‘जातपातले राजनीति चल्दैन र नेपाली जनताको हित गर्न सक्दैन’ भन्ने धारणाका साथ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कहिल्यै पनि आफ्नो जातसूचक श्रेष्ठ लेखेनन् ।

मुलुकमा स्थापना गर्ने भनिएको सङ्घीयताको पक्ष र विपक्षमा फरक–फरक विचार र सिद्धान्त आइरहेका बेला पुष्पलालको सो दर्शन आज एकपटक नेपालका कम्युनिस्टहरूले अनुशरण गर्न लायक छ ।

नेपालको जात पहिले नेपाली हो अनि पछि मात्रै आफूले लिएर आएको थर वा जात हो भन्ने धारणा राख्नुहुने पुष्पलाल सामाजिक सद्भावसहितको जनतन्त्रको पक्षमा जीवनभर अडिरहे ।

२००६ मा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राखेका श्रेष्ठको जन्म १९८१ असार १५ गते रामेछापमा भएको हो । तत्कालीन राणा शासकको अत्याचार र दमनचक्रका विरुद्ध प्रतिरोध सङ्घर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण राजनीतिक आन्दोलनमा लाग्ने प्रेरणा उनलार्इ प्राप्त भएको थियो ।

उनलाई राजनीतिमा ल्याउन महत्वपूर्ण योगदान गर्नेमा १९९७ मा राणा शासकले गोली हानी हत्या गरिएका दाजु गङ्गालाल श्रेष्ठको रहेको थियो ।

गङ्गालालले पुष्पलाललाई ‘माइला मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्’ भन्ने भनाई नै प्रमुख प्रेरणाको स्रोत बनेको थियो । गङ्गालाललाई मृत्युदण्ड दिइने अघिल्लो दिन भद्रगोल जेलमा भेटन् जाँदा पुष्पलाललाई दाजु गङ्गालालले सो विचार व्यक्त गरेका थिए ।

पुष्पलालको बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका र सहकार्यसमेत गर्नुभएका वामपन्थी नेता लोककृष्ण भट्टराईका अनुसार उनी संयुक्त जनआन्दोलनको पक्षपाती थिए ।

२००४ मा नेपाली राष्ट्रिय काँग्रेसमा समाहित भई नागरिक अधिकारका लागि गरेको आन्दोलनमा समेत पुष्पलालले सक्रिय सहभागिता जनाएका थिए । नेपालको राजनीतिक आन्दोलनमा जनताको तहबाट गरिएको यही नै पहिलो कदम थियो ।

नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने बुद्धिजीवीका रूपमा पुष्पलाललाई लिइन्छ । समाजलाई वैचारिक मोड दिने कुशल नेपाली माक्र्सवादी–लेनिनवादी सिद्धान्तकारको रूपमा लिइने उनको सादगी जीवन आजका कम्युनिस्ट पार्टीका नेताहरूले अनुसरण गर्न लायक थियो ।

२००५ सालमा उनले विश्व प्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गरेका थिए । कलकत्ताको एउटा पुरानो घरमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र नरबहादुर कर्माचार्यसँग मिलेर कम्युनिस्ट पार्टीको घोषणा गर्दा नेपाली समाजको आमूल परिवर्तन गर्ने सोच उनको थियो ।

उनले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर व्याख्या गरेका  थिए । पुष्पलालले नेपाली क्रान्तिको न्यूनतम् कार्यक्रमका रूपमा नयाँ जनवादी क्रान्ति र अधिकतम् लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तीकरण गरेका थिए ।

दोस्रो महाधिवेशनपछि नेतृत्वमा आएका केशरजङ्ग रायमाझीसँग कुरा नमिलेपछि अर्का नेता तुलसीलाल श्रेष्ठसँग पनि उनको विवाद भएको थियो । पुष्पलालको मूल बाटो र तुलसीलालको कुन बाटो भन्ने विवादले २०२२ मा नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन सुरु भएको  थियो ।

 

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार