उनको गाई फर्ममा हामी पुग्दा वेदप्रसाद तिमिल्सिना ठूलो डेक्चीमा गाईलाई दाना दिँदै थिए। हामीलाई देखेपछि उनले फटाफट काम सिध्याए र सञ्चोविसञ्चो सोध्न आइपुगे अनि हामीलाई आफ्नो फर्म देखाए।

टिनको छानो भएको एउटा फराकिलो टहरोमा सिमेन्टको डुँड दुई लहर बनाइएको छ। दुई डुँडको बीचमा घाँस, दाना राख्ने खालि स्थान छ। पाइप जोडेर डुँडडुँडमै पानी पुर्‍याइएको छ। माथिपट्टि चार ओटा प्लास्टिक ट्यांकी र सोलार प्रणाली जोडिएको छ, जसका कारण आवश्यकताअनुसार तातो, मनतातो र चिसो पानी लिन सकिन्छ। एकअर्कातिर मुख फर्काएर बाँधिएका गाईको मलमुत्र सोहोरेर नालीमा खसालिएपछि पानीले पखालेर लैजान्छ। गाउँघरमा रहेका सामान्य गाईगोठभन्दा वेदप्रसादको फर्म आधुनिक देखिन्छ। पर्वत जिल्लाको मोदी गाउँपालिका-२ कोरुङ्गास्थित उनको फर्ममा काम गर्न पनि निकै सहज छ।

आफ्नो फर्ममा २५ ओटा गाई पालेका वेदप्रसाद आफू साँच्चिकै सफल हुन गाईपालनमा होमिएको बताउँछन्। तर उनमा रहेको यो सफलताको भोक त्यसै जागेको होइन।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट २०६२ सालमा बिएस्सी सकेपछि वेदप्रसादका घरपरिवार र छरछिमेकीले सोचेका थिए, उनी विज्ञान वा गणित विषयको शिक्षक बन्नेछन्। नभन्दै उनले पोखराका दुईतीन ओटै निजी स्कुलमा विज्ञान र गणित विषय पढाए। तर निजी स्कुलको शिक्षणबाट दैनिक खर्च टार्न पनि मुस्किल हुने देखेपछि त्यसप्रति उनको मन मर्‍यो।

त्यसैताका पोखरामा उनले एउटा ससानो होटेल पनि खोले। तर त्यसबाट पनि अपेक्षित नतिजा हात परेन। वेदप्रसाद निराश थिए। त्यतिबेलै उनको बुबाको देहवसान भयो। उनी गाउँ फर्किए।

२०५९ सालदेखि नै उनको घरमा दुई ओटा गाई पालिएको थियो। ‘साँझ बिहान कालो चिया नखान’ पालिएका ती गाईबाट भएको नाफाको कारण वेदप्रसादमा व्यवसायिक गाईपालनको रहर जाग्यो। उनलाई लाग्यो, बाह्रपन्ध्र ओटा लैनु गाई पाल्न पाए त खर्चबर्चको कुनै समस्या नहुने रहेछ।

तर एउटा समस्या थियो, व्यवस्थित रुपमा व्यवसायिक गाईपालन गर्न ठूलो लगानी आवश्यक थियो, जुन उनी बिनाकुनै सहयोग जुटाउन सक्दैनथे। त्यसैले उनी स्थानीय रुटमा जिप चलाउन थाले।

अर्कै पेसा अपनाइरहेका भए पनि गाईपालनको चाहना उनको मनमा जीवित थियो। उनी साँझबिहान मनमनै गाईपालनकै योजना गुनिरहन्थे।

०७३ सालमा मात्रै वेदप्रसादको सपनाले यथार्थमा अनुवाद हुने मौका पायो। व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले यसका लागि उनलाई सहयोग गर्‍यो। प्याक्टको १० लाख रुपैँया अनुदानको सहयोगमा उनले गतवर्षको असार ८ मा व्यवसायिक गाईपालन सुरु गरे।

उनको फर्ममा हाल रहेका २५ मध्ये १२ ओटा गाईले दूध दिइरहेका छन्। ब्याउने तथा कोरा बाच्छी १३ ओटा छन्।

गाईका लागि उनले २० रोपनी जग्गामा मोथ नेपियर, सिओ फोर, मुलाटो, सेटेरिया, टियो सेन्टी, स्टाइलो, पाँचपलाम लगायतका घाँस लगाएका छन्।

उनी आफ्नो बिएस्सीको प्रमाणपत्र दराजमा थन्क्याएर पशुपालनलाई पेसालाई किन रोज्न पुगे त? ‘नेपालमा कृषि तथा पशुपालनको क्षेत्रमा प्रचुर सम्भावना देखेकोले नै म यो पेसामा लागेँ,’ वेदप्रसाद भन्छन्।

उनको यो प्रयासको सराहना पनि उत्तिकै भएको छ।

नेपालका कृषक तथा पशुपालन व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने उत्पादन गरुन् भन्ने उद्देश्यले प्याक्टले सो सहयोग गरेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत विश्वनाथ गौतम बताउँछन्। ‘स–साना उद्यमीहरुलाई जिल्ला पशु सेवा कार्यालयबाटै सहयोग गर्छौँ, तर ठूला उद्यमीहरुलाई भने यसरी नै बाह्य सहयोग ल्याउन सहयोग गर्ने गरेका छौँ,’ गौतमले भने। गौतम प्याक्टले जिल्लामा अन्यत्र पनि अनुदान उपलब्ध गराएको सुनाए।

तिमिल्सनाको फर्मबाट दैनिक १ सय २० देखि १ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ। उनले उत्पादन गरेको दूध पर्वतको पातिचौर, डिमुवा र कास्कीको नयाँपुल, वीरेठाँटी तथा हाइवे साइटको लुम्लेसम्मको स्थानीय बजारमा उनी पुर्‍याउँछन्। बाँकी रहेको दूध पातिचौरमा रहेको डेरीमा बिक्री गर्ने गरेका छन्। यो व्यावसायबाट आफ्नो परिवार र कामदारको पारिश्रमिक कटाएर पनि महिनाको एक लाखसम्मको आम्दानी हुने उनी बताउँछन्।

आफ्नो फर्मबाट उत्पादित दूध बाहिर प्रतिलिटर ७५ रुपैँयामा बिक्री गर्छन् वेदप्रसाद। तर डेरीमा भने ६० रुपैँयामा बेच्छन्। त्यसका अलावा उनी घरमै दही जमाएर घिउ समेत उत्पादन गर्ने गरेका छन्।

गाईपालनका लागि उनले परिवारबाहेक २ जनालाई रोजगारी पनि दिएका छन्। त्यसकारण परिवारका ३ र अन्य दुई गरेर हाल ५ जनाले उनीकहाँ काम गरिरहेका छन्। पत्नी सीता ढुंगाना र उनकी आमाले उनलाई काममा सघाउँछन्। सीताले नवजागृत उमाविबाट १२ कक्षा पास गरेकी छन्। उनीकहाँ रोजगारी पाउनेमध्ये एक पुरुष र एक महिला छन्। उनीहरुलाई खाइलाई १२ र १० हजार रुपैँया तलब दिएको उनी बताउँछन्।

पढ्नुलेख्नु भनेकै जागिर खानु हो, वा पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता गाउँमा व्याप्त रहेको बेला वेदप्रसाद सबैका लागि उदाहरण बनेका छन्। उद्यमशीलता भए कतै नगई, स्थानीय स्रोत साधनकै प्रयोगबाट व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भनेर उनले पुष्टि गरिदिएका छन्।

‘निश्चित कोर्स अध्ययन गरेर प्रमाण पत्र हातमा लिनु मात्र सफलता होइन,’ उनी भन्छन्, ‘म साँच्चै सफल बन्ने अभिप्रायले नै गाई फर्ममा होमिएको हुँ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार