिर छन् । पशुपति शमसेरहरु इन्डियाको लाइनमा रहेको बताइन्छ । राप्रपा भित्रको चरम विवादका कारणले संविधान संशोधनमा सिङ्गो पार्टीलाई ल्याउने कुरामा प्रधानमन्त्री देउवाको प्रयत्न सफल बनिरहेको छैन । उता उपेन्द्र यादवहरुलाई सरकारमा ल्याउँ भन्दा पनि तिनीहरु मानिरहेको स्थिति छैन । उता एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनता पार्टीसँग कुराकानी गरिराखेको स्थिति छ । यी कारणहरुले प्रधानमन्त्री देउवा सत्ता टिकाउन अब नयाँ दाउ खोजिरहेको स्वयं कांग्रेस स्रोत बताउँछ ।

भारतीय सत्तापक्ष कसलाई आफूतिर बढी झुकाउन सकिन्छ, त्यसको आधारमा नै नेपालमा सरकार टिकाउन दिने वा नयाँहरुलाई सत्तारोहणमा लाने भन्ने खेलमा छ । सत्ताबाहिर हुँदा अरुलाई भारतसँग लम्पसार भन्ने तर सत्तामा जानका लागि अवसर मिल्नासाथ आफू नै बढी लम्पसार पर्ने प्रवृत्तिको निरन्तरता नेपाली नेताहरुले देखाउँदै आएका छन् । अहिले देउवाले सत्ता टिकाउन आफू कतिको लम्पसार पर्नु पर्ने हो त्यो हिसाब गर्दैछन् भने एमालेका ओली–वामदेवहरु सत्तामा जानका लागि कति लम्पसार पर्नुपर्ने भनेर भित्रभित्र लैनचौर धाइरहेको स्थिति छ । जनता भने उनीहरुका राष्ट्रवाद र राष्ट्रविरोधी कोरा आरोप–प्रत्यारोपका भाषणहरु सुनी अल्मलमा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार