
कहिले एलडीओलाई सौचालयमा थुनेर त कहिले मन्त्रीपरिषद् बैठकमै चरचरी बाझेर चर्चामा आएका माओवादी केन्द्रका नेता मात्रिका यादवले फेरि उस्तै शैली देखाउन शुरु गरेका छन् ।
प्रचण्ड नेतृत्वको माओवादीबाट अलग भएपछि गुमनाम प्राय बनेका यादवले पार्टी लाइन विपरित ‘एक मधेश, एक प्रदेश’को मागलाई फेरि व्युँताएका हुन् । मधेशका हार्डलाइनर नेताहरुले समेत बिर्सिसकेको एजेन्डा यादवले अचानक बोक्न थालेपछि राजेन्द्र महतोहरु समेत चकित परेका छन् ।
मात्रिकाले पार्टी लाइन विपरित नयाँ माग लिएर मोर्चा कसेपछि माओवादी केन्द्रमा त यसको चर्को आलोचना भएको छ ।
माओवादी केन्द्रको नीति विपरित यादवलगायतका नेताहरुले २०७४ साउन ७ गते शनिबार मात्रै एक संगठन निर्माण गरेका शुन् । मधेशी भ्वाइस एसेम्बली नाम दिइएको संगठनमा यादवसहित मधेशकेन्द्रित पार्टीमा आवद्ध ५ जना नेता छन् ।
मात्रिकासँगै राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, नेपा संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवन अन्सारी, नेपाल सदभावना पार्टी (राजेन्द्रदेवी) का अध्यक्ष विकास तिवारी र नयाँ शक्ति नेपालका नेता डा रामदयाल साह एक मधेश एक प्रदेश हुनुपर्ने बेमौसी अलाप गर्न थालेका छन् ।
साँघु साप्ताहिकबाट ।







